
काठमाडौं । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले युईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमा सहज जित निकालेको छ । मंगलबार राति भएको समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेडले स्विस क्लब बसेललाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन माउरोने फेल्लानी, रोमेरो लुकाकु र मार्कुस राष्फोर्डले समान एक एक गोल गरे । युरोपा लिगको उपाधि जितेर च्याम्पियन्स लिगमा छनोट भएको युनाइटेडले खेलको ३५ औं मिनेटमा फेल्लानीको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । फेल्लानी पाउल पोग्बा घाइते भएपछि उनको स्थानमा मैदान प्रवेश गरेका थिए । बसेलविरुद्धको गोल सँगै बेल्जियमका फेल्लानीले च्याम्पियन्स लिगमा एक सयौं गोल पुरा गरे ।
पहिलो हाफमा १ – ० ले अघि रहेको युनाइटेडले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ५३ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।
ad
एभर्टनबाट यसै सिजन क्लब आएका लुकाकुले युनाइटेडबाट च्याम्पियन्स लिगको डेब्यु खेलमै गोल गरेका हुन् । त्यसपछि खेलको ८४ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई ३ – ० को सहज जित दिलाए ।
यो जितसँगै समूह एको युनाइटेडले ३ अंक जोडेको छ । समूहको शिर्ष स्थानमा रहेको युनाइटेडको यो जित घरेलु मैदानमा ३२ खेलको अपराजित यात्रा समेत हो ।
मगलबार राति नै बेन्फिकालाई २ – १ ले पराजित गरेको सीएसके मस्को दोस्रो स्थानमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij