सियामेन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियामाथि सैनिक कारबाहीको विकल्प खोजिए त्यसले ‘विश्वव्यापी बिनाश निम्तने चेतावानी दिएका छन् । उनले लामो समयदेखि उत्तर कोरियामाथि लगाईदै आएको कडा प्रतिबन्धको पनि औचित्य नभएको बताएका छन् ।
ब्रिक्स शिखर सम्मेलनको समाप्तिपछि चीनको सियामेनमा बोल्दै उनले उत्तर कोरियाका बारेमा अमेरिकाले अपनाउँदै आएको कूटनीतिको पनि कडा आलोचना गरेका छन् । सुरक्षित रहेको प्रत्याभूति नभएसम्म उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम नरोक्ने भन्दै उनले अमेरिकी कदमले झनै उत्तर कोरियालाई परमाणु हतियार निर्माणको दिशातर्फ धकेलिरहेको बताए ।
उसको परमाणु कार्यक्रमका विरुद्ध सैनिक कारबाही गरिनु घातक हुने बताउँदै राष्ट्रपति पुटिनले उत्तर कोरियामाथि सैनिक कारबाही गरिए त्यसले विश्वब्यापी रुपमा विनाश ल्याउने चेतावनी दिए । उनले भनेका छन्, ‘उत्तर कोरियाको परमाणु कार्यक्रमबारे शान्तिपूर्ण वार्ताबाट समाधान गर्नुको अर्को विकल्प छैन ।’
सोमबार राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाले ‘युद्धको निम्तो’ दिएको टिप्पणी गर्दै उत्तर कोरियाको छैंटौ परमाणु परीक्षणका लागि कडा प्रतिबन्ध लगाएर एक्ल्याउनु पर्ने बताएकी थिइन् ।
उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसिएनएले आइतबार शक्तिशाली हाइड्रोजन बमको सफल परीक्षणले परमाणु शक्ति राष्ट्र बन्नमा एक महत्वपूर्ण सफलता मिलेको जनाएको थियो । उत्तर कोरियामाथिको प्रतिबन्धलाई उल्लंघन गरेको भन्दै अमेरिकाले हालै केही रुसी कम्पनीमाथि समेत रोक लगाएको थियो ।
रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियाली सामान प्रयोग भएकोमा हामीमाथि प्रतिबन्ध लगाउने र उत्तर कोरियामाथि प्रतिबन्ध लगाउनका आफूहरुकै सहयोग माग्ने अमेरिकी कदम हाँस्यास्पद भएको उल्लेख गरे ।
उत्तर कोरियाले आइतबारमात्रै शक्तिशाली छैटौं परमाणु बमको सफल परीक्षणपछि विश्वभरी नै नयाँ हलचल पैदा भएको छ । त्यसलगत्तै सोमबार दक्षिण कोरियाले पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
यसैगरी दक्षिण कोरियाली सञ्चारमाध्यमले गुप्तचरहरुको हवाला दिँदै उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षणको तयारी गरिरहेको उल्लेख गरेका छन् । उत्तर कोरियासँग सीमा जोडिएका रुस र चीनले संयुक्त रुपमा वार्ताका माध्यमबाट समस्या समाधान गर्न तथा दक्षिण कोरियामा गर्दै आएका संयुक्त गतिविधि रोक्न आग्रह गर्दै आएका छन् ।
दुवै राष्ट्रले उत्तर कोरियालाई पनि आफ्नो आणविक कार्यक्रम स्थगित गर्न भन्दै आएका छन् । रुसले उत्तर कोरियासँग वार्ताबाट समस्या समाधानको कुरा गरिरहँदा जापानले भने राष्ट्रसंघलाई कडा प्रतिबन्ध लगाउन माग गर्दै आएका छन् ।
जापानका विदेशमन्त्री तारो कोनोले उत्तर कोरियामाथि परमाणु कार्यक्रम रोक्न दबाब दिने र उत्तर कोरियासँग व्यापारिक सम्बन्ध भएका राष्ट्रलाई समेत सम्बन्ध तोड्न लगाउनुपर्ने बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij