काठमाडौं । नाडा अटो शो–२०१७ मंगलबारदेखि भृकुटीमण्डपमा जारी छ । पाँच दिनसम्म चल्ने अटो शोलाई केन्द्रित गरेर सबै सहभागी विक्रेताहरूले उपभोक्ताका लागि छुटैछुट घोषणा गरेका छन् । अफरमा मोबाइल, स्कुटर, मोटरसाइकल, नगद छुटको साथै युरोप घुम्नेसम्मका योजना गाडी विक्रेताहरूले योजना सार्वजनिक गरेका छन् ।
आइतबारसम्म सञ्चालन हुने अटो शोमा व्यवसायीका १ सय ३० स्टल छन् । प्रदर्शनीमा १६ ब्रान्डका चारपांग्रे, १९ ब्रान्डका दुईपांग्रे, ६ ब्रान्डका हेबी इक्विपमेन्ट र ८ ब्रान्डका लुब्रिकेन्टहरू सहभागी छन् । ४ ब्रान्डका टायर, ४ ब्रान्डका ब्याट्री र ग्यारेज इक्विपमेन्ट पनि राखिएको जनाइएको छ । १० वटा बैंक तथा वित्तीय संस्था, दुइटा बिमा कम्पनीको पनि सहभागिता छ ।
हुन्डाईको ‘दसैं–तिहार गेट सेट गो’ अफर
नाडा अटो शो–२०१७ मा हुन्डाईका ६ वटा गाडी प्रदर्शनीमा राखिएका छन् । इओन, ग्रान्ड आइटेन, आइ ट्वान्टी एक्टीभ, भर्ना, क्रेटा र न्यु टुसान गाडी प्रदर्शनीमा राखिएको छ ।
“नाडा अटो शो–२०१७ मा हुन्डाईको राम्रो बुकिङ आइरहेको छ,” हुन्डाई गाडीको नेपालका लागि अधिकारी विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका डीजीएम सेल्स एन्ड मार्केटिङ रुपेश शर्मा भट्टले भने ।
विगतमा जस्तै यसवर्ष पनि दसंै–तिहार अफर कम्पनीले सार्वजनिक गरिसकेको भट्टले जानकरी दिए । कम्पनीले दसैं–तिहारको उपलक्ष्यमा ल्याएको ‘दसैं–तिहार गेट सेट गो’ अफर ल्याएको छ । ८५ हजार रुपैयाँदेखि ५ लाखसम्म नगद छुट छ ।
नयाँ हुन्डाई गाडीको खरिदमा एक वर्षको बिमा साथै ५६ जनाले सामसङ ग्यालेक्सी एस सिक्स एज र बम्परमा हुन्डाई क्रेटा जित्ने अवसर छ । लक्की ड्र अन्तर्गत सय जनालाई एक–एक तोला सुन दिइने हुन्डाईको अफर छ । त्यस्तैगरी हुन्डाइ गाडी खरिदमा १० जोडीका लागि दुबई घुम्न जान पाउने अफरसमेत हुन्डाईले दिएको छ ।

डाटसनमा नगद छुट
डाटसनले यसपालिको अटो शोमा रेडी गो, गो प्लस, रेडि गो एसको लिमिटेड अडिसन राखेको छ । रेडी गो एसको लिमिटेड अडिसन सार्वजनिक गरेकोे छ । नाडा अफरमा रेडी गो एस लिमिटेड खरिदमा ७६ हजार छुट, ६ दशमलव ९९ प्रतिशत ब्याजदरमा बैंक ऋण, महिनाको २२ हजार ९ सय १८ रुपैयाँमा किस्ता सुविधा, ७ वर्षको समयावधि समय तोकेको छ ।
गाडीको मोडल अनुसार त्यसमा छुटको समेत व्यवस्था गरिएको डाटसन गाडीको नेपालका लागि अधिकारिक विक्रेता पायोनियर मोटर कर्वका सिनियर म्यानेजर दिपेन प्रधानले बताए । “गत वर्षभन्दा केही बुकिङ कम भए पनि बाँकी तीन दिनमा राम्रो हुने अपक्षा छ,” दिपेन प्रधानले भने । नाडा अटो शो अफर तथा गाडीको बारेमा जानकारी गराउन सहज भएको प्रधानले जानकारी दिए ।

निशानको ५ लाखसम्म छुट
अटो शोमा निशानले माइक्रा एक्टिभ, माइक्रा एक्स एल, माइक्रा एक्स एल ओ, सन्नी, नभारा डि ४० एलइ, अल न्यू–अभारा, उरवान, एक्स ट्राइल मोडलका गाडीहरू प्रर्दशनीमा राखिएको छ । नाडा अटो शोले सम्पूर्ण उपभोक्तामा अफर र गाडीको बारेमा जानकारी गराउन मौका पाएको निशान गाडीको नेपालका लागि अधिकृत विक्रेता पायोनियर मोटर कर्पका सहायक सेल्स म्यानेजर अनिश शाक्यले बताए ।
२८ लाख ५० हजारदेखि १ करोड १५ लाखसम्मका गाडी नाडा शोमा राखिएको छ । “गाडी खरिदमा मोडलअनुसार छुटको व्यवस्था गरिएको छ” शाक्यले भने । २ लाख ५० हजारदेखि ५ लाखसम्म छुटको व्यवस्था गरिएको साक्यको भनाइ छ ।

सुजुकीको ३ लाखसम्म छुट योजना
सुजुकीका ९ लाख ९० हजारदेखि ४४ लाख ३९ हजारसम्मका गाडीहरू बिक्रीका लागि राखिएको छ । ओम्नी कार्गो भ्यानदेखि ब्रेजा जेडडीआई प्लससम्मका गाडीहरू शोमा राखिएको छ ।
सुजुकीको गाडी खरिदमा २५ हजारदेखि ३ लाख ११ हजार सम्म छुट योजना अटो शोमा ल्याइएको सुजुकी गाडीको नेपालका लागि अधिकृत बिक्रेता सीजी मोटो कर्पका सिनियर मार्केटिङ म्यानेजर करुण साक्यले बताए । विगतको नाडा अटो शोमा जस्तो बुकिङ नआए पनि अब बाँकी दिनमा आउने आशा राखेको साक्यले जानकारी दिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij