खोटाङ । नेपाली कांग्रेस खोटाङले ‘प्रतिपक्षले फैलाएको भ्रमपूर्ण दुष्प्रचार’लाई चिर्न नसक्दा स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन नसकेको निष्कर्ष निकालेको छ ।
स्थानीय तहको निर्वाचन परिणामको विषयमा समीक्षा एवं आगामी संघ र प्रदेशसभाको निर्वाचनको तयारी स्वरुप दिक्तेलस्थित बिपी स्मृति भवनमा भदौ १५ र १६ गते बसेको कांग्रेसको १४ औं बैठकले प्रतिपक्षी पार्टी एमालेले फैलाएको दुष्प्रचारलाई संस्थागतरुपमा चिर्न नसक्दा स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम प्राप्त हुन नसकेको निष्कर्ष निकालेको हो ।
शनिबार दिक्तेलस्थित सगरमाथा होटलमा पत्रकार सम्मेलन गरेर कांग्रेसले निर्वाचनकाक्रममा एमालेले ‘बृद्धभत्ता’ आफ्नो सरकारले बाँडेको, दुई निर्वाचन क्षेत्रको संसदीय विकास कोषको रकमलाई कांग्रेसको संगठन विगार्नमा दुरुपयोग गरेर एमालेले मतदातालाई प्रभावित बनाएकाले आफ्नो पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको जनाएको छ ।
उम्मेदवारी चयनमा भएको ढिलाई, टिकट वितरणमा आएको विवाद, सोही कारण समयमा जनताको घरदैलोमा पुग्न नसकेको लगायतका व्यवस्थापकीय कमजोरीलाई पनि हारको कारणकारुपमा किटान गरिएको कांग्रेस सभापति नरेशकुमार श्रेष्ठले बताउनुभयो ।
स्थानीय तहको परिणामको समिक्षा र कमजोरी खोतल्दै कांग्रेसले मंसिर १० गते हुने भनिएको संघ र प्रदेशसभाको निर्वाचनलाई आफ्नोपक्षमा पार्नका लागि अहोरात्र खट्ने निर्णय गरेको कांग्रेसले जानकारी दिएको छ । संघ र प्रदेशको निर्वाचनको पुर्वतयारीकै लागि कांग्रेसले भदौ २४ गते जिल्लाका ९ पालिकामा १०३ औं बिपी जयन्ती मनाउने तयारी गरेको छ ।
यस्तै, निर्वाचन तयारीकै लागि भदौ २७ र २८ गते बराहपोखरी गाउँपालिकामा क्षेत्र नम्बर २ को आयोजनामा प्रशिक्षण कार्यक्रम गर्ने जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij