काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसमा बैशाखी चाहिने अवस्था आएको भन्दै कटाक्ष गरेका छन् । कांग्रेस माओवादी गठनबन्धनप्रति संकेत गर्दै उनले भने, ‘ बैशाखी त्यतिबेला चाहिन्छ । त्यतिबेला कमजोर हुन्छ । एमाले कमजोर छैन, बैशाखी चाहिँदैन ।’
कांग्रेस एमाले कमजोर भएकै कारणले चुनावमा गठबन्धन नामको बैशाखीको सहारा लिएको दाबी गर्दै उनले एमालेसँग मुकाबिला गर्न कसैसँग हिम्मत नभएको दाबी गरे ।
पार्टी कार्यालय धुम्बाराहीमा आयोजित २ नम्बर प्रदेशका अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले कांग्रेस माओवादी मिलेपनि एमाले हात्ती भएको तर्क गर्दै ‘हात्ती दुब्लाएर बाख्रो हुँदैन’ भने ।
उनले विगतमा आफूले मधेसीको जुलुसलाई माखेसांलो र बिहार जाउ भनेर कहिले पनि नभनेको समेत दाबी गरे । उनले भने, ‘मैले बोल्दै नबोलेको कुराको प्रचार गरिनुको अर्थ छैन । एमाले सुन तौले जसरी तौली तौली बोल्छ । फलाम जोखेजसरी बोल्दैन ।’
भेलामा ओलीले दुई नम्बर प्रदेशमा एमाले पहिलो बन्ने दाबी गर्दै चुनावमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिए ।
भेलामा नेताहरु माधव नेपाल, इश्वर पोखरेल, विष्णु पौडेललगायतका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij