२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

भारतमा नाेटबन्दी कार्य सफलता कस्ताे रह्याे ?

भारतमा नाेटबन्दी कार्य सफलता कस्ताे रह्याे ?

नयाँ दिल्ली । भारतको केन्द्रीय बैंकले नोटबन्दी लागू भएपछि प्रतिबन्धित गरिएका प्रायः सबै नोट फिर्ता आएको बताएको छ । बैंकका अनुसार ९९ प्रतिशत अर्थात् १५२.८ खर्ब भारतीय रुपैयाँ बैंकिङ सिस्टममा फिर्ता आएको हो । सरकारले यसरी नोटबन्दी गर्दा कालो धन राख्नेहरुलाई वैद्य बाटोबाट रकम साट्न अप्ठ्यारो हुने अनुमान गरेको थियो । तर, यो कदमले अपेक्षित नतिजा हासिल गर्न असफल भएको बैंकको तथ्यांकले देखाएको छ ।

नोटबन्दीका कारण देशभर सर्वसाधारणले सास्ती बेहोर्नुपरेको थियो । बजारमा चलनचल्तीमा रहेको रकमको ८५ प्रतिशत ओगट्ने ५ सय र १ हजार भारुको नोट बन्द हुँदा बैंकमा नगदको संकट भएको थियो । बैंकहरुमा मानिसहरु बिहानैदेखि लामो भीडमा लाग्नुपर्ने अवस्था थियो जसलाई व्यवस्थापन गर्न प्रहरी नै खटाइएको थियो । न्यून आय भएका सर्वसाधारण र व्यापारीहरु सबैभन्दा बढी मारमा परेका थिए ।

के नोटबन्दी सफल भयो या असफल ? आरबीआईको तथ्यांकअनुसार नोटबन्दी पूर्णरुपमा असफल भयो । आरबीआईको रिपोर्ट अनुुसार अवैध करार गरिएको ९९ प्रतिशत अर्थात् १५२.८ खर्ब भारतीय रुपैयाँ फिर्ता भएको छ । यसको अर्थ यी सबै रकम सट्टा गर्दा वैध भए ।

अवैध रकम थाहा पाउने भनिए पनि त्यसमा खासै सफलता हात लाग्न सकेन । बरु, यसले देशभर पैसाको संकट निम्ताएर सर्वसाधारणलाई दुःख दिएको थियो । मानिसहरु आफ्नै पैसा झिक्न एटिएम र बैंकमा लामो लाइन लाग्नु परेको थियो । यता नरेन्द्र मोदी सरकारले भने यसलाई आफ्नो गल्तीको रुपमा स्वीकार्न तयार छैन । गत नोभेम्बरदेखि सरकार यसलाई सफल भएको देखाउन उद्धत छ । यसमा पनि केही परिवर्तन भएको छैन ।

मोदीको नोटबन्दीको जुवा सफल भयो या असफल भन्ने विषयमा राजनीतिज्ञ, विज्ञ र सर्वसाधारण जनताबीच लामो समयदेखि बहस हुँदै आएको छ । तर अहिले आएर रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) को वार्षिक प्रतिवेदनको १९५ पेज नम्बरमा रहेको तथ्यांकले यसको उत्तर दिएको छ । नगद लेनदेनमा चल्ने ग्रामिण अर्थतन्त्र र कृषि क्षेत्र नोटबन्दीबाट सबैभन्दा बढी प्रभावित बनेको थियो । नोटबन्दीका कारण आर्थिक बृद्धिको गति पनि कम भएको थियो ।

यद्यपि, केही विज्ञहरुले भने नोटबन्दीबाट केही सकारात्मक असर पनि भएको बताएका छन् । उदाहरणका लागि बैंकिङ सिस्टममा नगद आउँदा कर्जाको लागतमा कमी आएको छ । केही विज्ञहरुले भने आरबीआईको तथ्यांकले नोटबन्दीको बचाउ गरिरहेको सरकारका लागि प्रत्युत्पादक हुने बताएका छन् ।

बिबिसीबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij