२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

डोक्लामबारे भारतीय र चिनियाँ सञ्चार माध्यमका आ-आफ्नै दाबी

डोक्लामबारे भारतीय र चिनियाँ सञ्चार माध्यमका आ-आफ्नै दाबी


काठमाडौं । भारत र चीनबीच डोक्लाम विवादबारे सहमति कायम भएपछि दुवै देशका सेना विवादित थलोबाट फिर्ता हुन थालेका छन् । सोमबार भारत र चीनले डोक्लाममा उत्पन्न विवादको शान्तिपूर्ण निकास खोजिएको र यो विवाद समाप्त गर्न आफूहरू सहमत भएको कुरा सार्वजनिक गरेका थिए । तर विवादको तात्कालिक समाप्तिसँगै भारत र चीनका सञ्चार माध्यमले यो विवादलाई फरक–फरक ढंगले प्रस्तुत गरिरहेको देखिएको छ । पछिल्लो सहमतिबाट आआफ्नो देशको जित भएको भनेर दुवै देशका सञ्चार माध्यमले दाबी गरिरहेका छन् ।

बीबीसीले यसबारे गरेको सञ्चार सर्वेक्षणअनुसार भारतीय सञ्चार माध्यमहरूले यसलाई ‘नयाँदिल्लीको जित’ बताइरहेका छन् भने चिनियाँ सञ्चार माध्यमले यसलाई ‘अतिक्रमण हटाउने भारतको फैसलाबाट चीन खुसी भएको’ भनेर प्रचार गरिरहेका छन् । भारतीय सञ्चार माध्यमले यो प्रकरणबाट भारतको ठूलो कूटनीतिक विजय भएको र यो चीनका लागि लज्जास्पद भएको भन्दै टिप्पणी गरेका छन् ।

यसबारे भारतीय दैनिक ‘अमर उजाला’ ले मुख्य समाचार लेख्यो, ‘‘आखिर भारतको सामु चीन झुक्यो, डोक्लामबाट सेना हटाउन भयो तयार ।’’ अङ्ग्रेजी पत्रिका ‘इकोनोमिक टाइम्स’ ले समाचार लेख्यो, ‘‘चीन गर्जिने त्यस्तो बादल हो, जो बर्सिँदैन ।’’

अखबारले लेखेको छ, ‘‘चीनले भारतलाई धम्क्याउन निकै प्रयास गर्यो । युद्ध सुरु गर्ने धम्कीदेखि विद्रोह उछाल्नेसम्म । यसबाट साना देशहरूलाई चीन आफ्नो धम्कीलाई वास्तविक बनाउन कुनै ठोस कदम उठाउन सक्दैन भन्ने सन्देश गयो ।’’ केही पत्रिकाको रिपोर्टमा के पनि संकेत गरिएको छ भने ब्रिक्स देशहरूको बैठक ३ देखि ५ सेप्टेम्बरका बीच हुँदैछ र सायद यसै कारण यी दुवै देश सम्झौताका लागि तयार भएका हुन् ।

उता चीनका सरकारी मिडियाहरूले आफ्नो विदेश मन्त्रालयलाई उद्धृत गर्दै लेखेका छन्, डोक्लामबाट सेना फर्काउने भारतको निर्णयबाट चीन खुसी भएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले डोक्लामका बारेमा शान्तिपूर्ण सम्झौतासम्म पुग्न चीनले एउटा जिम्मेवार शक्तिको भूमिका निभाएको विश्लेषण गरेको छ । उसले लेखेको छ, ‘‘डोक्लामको चिनियाँ भूमिमा अतिक्रमण गर्ने सैनिकहरूलाई भारतले हटाएको छ ।’’

डोक्लाम भारत, चीन र भूटानको सीमामा पर्ने हिमाली क्षेत्रको वञ्जर भूमि (पठार) हो । यस क्षेत्रमा चीनले सडक निर्माण गर्न खोजेपछि भारतले आफ्ना सैनिक पठाएर त्यसलाई रोकेको थियो । यही कारण यी दुई देशबीच विवाद उत्पन्न भएको थियो । चीन र भूटानबीच पहिलेदेखि नै डोक्लाम क्षेत्रको स्वामित्वको विषयलाई लिएर विवाद चलिरहेको छ । भारतले यो ठाउँ भूटानको भूभाग हो भन्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij