काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा दिएको आफ्नो अभिव्यक्तिले नेपालको शिर नझुकाएको बताएका छन् । नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको संयुक्त पत्रकार सम्मेलनमा देउवाले संविधान संशोधनलाई दुई तिहाइ पु¥याएर पारित गरिने बताएका थिए ।
उनको सो अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवाले देशको शिर झुकाएको प्रतिक्रिया दिएका थिए । उनले नेपालको आन्तरिक मामिलामा भारतमा कुरा उठाएर नेपालको स्वाधीनतामाथि खेलवाड गरेको आरोप लगाएका थिए । त्यस्तै सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत यसको विरोध गरिरहँदा उनले यस्तो दाबी गरेका हुन् ।
‘संविधान संशोधन प्रस्ताव सरकारले ल्याएको प्रस्ताव हो । त्यो प्रस्ताव हाम्रो हो । त्यो प्रस्ताव ठीक थियो, भोलि पनि ठीक हुन्छ भन्ने मेरो विश्वास छ,’ उनले दोहो¥याउँदै प्रश्न गरे, ‘अब कहाँ बोल्ने कहाँ नबोल्ने होस् न त, विदेशमा केके बोल्ने केके नबोल्ने एउटा साझा सहमति बनोस्, एउटा कोड अफ कन्डक्ट बनोस् । अब मैले सोधेर बोल्नुपर्ने के बोल्ने भनेर । के मैले बोल्नै नहुने ?’
उनले आफ्नो भ्रमणले नेपालको शिर सबैभन्दा ठाडो गराएको दाबी गरे । ‘सबैभन्दा बढी शिर ठाडो मैले पारेको छु । मधेसी जनताको भावनाअनुसार संविधान संशोधन गरिनुपर्छ भन्ने मान्यता हाम्रो हो । हाम्रो पार्टीको यो नीति हो, धारण हो । धारणै राख्न नपाउने ?’ उनले प्रश्न गरे, ‘यहाँ पनि चुप विदेशमा पनि चुप, उहाँहरूले बोल्नु हुने, मैले
बोल्नै नहुने ?’ संसद्मा यस विषयलाई कसरी जवाफ दिनुहुन्छ भन्ने पत्रकारको जिज्ञासामा प्रधानमन्त्री देउवाले भने, ‘अहिले जसरी दिएको छु, त्यसरी नै दिन्छु । यो हाम्रो मान्यता हो । यो संशोधन आवश्यक छ । दुई तिहाइ पु¥याएर संशोधन गरिन्छ ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij