
काठमाडौं । गत शुक्रबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले तराईका अधिकांश जिल्लासहित मुलुकका धेरै माग प्रभावित भए । बाढी र पहिरोमा परी १ सय ३० जनाभन्दा बढीको मृत्यु भएको छ भने केही अझै बेपत्ता छन् । हजारौं विस्थापित भएका छन् ।
बाढीले उद्योग धन्दा, कलकारखानासहित कृषि क्षेत्रमा ठूलो नोक्सानी पु-याएको छ । विद्युत् अवरुद्ध हुँदा सञ्चारलगायतका सेवा प्रभावित छन् । बुधबारदेखि विद्युत् सेवा पुनः सञ्चालनमा आए पनि ध्वस्त भएका संरचना पुनर्निर्माणमा अझै केही समय लाग्ने देखिएको छ ।
विस्थापित भएकाहरूलाई विस्तारै पुरानै अवस्थामा फर्काउने प्रयास जारी छ । बाढीबाट भएको जनधनको क्षतिपछि निजी क्षेत्रले राहत तथा उद्धारका कार्यक्रम अगाडि सारेको छ ।
२०७२ सालको भूकम्पको समयमा पनि निजी क्षेत्रले सहयोग, राहत र उद्धारका काम गरेकोमा यतिवेला पनि सक्रियरूपमा अघि सरेको देखिएको छ । सरकारपछि सबैभन्दा धेरै सञ्जाल निजी क्षेत्रसँग छ । बाढीपीडित क्षेत्रमा राहत र उद्धारका विषयका निजी क्षेत्रले गरिरहेको सहयोगका विषयमा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका नेतृत्वकर्तासँग कारोबारले गरेको कुराकानीको सार ः
गृह मन्त्रालयस“गको समन्वयमा नेटवर्क परिचालित छ
भवानी राणा
अध्यक्ष
नेपाल उद्योग वाणिज्य महासंघ
नेपाल उद्योग वाणिज्य महासंघको ७५ वटै जिल्लामा सञ्जाल छ । जिल्ला नगरको सहयोगमा अहिले बाढीप्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यकीय सामग्री वितरण गर्ने काम भएको छ । भूकम्पका बेला पनि हामीले जिल्ला नगरका साथीहरूसँग मिलेर सहयोग गरेका थियौं । दैवी प्रकोपका बेला महासंघले सधैं सहयोग गर्दै आएको छ ।
अहिले प्रदेश नम्बर १ मा दैवी प्रकोप उद्धार क्याम्पमार्फत काम भएको छ । उद्धार र राहत वितरणमा गृह मन्त्रालयको समन्वयमा काम गरिरहेका छौं । मुलुकभर भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै महासंघले विपत्तिमा परेका जनताको तत्काल सहयोगार्थ कोष स्थापना गरेको छ ।
महासंघले आफ्ना सदस्य एवं अन्य संघ–संस्थाको समेत सहयोगमा नगद तथा जिन्सी गरी करिब १ करोड रुपैयाँबराबरको सहयोगको घोषणा गरेको हो । सहयोगमा महासंघका तर्फबाट नगद १० लाख रुपैयाँ, नेपाल औषधि उत्पादक संघका तर्फबाट ५० लाख नगदबराबरको औषधि, नेपाली युवा उद्यमी मञ्चबाट नगद तथा जिन्सी गरी १५ लाख, शंकर ग्रुपका तर्फबाट नगद तथा जिन्सी गरी ५ लाख, बाग्मती सफाइ महाअभियानका तर्फबाट १० लाख नगद र अन्य संघसंस्थाबाट १० लाख गरी पहिलो चरणमा महासंघका तर्फबाट उक्त सहयोगको घोषणा गरिएको हो ।
साथै, यसका लागि कार्म गर्न महासंघको सामाजिक सेवा फोरमका सभापति जयप्रसाद शिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय ‘बाढीपहिरो व्यवस्थापन कार्यदल, २०७४’ समेत गठन भएको छ ।
बाढीप्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता सञ्चालनमा ल्याएको छ । खातामा आ–आफ्नो क्षेत्रबाट नगद सहयोग गर्न महासंघले आफ्ना सबै सदस्य, उद्योग वाणिज्य संघ, वस्तुगत संघ, द्विराष्ट्रिय उद्योग वाणिज्य संघ, एसोसिएट सदस्य, उद्यमी–व्यवसायी, गैरआवासीय नेपाली संघलगायत अन्य संघ–संस्थाहरूसमेत सबैमा अपिल गरेको छ । जुनसुकै बैंकबाट पनि महासंघको उक्त खातामा सहयोग रकम पठाउन सकिनेछ ।
विपत्तिको यस घडीमा प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने वस्तु तथा सेवाको प्राथमिकीकरण गरी यथाशीघ्र महासंघ सचिवालयमा जानकारी गराउन तथा विपत्को यस घडीमा अग्रस्थानमा रहेर जनताको सेवा गर्न महासंघ आफ्ना सबै सदस्य, उद्योग वाणिज्य संघका सदस्यहरूलगायत सबै जनसमुदायमा समेत आग्रह गर्छ ।
साथै, महासंघका सदस्य जिल्ला नगर उद्योग वाणिज्य संघहरूद्वारा हाल प्रभावित क्षेत्रमा भैरहेको सहयोगको महासंघ सराहनासमेत गर्छ । संस्थागत सामाजिक दायित्वबाट निजी क्षेत्र सदैव अभिप्रेरित रहेको र मुलुक र मुलुकवासीमा प्राकृतिक विपत्तिका बखत सदैव खुला मनले सहयोग गर्दै आएको स्मरण गराउँदै महासंघले आफ्ना सबै सदस्य संघसंस्थाको सहयोग र सहकार्यमा अग्रस्थानमा रहेर विपत्तिमा परेका जनताको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij