काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डल र उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको नेपाली टोलीबीच द्विपक्षीय वार्ता भएपछि समझदारीमा हस्ताक्षर भएको छ । वाङ, गच्छदारका साथै उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिमा अर्थसचिव शान्तराज सुवेदी र चिनियाँ वाणिज्य उपमन्त्री यु जियाङहुवाले सम्झौता/समझदारी पत्रमा हस्ताक्षर गरे ।
अरनिको राजमार्गको स्तरोन्नती तथा रसुवाको टिमुरेमा पुल निर्माणका लागि खर्च हुने गरी चीनले १५ अर्ब नेपाली रुपैयाँ थप सहायता गर्ने भएकाे छ । पेट्रोलियम पदार्थ र ग्यास अन्वेषणका लागि सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौता पनि भएको छ । सवा २ अर्ब रुपैयाँको यो सम्झौताको समयावधि तोकिएको छैन । नेपालमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन वातावरण बनाउने सम्वन्धी समझदारीपत्रमा समेत हस्ताक्षर भएको छ । ‘यो अम्ब्रेला एगि्रमेन्ट हो,’ अर्थसचिव सुवेदीले भने, ‘पूर्वाधार विकासका क्षेत्रमा चिनियाँ निजी क्षेत्रको लगानी भित्र्याउन के-के गर्न सकिन्छ यसमा फ्रेमवर्क एग्रिमेन्ट भएको छ ।’
सडक, सुरुङमार्ग, विद्युत ट्रान्समिसन लाइन निर्माण र उत्पादनमा लगानी आकर्षित गर्ने सरकारी योजना छ । यो सम्झौता निकै महत्वपूर्ण भएको सचिव सुवेदीले बताए । द्विपक्षीय वार्तामा नेपालले तातोपानी नाका सञ्चालनमा ल्याउन विशेष आग्रह गरेको थियो । यसमा चिनियाँ पक्षले त्यसमा सैद्धान्तिक सहमति जनाएको छ । अर्थसचिव सुवेदीले भने, ‘तातोपानी नाका हाम्रो प्राथमिकताको नाका हो र, हामीले खोल्नुपर्छ भनेर पटक-पटक आग्रह गरेका छौं । आजको वार्तामा पनि तातोपानी नाका खोल्न चाइना सरकारले सकारात्मक रुपमा लिएको पाएका छौं ।’
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij