बर्दिया । बर्दियाको बबई नदीमा आएको बाढीका कारण जब्दीघाटमा निर्माण गरिएको पक्की पुल भत्किएको छ । आइतबार बबई नदीमा आएको भिषण बाढीका कारण पुल भत्किएको हो । जब्दीघाटको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकालाई जोडेको थियो ।
जब्दीघाट पुल १६ करोड ६८ लाख ४ हजार रुपैयाँको लागतमा निर्माण गरिएको थियो । पुल सञ्चालनमा आएको वर्षदिन पनि नपुग्दै भत्किएको छ । पुलबिचको भागबाट भत्किएको छ । पुल निर्माण सम्पन्न भएलगत्तै संचालनमा आए पनि औपचारिक उद्घाटन भएको थिएन ।
पप्पु कन्ट्रक्सन निर्माण कम्पनीले २०६८ असार २५ देखि निर्माण शुरु गरेको थियो । निर्माण अवधी भन्दा डेढ वर्ष ढिलो गरि पुल सम्पन्न भएको थियो । ठेकेदारको लापरवाहीका कारण पुल जोखिममा परेको भन्दै स्थानीय बासिन्दाले विरोध गर्दै आएका थिए । तर सुनुवाई भएको थिएन ।
पुल भत्किएपछि आवागमन ठप्प भएको छ । पुल भएर सदरमुकामदेखि पुर्वपश्चिम राजमार्ग छोटो समयमा पुग्न सकिन्थ्यो । पुल भत्किएपछि सदरमुकामदेखि मगरागढी हुँदै पूर्व पश्चिम राजमार्गमा आउजाउ गर्न निकै समस्या भएको छ ।
बाढीका कारण ३ जनाको मृत्यु
शुक्रबारदेखि भएको वर्षाका कारण बबई नदी र आसपासका खोलामा आएको बाढीले बर्दियामा थप एक जनाको ज्यान गएको छ । योसँगै ज्यान जानेको सख्या बर्दियामा ३ पुगेको छ भने एक जना अझै वेपत्ता छन् ।
गुलरिया नगरपालिका–२ संगम बस्तीका ५३ वर्षका बलबहादुर सिंहको घर नजिकैको नालामा डुबेर ज्यान गएको आपतकालिन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभएको छ ।
यस्तै आइतबार दिउँसो घर फर्कंदै गर्दा खोला तर्ने क्रममा ठाकुरबाबा नगरपालिका–५ खुनपुरका ६० वर्षका गोविन्द थारुको डुबेर ज्यान गएको थियो । घरको भित्ता भत्किँदा ठाकुरबाबा नगरपालिका–२ सतघरुवाकी ७० वर्षकी साउनी थारुको ज्यान गएको थियो ।
बाढी आएका बेला बबई नदीमा दाउरा झिक्ने क्रममा बारबर्दिया नगरपालिका १० का २९ वर्षका राजेन्द्र थारु बेपत्ता भएका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij