काठमाडौं । भारतको गुजरातमा राज्यसभाका तीन सिटका लागि मंगलबार भएको चुनावमा भाजपातर्फबाट उमेदवार बनेका पार्टी अध्यक्ष अमित शाह र केन्द्रीय मन्त्री स्मृति ईरानी साथै कांग्रेसका अहमद पटेल विजयी भएका छन् । पटेलले भाजपाका अर्का उमेदवार बलवन्त सिंह राजपूतलाई ६ मतले पराजित गरेका छन् ।
मंगलबार निर्वाचन सकिएपछि मतगणना सुरु हुन लाग्दा क्रस भोटिङ गरेका कांग्रेसका दुई विधायकले भाजपाका एजेन्टलाई आफूहरूले बलवन्तलाई मत दिएको भन्दै पर्चा देखाएपछि कांग्रेसले आपत्ति जनाएको थियो । यही विषयलाई लिएर राति अबेरसम्म विवाद चलेपछि निर्वाचन आयोगले पर्चा देखाउने सांसदको मत अमान्य घोषित गरेको थियो ।
भारतीय सञ्चार माध्यमले जनाएअनुसार यो चुनावमा कांग्रेसका तर्फबाट उमेदवार बनेका अहमद पटेललाई जिताउन कांग्रेसले आफ्नो सम्पूर्ण शक्ति लगाएको थियो । भाजपाले आफ्ना सांसदलाई लोभमा पार्न नसकोस् भनेर कांग्रेसले झन्डै दस दिन पहिलेदेखि आफ्ना ४४ जना सांसदलाई बेंगलुरुको होटलमा लगेर राखेको थियो र मतदानका दिनमा बस रिजर्भ गरेर सिधै मतदान गर्ने ठाउँमा ल्याएको थियो । तर त्यति गर्दा पनि कांग्रेसका एक जना सांसदले क्रस भोटिङ गरेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर भएका कारण पनि यो चुनावलाई कांग्रेस र भाजपा दुवै दलले आफ्नो प्रतिष्ठाको विषय बनाएका थिए ।
निर्वाचित भएका पटेल कांग्रेस अध्यक्ष सोनिया गान्धीका राजनीतिक सचिव हुन् । मतगणनाको नतिजाअनुसार पटेललाई ४४ मत प्राप्त भएको थियो भने राजपूतले ३८ मत पाएका थिए । कूल १७४ मतदाता संख्या रहेकोमा निर्वाचन जित्नका लागि ४३.५१ मत आवश्यक थिए । यो निर्वाचनबाट भाजपा अध्यक्ष अमित शाह पहिलो पटक राज्यसभामा पुगेका छन् भने यसअघि राज्यसभा सदस्य रहेकी स्मृति ईरानी आफ्नो पुरानो स्थिति यथावत् बनाउन सफल भएकी छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij