चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा १० भन्दा बढी ठाउँमा पहिरो झरेपछि शुक्राबार बिहानसम्म सडक नखुल्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई पहिरो पन्छाएर गन्तव्य तर्फ लगिएको छ । उनका अनुसार बुधबार साँझदेखि विभिन्न ठाउँमा गएको पहिरोले सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका थिए । उनले भने, ‘सडककोबीचमा फँसेका सवारीलाई पहिरो हटाएर पठाइएको छ । ती सवारीहरु जोखिममुक्त भएका छन् ।’
अहिले पनि पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी छ । पहिरो खसिरहेकोले शुक्राबार बिहानसम्म सडक सञ्चालनमा ल्याउन नसकिने पन्तले बताए। पहिरो पन्छाउन लोडर र एक्साभेटर गरी आधा दर्जन साधन परिचालन गरिएको छ । ‘हामीले जोखिम मोलेर सवारीलाई आउजाउ गर्न दिएका छैनौं । पुरै पहिरो पन्छाएपछि मात्रै सडक सुचारु हुन्छ । तर आज सडक खुल्ने सम्भावना छैन,’ पन्तले भने ।
सडक बुधबार साँझदेखि अवरुद्ध बनेको हो । साँझ ७:३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij