२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

लगानी बढाउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री

लगानी बढाउनु सरकारको प्राथमिकता : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा स्वदेशी तथा विदेशी लगानी बढाउनु सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘राष्ट्रिय व्यवसायी पहल’द्वारा बिहीबार यहाँ आयोजित दोस्रो जिम्मेवार व्यावसायिक सम्मेलनको उद्घाटन गर्दै उनले राजनीतिसँगै मुलुकको अर्थतन्त्र पनि उत्साहजनक हुँदै गएको बताउँदै कुल गार्हस्थ्य उत्पादन बढाउने, थप रोजगारी सिर्जना गर्ने, लगानी बढाउने सरकारको प्राथमिकतामा रहेको बताए ।

लगानी बढाउने सम्बन्धमा कतिपय कानून संशोधन भइसकेको र केही संशोधनको प्रक्रियामा रहेको अवगत गराउँदै प्रधानमन्त्री देउवाले भने, ‘हामी लगानी बढाउन प्रशासनिक र कानूनी झन्झट हटाउने तयारीमा छौँ, लगानी गर्नेलाई आवश्यक सबै सहयोग हुन्छ ।’ जिम्मेवार व्यवसाय भनेको केही नाफाको अंश सामाजिक कार्यक्रममा खर्च गर्नु हो भन्दै उहाँले जिम्मेवार व्यवसायीको प्रमुख दायित्व राज्यको नियम कानून पालना गर्नु पनि रहेको धारणा राखे । ‘हामी आर्थिक वृद्धिमात्र चाहन्छौँ वा स्वच्छ समतामूलक दिगो अर्थव्यवस्था चाहन्छौँ, यस सम्बन्धमा सम्मेलनले पहल गर्ने विश्वास व्यक्त गर्छु’, उनले भने ।

जिम्मेवार व्यवसायीले सामाजिक समस्याप्रति जिम्मेवार भई गरिबी निवारण, द्वन्द्व व्यवस्थापन, आर्थिक असमानता निराकरण, वातावरणीय असन्तुलनजस्ता मुद्दा पनि सम्बोधन गर्नुपर्ने उनको धारणा थियो । मुलुकको विकासका लागि निजी क्षेत्रलाई सक्षम बनाउनुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘निजी क्षेत्रमा देखिएका विद्यमान समस्या एकैरातमा समाधान हुँदैनन्, त्यसका लागि नियम कानूनमात्र पर्याप्त हुँदैन, व्यवसायीले आत्मबोध गरी स्वनियमन गर्नु पनि आवश्यक छ ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले सरकारको प्रमुख दायित्व संविधानको स्वीकार्यता बढाउनु र सफल कार्यान्वयन गर्नु रहेको बताउँदै त्यसका लागि स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र अन्तिम चरणको निर्वाचन आगामी असोज २ गते हुन गइरहेको जानकारी गराए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको लागि आवश्यक तयारी भइरहेको र त्यसमा निर्वाचन क्षेत्र निर्धारण आयोगले काम सुरु गरिसकेको उनको भनाइ थियो ।

विभिन्न सत्रमा दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, चीन, सिंगापुरलगायत मुलुकका सयौँ प्रतिष्ठित व्यवसायी, विभिन्न विषयका विज्ञ, अनुसन्धानकर्ता सहभागी छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij