काठमाडौं । सांसदहरुले नेपाल आयल निगमको इन्धन भन्डारणस्थल निर्माण गर्न जग्गा खरिदमा करोडौं रुपैयाँ भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले बुधबार आपूर्तिमन्त्री, सचिव र निगमका कार्यकारी निर्देशकलाई बोलाएर गरेको छलफलमा सांसदहरुले निजी जग्गा खरिद गर्दा करोडौं रुपैयाँ भ्रष्टाचार भएको भन्दै तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
“प्रचलित मूल्यभन्दा महँगोमा जग्गा खरिद गरी करोडौं रुपैयाँ अनियमितता भएको बाहिर आएको छ,” समितिका सभापति डोरप्रसाद उपाध्यायले सेतोघरसँग भने, “जग्गा खरिद प्रकरण गम्भीर देखिएकाले थप छलफल गरेर छानबिन प्रक्रिया अगाडि बढाउँछौं ।” उनले शुक्रबार थप छलफल गरेर अध्ययन गर्न उपसमिति गठन गरिने जानकारी दिए ।
“निजी जग्गा दलालको मिलेमतोमा महँगोमा मूल्यमा खरिद गर्नुले सिधै भ्रष्टाचर गरेको देखिन्छ,” सांसद धनराज गुरुङले भने, “टेन्डरको नाटक गरेर राज्यको पैसा बालुवामा हाल्ने काम भएको छ, यस विषयमा तत्काल छानबिन गरी कारबाही गरिनुपर्छ ।” उनले केही व्यक्तिको मिलेमतोमा टेन्डर गरेर चलनचल्तीको मूल्यभन्दा तेब्बर मूल्यमा जग्गा खरिद गरेर राज्यको करोडौं हिनामिना भएको दाबी गरे ।
सांसद भरत साउदले भैरहवामा उपभोक्ता समितिमार्फत १५ बिघा जग्गा सस्तोमा प्राप्त हुँदाहुँदै महंगोमा खोलाकिनारको बगर खरिद भएको आरोप लगाए । “खोला किनारामा सस्तो मूल्यमा जग्गा पाइनेमा महँगोमा खरिद गरेर रकम हिनामिना भएको छ,” उनले भने, “छानबिन गरी यसमा संलग्नलाई कारबाही गरिनुपर्छ ।” उनले सरकारी जग्गा खरिद नगरी निजी खरिद गर्नुले करोडौं रुपैयाँ भ्रष्टाचार भएको दाबी गरे ।
बैठकमा जग्गा खरिद ऐनअनुसार खरिद नगरी टेन्डर आह्वान गरेर कमिसनको जालझेल गरिएको भन्दै अधिकांश सांसद्ले आपत्ति जनाएका थिए । सांसद रामहरि खतिवडाले जग्गा खरिद प्रकरणका विषयमा आपूर्ति सचिवले छानबिन गर्न सहयोग गरेर सत्यतथ्य बाहिर ल्याउन माग गरे ।
त्यस्तै सांसद उषा गुरुङले जग्गा खरिद प्रक्रियालाई वेवास्था गरेर २ लाख पर्ने जग्गालाई १३ लाख रुपैयाँमा खरिद गरेर अनियमिता गरिएको बताइन् । सांसद राधाकृष्ण कँडेलले कमिसनका लागि आवश्यक नै नभएको नेसनल टे«डिङ लिमिटेडको जग्गा निगमले खरिद गरेको बताए ।
काठमाडौंको टेकुमा रहेको जग्गामा पेट्रोलपम्प सञ्चालन गर्न उपयुक्त नहुने जग्गा डेढ अर्ब रुपैयाँ खर्च गरेर खरिद गर्नै आवश्यक नरहेको उनको भनाइ थियो ।सांसद डिम्पल झाले निगमले ९ लाख ६१ हजारमा खरिद गरिएको जग्गा अघिल्लो दिन ३ लाख रुपैयाँमा बिक्री भएको दाबी गरिन् । सस्तो जग्गालाई महँगो देखाएर सिधै घोटाला भएको देखिएकाले छानबिन गर्नु उनले माग गरिन् ।
बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले जग्गा खरिद प्रकरणमा मन्त्रालयबाट कुनै कमजोरी भए तत्काल कारबाही गरिने बताए । यसका विषयमा अध्ययन भइरहेकाले पनि जग्गा खरिदमा रकम हिनामिना गरेको पुष्टि भए आफूले पाएको कानुनी अधिकार प्रयोग गर्ने उनले जानकारी दिए ।
आपूर्ति सचिव प्रेमकुमार राईले निजी जग्गा उपयुक्त नभेटिएकाले सार्वजनिक खरिद ऐन र आर्थिक विनियमावली अनुसार सरकारी जग्गा खरिद गर्र्न कार्यकारी निर्देशकलाई निर्देशन दिएको बताए । तर, निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले भने टेन्डर आह्वान गरी प्रक्रिया पूरा गरेरै जग्गा खरिद गरेको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij