नोकिया फोन ब्रान्डले विश्व बजारसहित नेपाली बजारमा पनि स्मार्टफोन बिक्री सुरु गरेको छ । फिनिस कम्पनीले स्मार्टफोनमा नोकिया नाम रहन दशवर्षे सम्झौतामा हस्ताक्षर गरेको नेपालमा आधिकारिक बिक्री जिम्मा पाएको पारामाउन्ट इलेक्ट्रोनिक्सले जनाएको छ ।
पारामाउन्ट इलेक्ट्रोनिक्स विगत वर्षमा पनि नोकिया फोनको आधिकारिक डिस्ट्रिब्युटर थियो । पारामाउन्टले नेपाली बजारमा नोकिया ३, नोकिया ५, नोकिया ६ स्मार्टफोन र नोकिया ३३१० बिक्री सुरु गरेको बताएको छ । यी मोडलमा दुई सिमका स्लटका साथै एनड्रोइड न्युगट अपरेटिङ सिस्टम पनि रहेको छ । यस्तो अपरेटिङ सिस्टमबाट प्रयोगकर्ताले गुगलले जारी गरेलगत्तै तत्काल अपडेटको लाभ पाउन सक्ने कम्पनीको भनाइ छ ।
नोकिया ३ मा ५.० इन्च एचडी डिस्प्ले, क्वाडकोर १.३ गिगाहर्ज, २ जिबी र्याम, १६ जिबी इन्टरनल स्टोरेज, ८ एमपीको रियर क्यामेरा र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एन्ड्रोइड न्युगट ओएस ७.० र २६३० एमएएच ब्याट्री राखिएको छ । नोकिया ५ मा ५.२ इन्च एचडी डिस्प्ले, क्वालाकम स्नापड्रागन ओक्टाकोर १.४ गिगाहर्ज, २ जिबी र्याम, १६ जिबी इन्टरनल स्टोरेज, पूर्ण एल्मुनियम बडी, १३ एमपीको रियर क्यामेरा, फिंगर प्रिन्ट स्क्यानर र ८ एमपीको फ्रन्ट क्यामेरा, प्योर एनड्रोइड न्युगट ओएस ७.१.१ र ३००० एमएएच ब्याट्री सुविधा छन् ।
यस्तै, नोकिया ६ मा ५.५ इन्च फुल एचडी डिस्प्ले, स्नापड्रागन ४३० चिपसेट, ओक्टाकोर १.४ गिगाहर्ज, ३ जिबी ¥याम, ३२ जिबी इन्टरनल स्टोरेज, पूर्ण एल्मुनियम बडी, ८ एमपी फ्रन्ट क्यामेरा र १६ एमपी रियर क्यामेराका साथ फ्रिंगर प्रिन्ट स्क्यानर, प्योर एन्ड्रोइड न्युगट ओएस ७.१.१ र ३००० एमएएच ब्याट्रीजस्ता विशेषता छन् । ४ वर्षको अन्तरालपछि नोकिया स्मार्ट फोनको उत्पादन सुरु भएको हो । नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया ८ पनि नेपाली बजारमा ल्याउने भएको छ । कम्पनीले उपलब्ध गराएका नयाँ स्मार्टफोनको नेपाली बजारमूल्य क्रमशः नोकिया ३ को १५,६५०, नोकिया ५ को २१,३५० र नोकिया ६ को २५,६०० रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीले आधिकारिक नोकिया केयर सेन्टर पनि विस्तारित गरिएको बताएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij