वर्षाका कारण रुकुमका अधिकांश ग्रामीण सडक बिग्रिँदा यात्रा जोखिमपूर्ण बनेको छ । जसका कारण सदरमुकाम भित्रिने तथा बाहिरिने यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । ठाउँ–ठाउँमा पहिरो खसेको तथा सडक हिलाम्य भएका कारण यातायातका साधन सञ्चालनमा निकै समस्या भइरहेको यातायात व्यवसायीको भनाइ छ । घाम लागेका वेला जसोतसो गाडी चलाउने गरे पनि पानी परेका वेला गाडी चलाउन निकै समस्या हुने सवारीचालक पर्शुराम विकले बताए । ‘धेरै ठाउँमा पहिरो खस्दा सडक साँघुरो भएको छ,’ उनले भने, ‘धेरै ठाउँमा पहिरोको उच्च जोखिम छ । पानी परेको वेला सडक पूरै हिलाम्य हुने भएकाले गाडी गुडाउन सजिलो छैन ।’ सडक निर्माण गरिए पनि सडकको स्तरवृद्धिमा सरोकारवाला निकाय मौन रहँदा भगवान् भरोसामा गाडी चलाउने गरेको चालकहरूको भनाइ छ ।
दुर्घटना भए सबै दोष चालकमाथि
‘केही तलमाथि भइहाल्यो भने ड्राइभरको गल्तीका कारण भयो भन्छन्, तर सडकको स्तरोन्नतिका लागि कसैले चासो दिँदैनन्,’ विकले भने, ‘कुन ठाउँमा कति वेला के हुने हो भन्न सकिने अवस्था छैन ।’ जोखिम मोलेर यात्रा गर्नु आफूहरूको बाध्यता रहेको यात्रुले बताएका छन् । ‘कामविशेषले सदरमुकामसहित जिल्लाका विभिन्न ठाउँमा गइरहनुपर्छ,’ छिवाङका रवीन्द्र विष्टले भने, ‘हिँडेर जान सकिँदैन, जोखिमपूर्ण भए पनि गाडीमा यात्रा गर्नैपर्छ ।’
सबै सडकको अवस्था उस्तै
जिल्ला सदरमुकामलाई जिल्लाका अन्य गाउँसँग जोड्न रुकुममा एक दर्जनभन्दा बढी ग्रामीण सडक बनेका छन् । वर्षायाम सुरुसँगै जिल्लाका सबै ग्रामीण सडक आंशिक अवरुद्ध छन् । सदरमुकाम खलंगादेखि, पोखरा, तकसेरा, महत, काँक्री, कोल जाने सडक पूर्ण रूपमा बन्द भएका छन् भने पीपल, आठबिसकोट, चौरजहारी, रुकुमकोट, बाँफीकोटलगायत ठाउँ पुग्ने सडक अनियमित बनेका छन् । सदरमुकाम खलंगादेखि मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने सडक धौपापैरास्थित रुकुमगाडले अवरुद्ध गरेको छ । उक्त ठाउँमा पुल नहुँदा वारिका सवारीसाधन वारि र पारिका सवारीसाधन पारि रोकिएका छन् ।
भाडावृद्धि
बर्खायाम लागेसँगै यातायात व्यवसायीले सवारी भाडादरमा वृद्धि गरेका छन् । साबिकको भाडामा ६० देखि १ सय रुपैयाँसम्म बढी भाडा तिर्नुपरेको यात्रुको भनाइ छ । ‘यसअघि सदरमुकाम खलंगा जान २ सय ९० रुपैयाँ भाडा तिर्नुपथ्र्यो’, पीपलका टेकबहादुर खत्रीले भने, ‘तर अहिले ३ सय ५० सम्म भाडा तिर्नुपरेको छ ।’ यातायात व्यवसायीले भने घुमाउरो बाटोबाट यात्रा गराउनुपरेकाले भाडा बढेको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij