काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा फेरि मतदान हुने भएको छ । मतपत्र च्यातिएको दुईमहिनापछि सर्वोच्च अदालतको यस्तो फैसला आएको हो ।
न्यायाधीशद्वय ओम प्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले यस्तो फैसला गरेको हो ।
सर्वोच्चले यसअघि भएको फैसलालाई निरन्तरता दिनुनपर्ने फैसला सुनाएको हो । निर्वाचन आयोगको निर्णयलाई सदर गर्नू भन्ने आदेश जारी भएको सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा जेठ १४ गते पौने १२ बजे राति माओवादीका दुई कार्यकर्ताले मतपत्र च्यातेका थिए । मतपत्र च्यातिएपछि मतगणना स्थगित गरिएको थियो ।
पछि अनुगमन गर्दा ९० मतपत्र च्यातिएको पाईएको थियो । सोही दिनबाट भरतपुरमा मतगणना रोकिएको छ । च्यातिएको मतपत्र पछि अनुसन्धान गरी निर्वाचन आयोगले पुनःमतदानको निर्णय गरेपछि एमालेले मतगणनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो ।
भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा सोही वडाका एमालेका स्थानीय नेता गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए ।
भरतपुर १९ मा १४ गते राति वडा नम्बर १९ को खसेको २ हजार ८९७ मतमा १८०९ मत गनिएको थियो । त्यसबेलासम्म नेकपा एमालेका उमेदवार देवी ज्ञवालीले ४१ हजार ६४१ मत लयाएका थिए भने माओवादी केन्द्रकी मेयरकी उमेदवार रेणु दाहालले ४० हजार ९०८ मत ल्याएकी थिईन् । उनीहरुको मतान्तर ७३३ छ ।
भरतपुर १९ को मतपत्र निर्वाचन आयोगले बदर गरेपछि १९ गन्नु अघिको मतान्तर ७८४ छ । भरतपुर २० मा खसेको मत ३ हजार ३०२ छ ।
३८३६ मतान्तरलाइ घटाउँदै रेणु दाहालले ७८४ मा झारेकी हुन् । भरतपुर १९ र २० बढी कांग्रेसको बाहुल्यता भएको क्षेत्र भएकाले ७८४ मत आउने र जित्ने दावी कांग्रेस–माओवादीको थियो । तर भरतपुर १९ को १८०९ मत गन्दा रेणुले त्यो वडामा जम्मा ५१ मत मात्रै बढी पाएकी थिईन् । भरतपुर १९ मा कुल मतदाता ३७९७ छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij