काठमाडौं । सरकारले नेपालमा रहेको भनिएको पेट्रोलियम खानीहरुमा अन्वेषण र उत्खननको काम फेरि अघि बढाउने भएको छ । झण्डै ३ वर्षदेखि लगभग ठप्प रहेको पेट्रोलियम अन्वेषणको काम अघि बढाएर केही वर्षभित्रै पेट्रोल उत्खखन् गर्ने सरकारी योजना छ । योजनाअनुसार काम भए ७ वर्षपछि पेट्रोल उत्खननको तयारी सुरु हुनेछ । सरकारले पुनः विदेश कम्पनीहरुलाई नेपालको १० वटै पेट्रोलियम ब्लकको अन्वेषण, विकास र उत्खननकाे लागि लाइसेन्स जारी गर्ने तयारी गरेको छ । यसका लागि पेट्रोलियम खानी उत्खनन् नियमावली संशोधन हुँदैछ ।
खानी जिम्मा दिने कम्पनीको टेण्डर मूल्यांकन प्रक्रियालाई वैज्ञानिक बनाउन भन्दै खानी विभागले अघि बढाएको नियमावली संशोधन प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएको छ तर, राजपत्रमा प्रकाशित हुन बाँकी छ । यो सूचना प्रकाशित भएलगत्तै पेट्रोल खानीहरुको अन्वेषण, विकास र उत्खनन्का लागि ग्लोबल टेण्डर प्रकाशित हुने विभागका महानिर्देशक राजेन्द्र खनालले बताए । लाइसेन्सस मात्रै होल्ड गरेको भन्दै सुशील कोइराला नेतृत्वको सरकारले सबै पट्रोलियम ब्लकमा अन्वेषणको जिम्मा लिएका कम्पनीहरुको इजाजत रद्द गरेको थियो । त्यसपछि नयाँ लाइसेन्स जारी गरिएको छैन ।
अब भने साँच्चिकै रिजल्ट आउने गरी काम गर्न सक्ने सक्षम कम्पनी मात्रै छनोट हुने खनालले बताएका छन् । नयाँ ब्यवस्था अनुसार पेट्रोलियम ब्लकहरुमा आउने विदेशी कम्पनीले सुरुवातमा ४ वर्ष अन्वेषणका लागि पाउनेछन् । त्यति सयमा काम नसकिए थप ३ वर्ष पनि दिइने खनालले जानकारी दिए । ‘नियमावली संशोधनपछि मूल्यांकन प्रक्रिया पारदर्शी र प्रभावकारी बन्छ । योग्य कम्पनीहरु छानिने भएकाले अब पहिले जस्तो लाइसेन्स होल्ड गरेर काम नगर्ने समस्या दोहोरिँदैन’ महानिर्देशक खनालले भने, ‘अब कम्पनी छानिएपछि अन्वेषणको काम बढीमा ७ वर्षभित्र सकाउँछौं । त्यसपछि आउने अनुसन्धान प्रतिवेदनमा आधारित भएर उत्खननका लागि पूर्वाधार विकासको काम सुरु हुन्छ ।’
झण्डै ३७ वर्षअघि भएको अध्ययनले तराईको अधिकांश क्षेत्रबाट पेट्रेलियम पदार्थ उत्खनन गर्न सकिने देखाएको थियो । यसै विषयमा अध्ययन गर्न खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना पनि चलिरहेको छ । यो युनिटले पेट्रोलियम खानीको प्रारम्भिक अध्ययनमा काम पनि गरिरहेको छ । तर, सम्भावना भएका क्षेत्रमा अहिलेसम्म डीप ड्रिल गर्न सकिएको छैन । यो काम हुन नसक्दा कुन क्षेत्रमा कति पट्रोल छर त्यो उत्खनन गर्र्न आर्थिक तथा प्राविधिक रुपमा कति सम्भव हुन्छ भन्ने विस्तृत अनुसन्धान भएको छैन । यसअघि अन्वेषणका लागि जिम्मा दिइएका विदेशी कम्पनीले पनि यसअघि गतिलोसँग काम गरेनन् । सरकारसँग दक्ष प्रविधिक पनि छैन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij