२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

राम्रो मूल्याङ्कन पाउने तरीका

राम्रो मूल्याङ्कन पाउने तरीका

आफूले गरेको कामको सबैले प्रशंसा गरिदिऊन् भन्ने चाहना सबैको हुन्छ । आफूले राम्रो गरेजस्तो लागे पनि कहिलेकाँही कार्यस्थलमा चाहे जस्तो मूल्याङ्कन भने पाइँदैन । यस्तो जोकोहीलाई पनि हुन सक्छ । कतिपयलाई आफ्नो उचित मूल्याङ्कन नभएको देख्दा जागिरै छोडिदिऊँ वा अन्यत्रै जाऊँ भन्ने सोच पनि पलाउँछ । तर, निराश हुनुपर्दैन । केही कुरामा विशेष ध्यान पुर्‍याए आफ्नो मूल्याङ्कन स्तर बढाउन सकिन्छ । तीमध्ये केही यसप्रकार छन् :

१.) हालै गरेका राम्रा कामबारे बताउने :
कुनै पनि व्यक्तिको मूल्याङ्कमा सबैभन्दा धेरै प्रभाव पार्ने तत्त्व रिसेन्सी बायस (पछिल्लो प्रदर्शनका कारण उत्पन्न हुने पूर्वाग्रह) हो । हाकिमहरूले कर्मचारीले विगतमा गरेकाभन्दा पनि हालै गरेका क्रियाकलापलाई धेरै महत्त्व दिने गर्दछन् । यदि तपाईंले गत महीना राम्रो प्रर्दशन गर्नुभएको छैन भने हाकिमलाई त्यही कुरामात्र याद हुन सक्छ । तर, त्यसभन्दा अघि आफूले गरेका राम्रा कामको बारेमा स्मरण गराएर यस्तो पूर्वाग्रह तोड्न सकिन्छ ।
तर, यस्तो पूर्वाग्रहको एउटा फाइदा पनि छ, यसले व्यक्तिलाई नयाँ शुरुआत गर्ने र राम्रो काम गर्ने अवसर दिन्छ । यसो भएमा मानिसहरूले तपाईंले गर्नुभएको कामलाई याद गर्ने र सम्झन थाल्नेछन् । यसो भएमा चाँडै नै तपाईंले आफ्नो नयाँ छवि बनाउन सक्नुहुनेछ । यसको ठीक विपरीत सबैभन्दा पहिलो प्रभावले पनि असर गरिरहेको हुन सक्छ । यसमा भने हाकिमहरूले तपाईंले पहिलो पटक गर्नुभएको काम वा परियोजनाका बारेमा धेरै सोच्दछन् । त्यसैले प्रोफेशनल बनेर आफूबाट हाकिमहरूले गरेका हरेक अपेक्षा सकेसम्म पूरा गर्नु नै उत्तम हुन्छ ।

२.) नकारात्मक छवि बनाउने मौका नदिने :
हाकिमले तपाईंको एउटै नराम्रो व्यवहारलाई हेरेर यो मानिसमा धेरै अवगुण रहेछ भन्ने सोच्न सक्छन् । यसलाई ‘हर्न इफेक्ट’ पनि भनिन्छ । तपाईं सधैं कार्यालयबाट चाँडै निस्किनुहुन्छ भने यो त अनप्रोफेशनल, कामचोर रहेछ भन्ने धारणा बन्न सक्छ । त्यसैले नराम्रो बानी सुधारेर आफूले गरेका राम्रा कामबारे थाहा दिनुहोस् ।

३.) सभ्य व्यवहार गर्ने :
तपार्इंको कुनै बानी वा व्यवहार हाकिमलाई मन पर्दैैन भने यसले तपार्इंको छवि नराम्रो बनाइदिन्छ । यस्तो खाले मूल्याङ्कनमा व्यक्तिसँग सम्बन्धित एउटै नराम्रो घटनामा बढी केन्द्रित भइन्छ । यसलाई शोर थम्ब इफेक्ट भनिन्छ । यदि अफिशको पार्टीमा तपाईंले मात्तिने गरी रक्सी खानुभएको छ भने भोलिपल्टै आफ्नो सो व्यवहारका लागि माफी माग्ने तथा भविष्यमा हुने पार्टी र भेलाहरूमा शान्त र सम्यमित रहने प्रयास गर्नुहोस् । सकारात्मक र पूरा गरिएका कामभन्दा नराम्रा घटना र अपूरा कार्यहरू सहजै याद हुन्छन् । त्यसैले यदि तपाईंले आफ्नो समूहका लागि महत्त्वपूर्ण रहेको कुनै काम समयमै भ्याउनुभएन भने अरू काम समयमै पूरा गर्ने र समूहका साथीहरूले काम नभ्याउँदासमेत तिनीहरूलाई सघाउने बानी गर्नु राम्रो हुन्छ ।

४.) क्याजुअल अप्रोच नराख्ने
सबै कर्मचारीहरूले आफ्नो काम राम्ररी गर्छन् र आफूलाई दिनुभन्दा अगाडि सबै कुरा चेक गरेका हुन्छन् भन्ने धारणा हाकिमको मनमा हुन्छ । तर, कहिलेकाहीँ चेक गर्न बिर्सेर हाकिमलाई गलत तथ्याङ्क दिइन्छ । यस्तो गल्ती जोकोहीबाट पनि हुन सक्छ यो त सामान्य हो भन्ने तपार्इंले सोच्नुहोला । तर, तपाईंको हाकिमले यसले त सधैं यस्तो गर्छ कि, आफूले गरेको कामको नतीजाप्रति यसलाई कुनै मतलबै रहेनछ भन्ने सोच्न सक्छन् । यसले तपाईंको पदोन्नतिलाई प्रभावित पार्दछ । त्यसैले, हाकिमहरूले दिने प्रतिक्रिया, तिनीहरूको सोच र अनुभवप्रति गम्भीर रहनुहोस् । कहिलेकाँही आफ्ना सहकर्मीहरूलाई समूह र तिनीहरूको नजरमा आफ्नो छवि कस्तो छ भनेर सोध्नुपदर्छ । उनीहरूको प्रतिक्रिया सुनेर आफ्नो व्यवहारलाई त्यही अनुरूप परिवर्तन पनि गर्न सकिन्छ ।

५ .) आफ्नो पर्फमेन्सबारे सिनियरलाई बताउने
तपाईंले निकै राम्रो काम गर्नुभएको छ भने आफ्नो पूरै समूहलाई यसबारे थाहा दिनुहोस् । अरूले तपार्इंले गरेका राम्रा कामको बारेमा कुरा गर्छन्, सबैका सामु यसलाई स्वीकार्छन् भने यसले तपाईंको मूल्याङ्कनमा धेरै ठूलो प्रभाव पार्दछ । सुपरभाइजरलाई तपार्इंको योगदानबारे केही अत्तोपत्तो छैन भने तपाईंले कहिल्यै पनि राम्रो मूल्याङ्कन पाउनुहुँदैन । त्यसैले आफूले गरेको काम र त्यसको नतीजाबारे आफूभन्दा वरिष्ठहरूलाई बताउने बानी गर्नुपर्दछ ।

६.) समूहमा मिलेर बस्ने
कार्यालयमा सबैसँग घुलमिल हुने अरूलाई परेको बेलामा मद्दत गर्ने बानीले पनि हाकिमका नजरमा तपाईंको राम्रो छवि बन्दछ । विशेषतः, वरिष्ठ व्यवस्थापकहरू सम्मिलत समूहमा काम गर्ने र त्यो समूहले गरेको काममा स्वेच्छाले सघाउने बानीले पनि मूल्याङ्कन बढाउन मद्दत गर्दछ । अन्य सहकर्मीको काममा चासो देखाउने, तिनीहरूलाई परेको बेलामा मद्दत गर्ने र नेतृत्वक्षमता पुष्टि गर्ने बानी पनि मूल्याङ्कन बढाउन उपायोगी हुन्छ ।

७.) राम्रो प्रदर्शन गर्ने सहकर्मीसँग सङ्गत गर्ने
मानिसहरू एक्लैभन्दा समूहमा रहँदा बढी आकर्षक देखिन्छन् । त्यसैले कार्यालयमा धुुम्धुम्ती बस्नुभन्दा सहकर्मीहरूसँग बस्नु वेश हुन्छ । यसो भन्दैमा समूहमा बसेर गफ गर्ने, हल्ला गर्ने जस्ता कार्य भने हानिकारक हुन्छन् । कार्यालयमा बढी सक्रिय रहने, आफ्नो कामलाई निष्ठापूर्वक गर्ने खालका सहकर्मीहरूसँग मिलेर साझा प्रोजेक्ट गर्नुपर्दछ । व्यक्तिगत समय खर्चेर कार्यालयमा एक अर्कासँग सामाजिक सम्बन्ध बनाउँदा आफूले पनि अर्को व्यक्तिबाट सिक्ने मौका प्राप्त हुन्छ । कामै नगर्ने वा काममा अल्छी गर्ने र ठग्ने सहकर्मीहरूहरूसँग बढी समय बिताउँदा भने हाकिमहरूले तपाईंलाई पनि त्यस्तै सोच्दछन् र तपार्इंको मूल्याङ्कन सोही स्तरमा हुने जोखीम धेरै हुन्छ ।

८.) आइडिया शेयर गर्ने
कुनै पनि परियोजनाबारे आफ्नो मनमा लागेका आइडियाबारे समूहका साथीलाई बताउने र उनीहरूसँग कुरा गर्ने गर्नुहोस् । यस्तो बानीले तपाईंको छवि प्रोफेशनल बनाउन मद्दत गर्नेछ र हाकिममा पनि यसले राम्रो पर्फम गर्ने रहेछ भन्ने धारणाको निर्माण हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij