२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

विशेष अदालतबाट शर्माको फाइल झिकाउन सर्वोच्चको आदेश

विशेष अदालतबाट शर्माको फाइल झिकाउन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको भ्रष्टाचार मुद्दाको फाइल झिकाउन आदेश दिएको छ । शर्माको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलाशले यस्तो आदेश दिएको हो ।

शर्माको मुद्दा हेर्न सर्वोच्चका न्यायाधीशहरू दीपकराज जोशी, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको पूर्ण इजलाश गठन भएको थियो ।

यसअघि गत बुधबार सर्वोच्चले शर्माविरूद्ध विशेष अदालतमा दायर भएको मुद्दा तत्काललार्इ अगाडि नबढाउन आदेश दिएको थियो । शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र चोलेन्द्रशमशेर जबराको इजलाशले उक्त आदेश दिएको थियो ।

इजलाशले शर्माको बन्दी प्रत्यक्षीकरण मुद्दालार्इ पूर्ण इजलाशमा पठाउने निर्णय पनि गरेको थियो । कर फर्छ्योट आयोग प्रशासनिक वा अर्धन्यायिक कस्तो निकाय हो भन्ने जटिल कानुनी प्रश्न उठेकाले उक्त मुद्दालार्इ पूर्ण इजलाशमा पठाउनुपरेको आदेशमा उल्लेख छ ।

शर्माविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ । अख्तियारले शर्मासहित तीन जनाविरुद्ध १० अर्बभन्दा बढी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको हो ।

विशेष अदालतमा शर्मासँगै कर फछ्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड १९ लाख ८२४ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ । यो मुद्दा अहिलेसम्मकै ठूलो भ्रष्टाचार मुद्दा हो ।

अख्तियारले शर्मालाई गत जेठ १९ मा नियन्त्रणमा लिएको थियो । उनी हिरासतमा छन् भने महत र ढकाल फरार छन् । शर्मालार्इ हाललार्इ अख्तियारकै हिरासतमा राख्न पनि अदालतले अदेश दिएको छ ।
शर्मालार्इ गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् । रिटमा शर्मासँग अमानवीय ढंगबाट धरौटी रकम माग गरिएको भन्दै अख्तियारलाई कर फरछ्र्योट आयोगले गरेको कामकारबाहीप्रति अनुसंधान गर्ने अधिकार नभएको उल्लेख छ ।

रिटमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, विशेष अदालत र अनुसन्धान अधिकृत राजन अधिकारीलाई विपक्षी बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij