२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

उपत्यका ज्यानमारा भ्वाङ पुरिन थाले

उपत्यका ज्यानमारा भ्वाङ पुरिन थाले

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सडक बिस्तारका क्रममा परेका खाल्डाखुल्डी र जताततैका भ्वाङ पुर्न सुरु गरिएको छ । सडक बिस्तारका क्रममा खनिएका खल्डा पुर्न वेवास्ता गरेका कारण दुइ जनाले ज्यान गुमाएपछि बल्ल तातेका सरोकारवाला निकायले भ्वाङ पुर्ने कार्य तिव्र बनाइएको जनाएकाछन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र खाल्डाखुल्डी पुर्न कडा निर्देशन दिएसँगै पुर्न सुरु गरिएको हो । प्रधानमन्त्री देउवाको निर्देशनपछि खाल्डाखुल्डी पुर्ने कामको समन्वय गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र गठन भएको छ । मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिच्छ्याएर खाल्डाखुल्डी नै छाडेको थियो । मनसुनको समय भएकाले थप ठाउँमा पाइपलाइनको कार्य गर्दा सर्वसाधारण तथा सवारीसाधनको आवागमनमा असर पर्ने भन्दै बाँकी क्षेत्रमा सडक खन्नका लागि बन्द गरिएको छ ।

विभिन्न प्रयोजनका लागि खनिएका सडकमा परेको प्वाल त्यत्तिकै छाड्दा त्यसमा पसेर एक बालिकाको मृत्युको घटनालाई लिएर प्रधानमन्त्री देउवाले गत १ साउनमा सारोकारवालालाई १५ दिनभित्रै खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए । निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले उपत्यकामा खनिएका सडकका कारण दुर्घटना भइरहेकोप्रति निर्देशनालय गम्भीर भएको बताए ।

उनले प्रधानमन्त्री देउवाले उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी हटाउन निर्देशन दिएपछि पुर्ने काम भइरहेको बताए । उनले निर्देशनालयले पाइपलाइन बिच्छ्याउने क्रममा खनिएका सडकलाई दुरुस्त बनाउने प्रयास केन्द्रित गरेको प्रस्ट पारे ।
निर्देशनालयले थोक वितरण प्रणालीका लागि ६० दशमलव ६ किलोमिटर पाइपलाइन बिच्छ्याउनुपर्नेमा हालसम्म पानी पोखरीहरूसम्म पानी प्रवाहका लागि महŒवपूर्ण ५१ दशमलव ५ किलोमिटरको काम सम्पन्न गरेको छ ।
त्यसैगरी वितरण सञ्जाल सुधारका लागि ६ सय ७० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा हालसम्म ६ सय १० किलोमिटर पाइपलाइन बिच्छ्याइएको छ । उपत्यकामा पानी वितरण गर्न पानी भण्डारणका लागि महांकाल चौर, पानीपोखरी, बाँसबारी, टिग्नी, बालाजु र खुमलटारका पानीपोखरीको काम सकिएको छ ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि निर्देशनालयका आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले काठमाडौंका विभिन्न स्थानमा निरीक्षण गरी बिग्रिएका सडकलाई तुरुन्तै मर्मत गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छन् । बत्तीसपुतली, रातोपुल, चाबहिल, चुच्चेपाटी, कपन क्षेत्रमा बिग्रिएका सडकको मर्मत सुरु गरिएको छ । यी सडकलाई आगामी १० दिनभित्र सम्पन्न गर्ने गरी काम भइरहेको प्रवक्ता ढकालले जानकारी दिए ।

कुल ७ सय ३० किलोमिटर वितरण सञ्जालमध्ये २ सय ३० किलोमिटर सडकमा र ५ सय किलोमिटर पाइप पैदलमार्ग (फुटपाथ) मा बिच्छ्याइएको निर्देशनालयले जनाएको छ । २ सय ३० किलोमिटरमध्ये पनि मूल सडकमा २६ किलोमिटर मात्र पाइप बिच्छ्याइएको प्रवक्ता ढकालले जानकारी दिए । यसमध्ये २४ किलोमिटरमा अस्थायी कालोपत्रे ‘प्राइम कोट’ गरी सकिएको छ । चाबहिल र महाराजगन्ज क्षेत्रका केही भागमा दुई किलोमिटर सडकमा ‘प्राइम कोट’ गर्न बाँकी छ । यसैगरी चाबहिल, चुुच्चेपाटी क्षेत्रमा वर्षात्को पानी जम्न नदिन जम्मा भएको माटो फाल्ने काम सुरु गरिएको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको कार्य दु्रत गतिमा सम्पन्न गर्न सडक खन्नुपर्ने बाध्यता रहेको जनाउँदै निर्देशनालयले सडक खन्दा सेवा प्रदायकसँग समन्वय गरी काम अघि बढाइएको बताएको छ । सडक खन्ने क्रममा धुलो र हिलोको समस्या कम गर्न आयोजनाको वातावरण व्यवस्थापन योजनाअनुसारका काम गरिँदै आएको पनि निर्देशनालयको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij