
काठमाडौँ । आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्ने क्रममा सर्वोच्च अदालतले विशेष अदालतलाई मुद्दा यथास्थितिमा राख्न आदेश दिएको छ।
अख्तियारले दर्ता गरेको भ्रष्टाचारको मुद्दालाई सर्वोच्चले यथास्थितिमा राख्न आदेश दिएको हो।
गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाई भने पूर्ण इजलासले गर्ने भएको छ।
कर फर्छ्यौट आयोग अर्ध न्यायिक निकाय भएकोले संवैधानिक प्रश्न उठेको भन्दै सुनुवाई पूर्ण इजलासले गर्नुपर्ने आदेश आज न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले यस्तो आदेश दिएको हो।
इजलासमा गम्भीर कानुनी र संवैधानिक प्रश्न उठाइएको हुनाले यो मुद्दाको किनारा पूर्ण इजलासबाट लगाउने, विशेष अदालतमा विचाराधीन मुद्दालाई सर्वोच्चबाट किनारा नलगाउँदासम्म यथास्थितिमा राख्न आज आदेश भएको सर्वोच्चका प्रवक्ता महेन्द्र उपाध्यायले बताए।
शर्माकी श्रीमती कल्पना उप्रेती शर्माले गएको मंगलबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। सर्वोच्चले भोलिपल्ट बुधबार त्यसमा कारण देखाउ आदेश जारी गर्दै शुक्रबार शर्मालाई अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो।
त्यसै अनुसार शुक्रबारदेखि हिजो मंगलबारसम्म न्यायाधीश चोलेन्द्रशम्शेर जबरा र प्रकाशमान सिंह राउतको इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij