
काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीका एआईजी, डिआईजी र एसएसपी पदमा भएको बढुवा सिफारिसमा कुनै जालझेल नभएको भन्दै संगठनको हितमा भएको बताएका छन् ।
आइतबार ५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा अयोजित कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री शर्माले भने, “बढुवा गर्दा कतिपय व्यक्ति विशेष मर्कामा परेका छन्, त्यो कुरा मलाई थाहा छ । तर जालझेल भने भएको हैन ।” प्रहरीलाई संस्थागत रुपमा बढुवाले न्याय गरेको उल्लेख गर्दै उनले थपे, “कुनै व्यक्तिलाई अन्याय परेको होला, नियतवश अन्याय गरेको छैन । समस्या र परिस्थितले सवै व्यक्ति सीमित कोटामा पर्न सकेनन् ।”
रोकिएको बढुवा खुल्दा संस्थाको हितमा भएको उनले बताए । शर्माले भने, “कसैलाई मर्का परेको होला, फेरि पनि सम्वोधन गरौंला, त्यो विषयमा छलफल हुन्छ ।”
धेरै जवान र अधिकृतबाट गराइरहेको काम एउटा प्रविधिले गर्न सक्ने अवस्था आएको उल्लेख गर्दै उनले संगठनको स्वरुप बदल्नुपर्ने आवश्यकता रहेको बताए । मन्त्री शर्माले भने, “आज हामीलाई प्रविधियुक्त स्मार्ट पुलिसिङ आवश्यकता छ । तत्कालै हामीलाई प्रविधियुक्त प्रहरी बनाउनु पर्ने छ ।”
अझै पनि कतिपय स्थानमा पुलिस भनेपछि भाग्नुपर्ने अवस्था रहेको भन्दै उनले जनताको प्रत्यक्ष पहुँचमा पुग्नका लागि प्रविधि सहयोगी हुने बताए । प्रहरीका संगठनका लागि आवश्यक केही थप ऐन कानुन चाहिएको उल्लेख गर्दै उनले राष्ट्रिय सुरक्षाको सन्दर्भमा नयाँ ढंगले परिभाषित र परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij