२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

मुग्लिन सडकमा सवारीको चाप घट्यो, राति बन्द हुँदा सहज

मुग्लिन सडकमा सवारीको चाप घट्यो, राति बन्द हुँदा सहज

चितवन । दिउसो बन्द गर्दा नारायणगढ–मुग्लिन सडकमा यत्रतत्र सवारी रोकिन्थे । प्रहरीलाई यातायात व्यवस्थापन गर्न हम्मे हम्मे हुन्थ्यो । सवारीको चाप पनि अत्यधिक हुन्थ्यो । सवारी छुट्ने बेला अपरान्ह ४ बजे गाडीको तँछाड मछाडले दुर्घटनाको भय थियो ।

त्यसरी गाडी उछिन्दा जाम भएर बाटै बन्द भएको अनुभव छ जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तलाई । चार बजे खुलेको गाडी विभिन्न कारणले यातायात सहज हुन घण्टौं कठिनाई भएका उदाहरणहरु पनि छन् । तर अहिले दृष्य फरक भएको छ । पोखराबाट आउने गाडीलाई तनहुँको आँबु खैरेनीमा रोकिएको छ ।

काठमाडौँबाट आउनेलाई कुरिनटार र मुग्लिनमा रोकिएको छ भने चितवनबाट जानेलाई दासढुंगा र जुगेडी आसपास रोकिएको छ । अहिले सवारीको चाप आधा कम भएकाले पनि गाडी सञ्चालनमा सहज भएको ट्राफिक प्रमुख पन्त बताउँछन् ।

उनले भने, “एकदिन अध्ययन गरेको काठमाडौं तिर बाट आउने गाडी जम्मा ८०० हाराहारी रोकिएका रहेछन् भने यताबाट आउने गाडीहरु ६०० रोकिएका थिए, दैनिक १० हजार बढी गाडी चल्ने यो ठाउँमा यो त सामान्य हो ।”
पहिरोको उच्च जोखिम बढेपछि महत्वपूर्ण मार्ग नारायणगढ मुग्लिन सडकखण्ड यही असार २५ देखि रात्रीसमयमा बन्द गरिएको छ । व्यवस्थापिका–संसद विकास समितिको निर्देशनपछि उक्त सडकमा राति गाडी चलाउन बन्द गरिएको हो ।
राति पहिरो खसेको नदेखिने भएकाले यस्तो गरिएको भन्दै चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अहिले निक्कै सहज भएको बताए ।

असारको ९ गते राती पहिरोले यहाँ ४ प्रहरीलाई बगाएपछि संसदको समेत ध्यानाकर्षण भएको थियो विकास समितिको स्थलगत अनुगमनपछि आएको निर्देशन अनुसार चितवन प्रशासनले रातिमा गाडी रोक्ने र दिउँसोमा चलाउने निर्णय गरेको हो । २५ र २६ गते राती दुई दिन गाडी बन्द हुँदा दिउँसोमा यात्रा गर्न यात्रुहरुलाई समस्या भएको छैन ।

गएराति पनि कालिखोला लगायत क्षेत्रमा विभिन्न ठाउँमा पहिरो खस्यो । राति गाडी चलेको भए यात्रुहरु रातभरबीच सडकमै अलपत्र हुन्थ्ये । तर समयमै र निश्चित ठाउँमा रोकेकाले पहिरो हटाएर विहान ६ बजे सजिलै सवारी पठाउन पाईएको चितवनका प्रजिअ भट्ट बताउँछन् ।

चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार रातिमा बस, माईक्रो तथा साना सवारीसाधनलाई चितवनको दासढुंगा क्षेत्रमा साँझ रोकिएको छ ।

ती सवारीहरुलाई साँझ ६ बजे रोकेर विहान ४ बजे छाडिन्छ । पोखराबाट आउने बस र साना सवारीहरुलाई तनहुँको आँबुखैरेनीमा तथा काठमाडांैबाट आउनेलाई मुग्लिन बजारमा रोक्ने गरिन्छ । ती गाडीलाई साँझ ७ बजे रोकेर विहान ५ बजे छाडिन्छ ।

चितवन हुँदै जाने ट्रकहरुलाई जुगेडी चौकीमा साँझ ६ बजे रोकेर विहान ४ बजे छाडिने गरिएको छ । पोखबाबाट आउने ट्रकहरुलाई साँझ ७ बजे तनहुँको आँबुखैरेनीमा र काठमाडौबाट आउने ट्रकहरुलाई लेवाटारमा रोकी विहान ५ बजे छाडिने गरिएको चितवनका प्रहरी उपरीक्षक दिपक थापाले बताउँछन् ।

यो बीचमा प्रहरीको र्यापिड रेस्पोन्स टिमले पनि रातभर काम गर्ने गरेको उनले बताए । टिमले पहिरो खसे नखसेको हेर्ने तथा अबस्था बुझ्ने काम गर्छ ।

यो समयमा बैकल्पिक सडक प्रयोग गरेर जानसम्ने सडकलाई जानका लागि अपिल गरिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका ईन्जिनियर शिव खनाल पहिले भन्दा गाडी कम भएको र रातिमा गाडी बन्द गर्दा यातायात पनि सहज भएको प्रतिक्रिया दिन्छन् । उनले अहिलेसम्म रातिमा काम गर्न नपाएको भन्दै समय मिलेमा र अबस्था अनुकुल भएमा भने काम भने जारी राख्ने बताए ।

प्रहरी निरीक्षक सन्तोष पन्त करिब आधा सवारी घटेको बताउँछन् । चितवनमा प्रमुख जिल्ला अधिकारी नारायण भट्टलाई पहिले भन्दा अहिले निक्कै सहज भएको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij