
चितवन । पहिरोग्रस्त नारायणगढ–मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ। उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट नदीमा खसेका छन्। तीमध्ये एकको शव फेला परेको छ भने एक बेपत्ता छन्। एकको सकुशल उद्धार गरिएको छ। साँघुरो सडकमा गाडी जाम भएका बेला व्यक्तिले सावधानी नअपनाउँदा यस्तो घटना भएको प्रहरीको भनाइ छ।
‘एकतिर भीर र पहिरो छ, अर्कोतर्फ त्रिशूली नदी । पैदल हिँड्नु पनि खतरनाक हुन्छ भन्ने सोच नराखेर यात्रु आफ्नै सुरले दौडिँदा तीन दिन लगातार एकएकजना मान्छे सडकबाट चिप्लेर नदीमा खसेका छन्’, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले भने। पहिरो गएका बेलामा र सडकमा गाडी जाम भएका समयमा हिँड्डुल गर्दा पनि निकै सावधानी अपनाउन उनले आग्रह गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त विवरणअनुसार आइतबार बिहान पौने छ बजे पृथ्वी राजमार्गमा पर्ने इच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिन नजिकबाट नवलपरासी देवचुलीका ४५ वर्षीय रञ्जन चापागाईं सडकबाट चिप्लिएर त्रिशूली नदी किनारमा पुगेका थिए। प्रहरी निरीक्षक हमालका अनुसार उनी लगभग ८० मिटर तल खसे पनि ठूलो चोट लागेन। प्रहरीले उनलाई साढे आठ बजेतिर उद्धार गरेको थियो।
‘गाडीको जाम थियो। लु१ख ९८८१ नम्बरको जन्ती बोकेको गाडीमा बसेका चापागाईं जाम पर्यो भनेर बसबाट झरेर सडक किनारमा उभिएका रहेछन्। जहाँबाट चिप्लँदा तलै नदीमा पुगे,’ प्रहरी निरीक्षक हमालले भने। डोरीले तानेर उनको उद्धार गरिएको थियो। उनी भाग्यवश बाँचेको चितवन प्रहरीको भनाइ छ।
अघिल्लो दिन शनिबार नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना वडा नं. ६ खहरे खोला नजिकबाट त्रिशूली नदीमा खसेका एकजनाको अवस्था अज्ञात छ। सर्लाही मदनपुर–६ का २१ वर्षीय भिखारी चौधरी शनिबार मध्याह्न पौने १२ बजे सडकबाट चिप्लेर नदीमा खसेका हुन्। शुक्रबारदेखि नै पहिरो गएर सडक अवरुद्ध थियो। उनी आँखुखैरहनीबाट हिँड्दै आएका थिए।
‘प्रत्क्षयदर्शीका अनुसार उनी मोबाइल फोनले भिडियो खिच्दै हिँडेका थिए, साँघुरो बाटोमा भेउ नपाएर चिप्लिए। तत्कालै खोजी सुरु गरिएको हो तर अझसम्म केही पत्ता लागेको छैन,’ मुग्लिनका प्रहरी निरीक्षक हमालले भने। सडकबाट सय मिटर तल उनी त्रिशूली नदीमा पुगेर बगेको प्रहरीको अनुमान छ। त्यसअघि शुक्रबार सडकबाट चिप्लेका एकजनाको शव नै फेला परेको थियो।
पहिरो गइरहने ठाउँ कालीखोलामा सडकबाट तल खस्दा इच्छाकामना गाउपालिका वडा नं. ६ का ६१ वर्षीय एकबहादुर मगरको ज्यानै गएको थियो। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो हेर्न हिँडेका एकबहादुर पहिरोभन्दा वरै सडकबाट खसेका हुन्। उनी खसेको ठाउँभन्दा ५० मिटर पर पहिरो गएको थियो।
‘पहिरोमा परेर वा ढुंगाले लागेर खसेको हैन भन्ने कुरा प्रत्यक्षदर्शीले जनाएका छन्। पहिरो हेर्न भन्दै हिँडेका व्यक्ति पहिरोभन्दा वरैबाट खसेका हुन्। उनको घटनास्थलमै निधन भएको होे,’ प्रहरी निरीक्षक हमालले जानकारी दिए। नारायणगढ–मुग्लिन सडक आयोजनाले पनि उनको निधनमा पहिरो कारण नभएको जनाएको छ।
नारायणगढ–मुग्लिन सडकलाई एसियाली मापदण्डअनुसार दुई लेन बनाउन सडक विस्तारको काम भइरहेको छ। सडक फराकिलो पार्न ठाउँ–ठाउँमा पहाड काटिएको छ। पहाड काटेको ठाउँमा सुक्खायामका साथै वर्षा लागेपछि पटकपटक पहिरो आएर दुःख दिने गरेको छ। दिनमा १० हजारसम्म गाडी ओहोरदोहोर गर्ने सडकमा पहिरो आउँदा पुरिएर अहिलेसम्म पाँचजनाको ज्यान गएको छ। एकजना बेपत्ता छन्।
पहिरोमै नपरे पनि पैदलयात्रु थप चनाखो हुनुपर्ने तीन दिनयताका घटनाले प्रस्टिएको छ। नारायणगढ–मुग्लिन सडक खण्डमा २९ ठाउँमा पहिरोको जोखिम छ। ‘यो ठाउँ जोखिमयुक्त छ भन्ने ख्याल राखेर जोगिन सकिन्छ। आफ्नै धुनमा हिँडे ज्यान खतरामा पर्न सक्छ। हामीले यात्रुलाई सकेसम्म सम्झाउने बुझाउने गरेका छौं। यस्ता कुरा त मान्छे आफैं देखेर पनि थाहा पाउनुपर्ने हो,’ प्रहरी निरीक्षक हमालले भने।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij