खानीको गुणस्तर ः
कुन ठाउँको खानीबाट उत्खनन गरिन्छ भन्ने कुराले पनि खानीको वस्तुको गुणस्तर निर्धारण गर्छ । कास्कीको तुलनामा तनहुँको खनिजबाट निकालिएको खरिढुंगा बढी गुणस्तरीय रहेको पायएको छ । यद्यपि नेपालमा हामीले विदेशको जस्तो उच्च गुणस्तरीय वस्तु नेपालमा हामीले निकाल्न सकिएकाे छैन ।
गाेकर्ण कार्की
उपाध्यक्ष (उद्याेग)
पाेखरा उद्याेग वाणिज्य संघ
खानी उद्योगको निम्ति दक्ष जनशक्ति ः
नेपालमा खानी उद्योगमा मेसिनहरु चलाउने सक्षम अपरेटर तथा मेकानिक्सहरु अहिले सम्म उपलब्ध छैनन् । अहिले सम्म काम सिकेर नै चलाउने व्यवस्था हुँदै आएको छ । तर यसको निम्ति स्पेसल कोर्ष भने सञ्चालन हुन सकेको छैन । काम सिकेर मेसिन चलाउन अन्य कामदारलाई सिकाउने प्रचलन बढी छ ।
बजार ः नेपाल देखि विदेश सम्म
अहिले नेपालमा उपलब्ध खानीजन्य उत्पादनको बजार नेपाल नै रहँदै आएको छ । यद्यपि राम्रो गुणस्तरमा वस्तु उत्पादन गर्न सक्ने हो भने हामीले हाम्रो उत्पादनलाई विदेशमा पनि निर्यात गर्न सकिन्छ ।
महँगो, चुनौतीपूर्ण र नीतिकाे अभाव ः
नेपालमा उत्पाखित खानीजन्य वस्तुको माग अहिले विश्वबजारमा राम्रो रहेपनि नेपालमा लागत बढी परेको र राज्यको नीति भएपनि सोही बमोजिम नबनिसकेको कारण वैधानिक रुपमा खानी उद्योग सञ्चालन गर्ने कार्य भने निकै नै चुनौतीपूर्ण छ । तुलनात्मक रुपमा खानिजन्य वस्तु निकाल्ने क्रममा नेपालको लागत विश्वबजारमा महँगो पनि छ ।
स्थानीयहरुको दबाबले काम प्रभावित हुने अवस्था ः
खानी तथा भूगर्भ विभागमा स्वीकृति लिएर खानी उद्योग सञ्चालन गरेपश्चात् पनि खानी उद्योग सञ्चालनको कार्य निकै नै चुनौचीपूर्ण छ । स्थानीय संघसंस्था र व्यक्तिहरुबाट दिइने सास्ती पनि ठूलै समस्याको रुपमा रहन्छ । आवश्यक जग्गा अधिग्रहण गर्ने व्यवस्था नभएको हुनाले उद्योग सञ्चालन गर्नु फलामको चिउरा चपाउनु जस्तै कठिन छ ।
नेपाली खानी उद्योग प्रविधिमुखी बन्दै ः
अहिले सम्म आइपुग्दा नेपालमा खानी उद्योगहरुले प्रविधि, बाटो, दक्ष जनशक्ति लगायतका न्यूनतम पूर्वाधारमा सुधार गरिसकेका छन् । यसकारण अहिले नेपाली उद्योगहरुको क्षमता अभिवृद्धि भएको छ । निकै ठूलो क्षमतामा खनिज वस्तु निकाल्न सकिने अवस्था अहिले छ ।
खानी उत्खननको समय ः
सामान्यतया बर्षायाममा खानी उत्खनन गर्न मिल्दैन । बर्षामा खानी खन्ने हो भने पहिरो जाने सम्भावना बढी हुन्छ । यद्यपि बर्षायाम छल्ने गरी उद्योगहरुले तयार गरेपनि नेपाल सरकारकोे खानी तथा भूगर्भ विभागले समयमा स्वीकृति दिन नसक्दा चाहेको समयमा खानी उत्खनन गर्न सकिने अवस्था नरहन सक्छ ।
जनशक्तिको समस्या बढ्दै ः
विगतको तुलनामा अहिले जनशक्ति समस्याको रुपमा देखिएको छ । पहिले कामदारले खानीबाट कच्चा पदार्थ खनेर गाडी गुड्ने बाटो सम्म ल्याउने कामदार पाउन गाह्रो नभएपनि अहिले भने खानीबाट खनेर चाल्ने सम्मको कामको निम्ति पनि कामदार पाउन मुस्किल हुँदै गएको छ ।
कामदारको स्तर ः
खानीमा काम गर्नको निम्ति माथिल्लो तह सम्म अध्ययन गरेका व्यक्तिहरुको आवश्यकता पर्दैन । खानी उद्योगमा सामान्य लेखपढ गर्न सक्ने कामदारको नै बढी आवश्यकता पर्ने क्षेत्र भएको तर नेपालमा पछिल्ला बर्षहरुमा साधारण मानिसहरु पनि कामको निम्ति विदेश जाने प्रचलन बढेसँगै कामदारको समस्या बढ्दै गएको हो । विगतमा पोखराको निकट क्षेत्रका खानी उद्योगमा काम गर्नको निम्ति धादिङ, दाङ, रुकुम, रोल्पा, प्युठान, उदयपुर लगायतका क्षेत्रका कामदारहरु आउँथे । तर अहिले अति न्यून छ । यद्यपि कामदारको आवश्यकता विगतको तुलनामा आधुनिक प्रविधिको उपयोग सँगै घटेको छ । विगतमा ५०-६० जना कामदारले गर्ने काम अहिले मेसिनबाट गर्दा २०-२५ जनाले सजिलै गर्न सकिन्छ । यद्यपि राम्रो खानी भेटिएमा एउटै उद्योगबाट ४०-५० जनालाई रोजगारी दिन सकिने अवस्था रहन्छ ।
नेपालमा पनि राम्रो कमाई छ ः
नेपालमा पनि हामीले आफ्नै देशमा जुन क्षेत्रमा काम गरिरहेका छौं । तुलनात्मक रुपमा विदेशमा हामीले राम्रो कमाई यहीँ गर्न सकिन्छ । त्यही सोचले काम गनहुने देखेपनि नेपालमा पनि विदेशको भन्दा कम कमाइ हुने जस्तो मलाई लाग्दैन । विदेशमा राम्रो कमाउन सकिन्छ भन्ने भ्रममा हामी भएको कारण हामीमा विदेश जाने रहर बढी छ ।
दक्ष कामदारको अभाव ः
नेपालमा उचित पारिश्रमिक कति भन्ने सम्बन्धमा पनि अहिले द्विविधा छ । नेपालमा उद्योगमा उत्पादन र कच्चा पदार्थको लागत र मुनाफामा जान सकिने अवस्था नभइ उद्योगमा कामदारलाई राम्रो पारिश्रमिक दिन सकिने अवस्था पनि हुँदैन । हामीले विदेशमा हेर्ने हो भने त्यहाँ कामदारले निकै गाह्रोसँग मेसिनको गतिमा काम गरेका हुन्छन् । तर नेपालमा भने यसरी काम गर्नको निम्ति हामीसँग स्रोतसाधन र बजारको अभाव छ । हाम्रो देशमा भएको जनसङ्ख्यालाई हेरेर नै हामीले सामान उत्पादन गरेका हुन्छौं । यसको अलावा नेपालमा उत्पादनको तुलनामा विदेशबाट आउने वस्तुले पनि हामीलाई असर परेको छ ।
हामीले स्थानीय वस्तुको प्रयोगको निम्ति अहिले सम्म राज्यले पहल गरेको समेत पाएका छैनौं । स्थानीय स्तरका उद्योगहरु फस्टाउनको निम्ति राज्यले नेपालमा भएका वस्तु प्रयोगको निम्ति प्रोत्साहन गर्ने र आयातितलाई उच्च भन्सार दर लगाउने व्यवस्था गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । खानीजन्य वस्तुहरु पनि अहिले करिब ९० प्रतिशत विदेशबाट नै आइरहेको हुनाले नेपाली वस्तुको वजार निकै सानो छ । त्यसमा पनि आन्तरिक प्रतिष्पर्धा हुने भएको कारण बजार पनि समस्याको रुपमा रहेको छ ।
खानीमा सुरक्षा ः
सामान्यतयाः खरिढुंगालाई औषधीको रुपमा समेत प्रयोग गरिने भएको कारण स्वास्थ्यमा पार्ने असर कम छ । यद्यपि सुरक्षाको निम्ति आवश्यक सबै वस्तुहरुको प्रयोग गरेर नै हामीले कामदारलाई काममा लगाएका हुन्छौं । यद्यपि कतिपय कामदारहरुले भने मास्क, हेल्मेट, पन्जा लगायतका वस्तुहरु प्रयोगको निम्ति अप्ठ्यारो हुने कारण बिनाप्रयोग काम गर्नेहरु पनि नेपालम धेरै छन् । यद्यपि हामीले मानवीय स्वास्थ्यमा खेलवाड गर्नुहुँदैन ।
खानी भेटिएको ठाउँमा उत्खनन सहज हुनुपर्ने ः
कुनै ठाउँमा खानी भेटिएमा राज्यले सबैभन्दा पहिले त्यस क्षेत्रलाई खानी क्षेत्र घोषणा गरी त्यहाँको जग्गा अधिकरण गरी त्यहाँको उक्त खानीलाई परिचालन गर्न सक्ने व्यक्ति वा संस्था छनौट गरी खानी उद्योग सञ्चालन गर्नु जरुरी रहन्छ ।
यसरी पत्ता लगाइन्छ खानी भएकाे क्षेत्र ः
नेपालमा अहिले सम्म जति खानीहरु छन्, ती
खानीहरु अधिकांश खोज्ने क्रममा राज्यको सक्रियता छैन । मुस्ताङमा अभ्रख खानी भेटिएको छ । अहिले जति खानीहरु पहिचान भएका छन्, ती सबै खानीहरू अनुमानको आधारमा नै खोजी गर्नुपर्ने हुन्छ । खरी डाँडा भनेको सुनेपश्चात् बुढापाकाहरुलाई भेटेर त्यसको बारेमा केही कुरा बुझेपश्चात् प्राविधिकलाई पुर्याएर सम्भावित देखिएमा खानी विभागलाई वस्तुस्थिति अध्ययनको निम्ति आग्रह गरेर प्रक्रिया अघी बढाइन्छ । तर अहिले सम्म राज्यले खानीको अध्ययन गर्ने बारे कुनै प्रक्रियामा पनि सक्रिय भूमीका निर्वाह गरेको छैन ।
खानी पत्ता लागे पश्चात् उत्खनन् प्रक्रिया अघी बढाउनु पनि चुनाैतीपूर्ण ः
हामीले खानी पहिचान गरी राज्यबाट खन्नको निम्ति अनुमति लिने समय सम्म दर्ता नभएको जग्गा पनि जसोतसो व्यक्तिको नाममा दर्ता गर्ने र हामीलाई दुःख दिने अवस्था छ । यसले गर्दा कतिपय अवस्थामा हामीले खानी उद्योग पहिचान गरेर पनि पछि सञ्चालन गर्न नसकिने अवस्था छ ।राजनीतिक दलबाट समेत समस्या भोग्नुपर्ने अवस्था छ । सम्बन्धित गाविस अध्यक्षलाई भेट्दा समेत अन्य दलले दलविशेषलाई भेटेको भन्दै काम अघी बढाउन नसक्ने अवस्था खानी उद्याेग सञ्चालनकाे क्रममा भाेग्नुपर्ने हुन्छ ।
राज्यको स्पष्ट नीतिको अभाव र राजनीतिक दलको स्पष्ट भिजनको अभावमा यो अवस्था आएको हो ।
यसको अलावा नेपालमा ट्रेडिङको तुलनामा उद्योग क्षेत्र सञ्चालन गर्न अत्यन्तै गाह्रो छ । उद्योगको संरक्षणको निम्ति नेपालमा कृषि क्षेत्र पनि सँगसँगै अघी बढाउनु जरुरी छ । सबैभन्दा महत्वपूर्ण क्षेत्र उद्योग नै भएको कुरालाई पनि राज्यले विशेष ध्यान दिनुपर्छ । आफैं उत्पादन गर्ने हो भने मात्र हामी आत्मनिर्भर हुन सक्छौं । राज्यले यो कुरा पनि बुझ्नु जरुरी छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij