२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

ज्ञानेन्द्रले मौका समाउन सकेनन् : प्रचण्ड

ज्ञानेन्द्रले मौका समाउन सकेनन् : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रले ठूलो अवसर गुमाएको जिकिर गरेका छन् ।

उजिर मगरको ‘अंश’ नामक पुस्तक विमोचन कार्यक्रममा १२ बुँदे सम्झौताको प्रशंग कोट्याउँदै सो कुरा बताएका हुन् ।

कार्यक्रममा पूर्व प्रधामन्त्री समेत रहेका प्रचण्डले भने, ‘शान्तिप्रक्रियामा आउन अघि हामी पूर्व राजा ज्ञानेन्द्रसँगै वार्ता गर्न चाहन्थ्यौँ । तर, यहाँका राजनीतिक दलहरुले त्यो खालको वातावरण बनाउन सकेनन् ।’

विद्रोही नेताको रुपमा सिधै मालिकसँग वार्ता गर्ने भन्ने विज्ञप्ति समेत आफूहरुले निकालेको उनले स्मरण गराए ।

‘तर असली राजा र नाटकीय रुपमा आएका राजाबीच बुझाईमा फरक हुने रहेन । ज्ञानेन्द्रले त्यो मौका समाउन सकेनन्,’ प्रचण्डले भने ।

त्यसपछि रोल्पामा एमालेले र माओवादीबीच छलफल भएपछि भारतको नयाँ दिल्लीमा १२ बुँदे सम्झौता गर्ने कुरा तय भएको उनले बताए ।

‘राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले शान्तिप्रक्रियामा जानुपर्ने बाध्यता थियो । हामी नेपालमै सम्झौता होस् भन्ने चाहन्थ्यौँ । तर, यहाँ परिस्थित नभएपछि अन्य राजनीतिक दलहरुले दिल्लीमा नै सम्झौता गरौँ भनेपछि त्यहाँ १२ बुँदे सम्झौता भएको थियो,’ प्रचण्डको भनाई थियो ।

जनयुद्ध नेतृत्वको मनोगत चाहना थिएन
‘प्रचण्ड’ले नेपालमा जनयुद्ध कुनै नेताको मनोगत चाहनाले मात्रै नभएको पनि बताए । प्रचण्डले नेपालमा जनयुद्ध समाजको आर्थिक, राजनीतिक, सामाजिक अवस्थितिका कारण सम्भव भएको बताएका हुन् ।

प्रचण्डले भने, ‘नेपालमा जनयुद्ध प्रचण्ड, बाबुराम वा अरु कुनै नेताको मनोगत चाहनाले भएको थिएन । हामीले त २०४४ सालमै जनयुद्ध गर्न चाहेका थियौं, हतियार किनेर गोरखामा तालिम पनि लिएका थियौं । तर, देशको राजनीतिले अर्कै मोड लियो । पञ्चायतका विरुद्धमा सडकमा जनलहर उर्लेर आयो, त्यस्तो परिस्थितिमा हामीले जनुयद्ध गरेको भए जनआन्दोलनका विरुद्धमा पञ्चायतलाई सघाएको सन्देश जान सक्थ्यो । त्यसैले हामी संयुक्त जनआन्दोलन समिति बनाएर २०४६ सालको जनआन्दोलनमा भाग लियौं र युद्धको परिस्थिति केही वर्ष पछि धकेलियो ।’

नेपालको गणतन्त्र र लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको ठूलो भूमिका रहेको चर्चा गर्दै प्रचण्डले भने, ‘नेपालको लोकतान्त्रिक आन्दोलन र गणतन्त्रको स्थापनामा पत्रकारहरुको महत्वपूर्ण भूमिका छ । सञ्चार जगतले सकारात्मक भूमिका नखेलेको भए लोकतन्त्र र गणतन्त्र स्थापना नै चुनौतिपूर्ण हुन्थ्यो ।’ उजिर मगरद्वारा लिखित पुस्तक अंश नेपाली राजनीति र पत्रकारिताको बिवरणात्मक दस्तावेज भएको प्रचण्डले बताए ।

 

बिमोचन कार्यक्रममा सम्पादकहरु नारायण वाग्ले, गुणराज लुईटेल, युवराज घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट, नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापा, पत्रकार गोविन्द आचार्य लगायतले कृतिको समीक्षा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij