२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

  • २०८३ मंसिर ८ सोमबार

२०८३ मंसिर ८ सोमबार

बलियो पश्चिमी वायुले रोक्यो मनसुन, साँझ पानी पर्ने

बलियो पश्चिमी वायुले रोक्यो मनसुन, साँझ पानी पर्ने

काठमाडौं । पश्चिमी वायुले बंगालको खाडीबाट आएको मनसुनी वायुलाई रोकेपछि असार पहिलो साता सकिन लाग्दा पनि देशभर वर्षा सुरु भएको छैन।

यो वर्षको मनसुन जुन १२ गते पूर्वी भाग हुँदै नेपाल प्रवेश गरेको थियो। तर कमजोर मनसुनी वायु देशको पश्चिम भागमा फैलिन नपाएको र पश्चिमी वायुको प्रभाव कायमै रहेकाले वर्षा सुरु नभएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

‘एकातिर मनसुनी वायु कमजोर आयो, अर्कातिर पश्चिमी वायु बलियो भएर बाटो छेकेर बस्यो,’ पौडेलले भने, ‘अहिले पूर्वी क्षेत्रमा मनसुनी वायुको प्रभाव बढिरहेको छ। पूर्वी र मध्य क्षेमा आज साँझ र भोलि पानी पर्ने सम्भावना छ।’

उनले पश्चिमी क्षेत्रमा पनि पश्चिमी वायु र स्थानीय प्रणालीका कारण आजै पानी पर्ने सम्भावना रहेको बताए। पौडेलले त्यसपछि पनि मनसुनी वायु सक्रिय हुन्छ कि हुन्न भने अझै टुंगो नभएको बताए।

‘दुई/तीन दिन देशैभरि पानी पर्ने देखिन्छ’, पौडेलले भने, ‘पानी परेसँगै उपत्यकासहित देशभरि गर्मी कम हुन्छ।’

जुन पहिलो साता ३२ डिग्री पुगेको काठमाडौंको तापक्रम हिजो आइतबार ३१.८ डिग्री पुगेको थियो।

सन् १९८९ अप्रिलमा काठमाडौं उपत्यकाको तापक्रम ३६.६ डिग्री पुगेको थियो। यो काठमाडौंमा अहिलेसम्म मापन भएको सर्वाधिक बढी तापक्रम हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij