पोखरा, चैत्र २९ — होटल व्यवसायी महासंघ नेपालको १३औं वार्षिक साधारणसभा तथा ५औं महाधिवेशन गण्डकी प्रदेशको पर्यटकीय नगरी पोखरामा भव्य रूपमा सम्पन्न भएको छ। देशभरबाट आएका करिब एक हजार होटल व्यवसायीहरूको सहभागितामा सम्पन्न महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै ‘पोखरा घोषणापत्र २०८२’ सार्वजनिक गरेको छ।
महाधिवेशनबाट टि.आर. भण्डारी (शंकर) को अध्यक्षतामा २४ पदाधिकारीसहित ४७ सदस्यीय केन्द्रीय कार्य समिति निर्विरोध निर्वाचित भएको छ। वरिष्ठ उपाध्यक्षमा सन्तोष उप्रेती, संगठन उपाध्यक्षमा वीरसाजन ढकाल, प्रशासन उपाध्यक्षमा ज्ञान बहादुर गजमेर, पर्यटन उपाध्यक्षमा कर्ण बहादुर बम, उद्योग/मेला महोत्सव उपाध्यक्षमा भाइकन्द्र श्रेष्ठ तथा महिला उपाध्यक्षमा सुमिना पन्त पौडेल चयन भएका छन्।
त्यसैगरी उपाध्यक्षहरूमा मोदनाथ बेलबासे, धनदेवी चौलागाईं, जनकबहादुर सिंह, खिल कुमार सुवेदी र शैलेन्द्र कार्की निर्वाचित भएका छन्। महासचिवमा राजेश पन्त/क्षेत्री र उप–महासचिवमा मित्र प्रसाद ढकाल चयन भएका छन्।

महाधिवेशनले नेपालको होटल तथा पर्यटन क्षेत्रको दिगो विकासका लागि ‘पोखरा घोषणापत्र २०८२’ जारी गर्दै विभिन्न नीतिगत प्रतिबद्धताहरू सार्वजनिक गरेको छ। घोषणापत्रमा होटल व्यवसायलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा स्थापित गर्ने, पर्यटन क्षेत्रलाई प्राथमिक उद्योग घोषणा गर्न पहल गर्ने तथा निजी क्षेत्रको लगानी सुरक्षाका लागि व्यवसायमैत्री नीति, कर तथा कानुनी सुधारको माग गरिएको छ।
त्यसैगरी सहुलियतपूर्ण कर्जा र बैंकिङ पहुँच विस्तार, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन, नयाँ पर्यटन गन्तव्यको खोजी तथा विकास, र एडभेन्चर, वेलनेस, स्पिरिचुअल तथा कन्फरेन्स पर्यटनलाई प्रवर्द्धन गर्ने लक्ष्य लिइएको छ।

घोषणापत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण उपयोग गरी अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने, डिजिटल प्रविधिमार्फत व्यवसाय आधुनिकीकरण गर्ने, साना तथा मझौला होटल व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने तथा महिला र युवाको उद्यमशीलता प्रवर्द्धन गर्ने विषयलाई पनि प्राथमिकता दिइएको छ।
साथै वातावरण संरक्षण, सरसफाइ, रक्तदान, स्थानीय उत्पादन प्रवर्द्धन, बीमा तथा विपद् व्यवस्थापन प्रणाली विकास लगायतका सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
महासंघले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि तीनै तहका सरकारसँग समन्वय गरी स्पष्ट कार्ययोजना, व्यवसायमैत्री कर प्रणाली तथा सहज नीतिको कार्यान्वयन गर्न आग्रह गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij