२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

बीमा सर्भेयर संघकाे अध्यक्षमा ऋषि काेइराला निर्विराेध

बीमा सर्भेयर संघकाे अध्यक्षमा ऋषि काेइराला निर्विराेध

  • आइतबार, चैत्र २९ २०८२

काठमाडाैं । नेपाल बीमा सर्भेयर संघ (NISA) को १७औं वार्षिक साधारण सभा मिति २०८२ चैत २८ गते भव्य रूपमा सम्पन्न भएको छ।

उक्त सभाले आगामी दुई वर्षका लागि ई. ऋषि कोइरालाको अध्यक्षतामा १०औं नयाँ कार्यकारी समिति निर्विरोध निर्वाचित गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक श्री सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रको समग्र विकासमा सर्भेयरहरूको भूमिका अपरिहार्य रहेको चर्चा गर्दै उनीहरूको योगदानको प्रशंसा गर्नुभयो।

विशेष अतिथिको आसनबाट बोल्दै नेपाल बीमक संघका अध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्री वीरेन्द्र बहादुर बैदवारले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्नुभयो। उहाँले सर्भेयरहरूद्वारा तयार पारिने प्रतिवेदनमा एकरूपता ल्याउन र यस क्षेत्रलाई थप व्यवस्थित बनाउन NISA को भूमिका महत्त्वपूर्ण हुने कुरामा जोड दिनुभयो।

त्यस्तै, वरिष्ठ सर्भेयरहरू श्री सूर्यप्रसाद जोशी र श्री शिवचन शाखले नयाँ टोलीलाई शुभकामना दिँदै सर्भेक्षणको क्षेत्रमा रहेका विसंगति र बेथितिहरू विरुद्ध लड्न नयाँ कार्यसमिति सफल हुने विश्वास व्यक्त गर्नुभयो। सभामा निवर्तमान अध्यक्ष श्री मोहन पुरुष ढकालले आफ्नो कार्यकालमा हासिल भएका प्रमुख उपलब्धि र माइलस्टोनहरू प्रस्तुत गर्नुभएको थियो।

साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्षमा ई. ऋषि कोइराला (नेपाल भ्यालुअर्स एशोसिएशनका पूर्व अध्यक्ष), उपाध्यक्षमा सीए. भानु कँडेल (अडिटिङ स्ट्याण्डर्ड्स बोर्ड नेपालका पूर्व अध्यक्ष), महासचिवमा ई. नवीन भट्ट, सचिवमा ई. लोचन केन्द्र देवकोटा र कोषाध्यक्षमा ई. खेमराज भट्ट चयन हुनुभएको छ। यसैगरी कार्यकारी सदस्यहरूमा ई. राजेश घिमिरे, ई. सुवास तिवारी, ई. अनुप शर्मा र ई. सुशान्त लिम्बू निर्वाचित हुनुभएको छ। दुई वर्षको कार्यकाल रहेको यो १०औं कार्यसमितिले बीमा सर्भेयरहरूको हकहित र व्यावसायिक दक्षता वृद्धिका लागि कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij