आजको मानिस पहिलेभन्दा धेरै व्यस्त छ, धेरै जानकार छ, प्रविधिले भरिपूर्ण छ—तर paradoxically, पहिलेभन्दा नै बढी तनावग्रस्त, असन्तुष्ट र दिशाहीन देखिन्छ। हामीसँग लक्ष्य छन्, योजना छन्, सुविधा छन्, तर मनमा शान्ति छैन। बाहिर सबै कुरा “ठीक” देखिए पनि भित्र कतै केही अधुरो छ भन्ने अनुभूति धेरैको साझा यथार्थ बनेको छ।
यो प्रश्न आज गम्भीर रूपमा उठ्न आवश्यक छ—के समस्या हाम्रो जीवनशैलीमा छ, कि हाम्रो चेतनामा ?
के हामी सही दिशामा दौडिरहेका छौं, कि केवल दौडिरहेका छौं ?
समस्या बाहिर होइन, भित्र छ
धेरै मानिस आफ्नो दुःखको कारण परिस्थिति, अर्थतन्त्र, राजनीति, सम्बन्ध वा समयलाई ठान्छन्। तर गहिरिएर हेर्दा बुझिन्छ—समस्या बाहिर होइन, हामीले सोच्ने तरिकामा छ। एउटै परिस्थिति कसैका लागि अवसर हुन्छ भने कसैका लागि पीडा। त्यसको कारण परिस्थिति होइन, मनको अवस्था
हो।
मानव जीवन दुई तहबाट सञ्चालित हुन्छ—चेतन मन (conscious mind) र अवचेतन मन (subconscious mind)। हामीले दिनभर सोच्ने, योजना बनाउने चेतन मन हो। तर हाम्रो निर्णय, डर, बानी, आत्मविश्वास र प्रतिक्रियाहरूको ८०–९० प्रतिशत हिस्सा अवचेतन मनबाट आउँछ। जबसम्म अवचेतन मन बुझिँदैन र व्यवस्थापन हुँदैन, तबसम्म जीवन व्यवस्थापन असम्भव हुन्छ।
आज धेरै मानिस तनावमा छन्, किनकि उनीहरू बाह्य जीवन मिलाउन खोजिरहेका छन्, तर आन्तरिक संसार अस्तव्यस्त छ। मन असन्तुलित हुँदा जीवन सन्तुलित हुन सक्दैन।
अवचेतन मन: जीवन चलाउने अदृश्य शक्ति
अवचेतन मन अदृश्य भए पनि अत्यन्त शक्तिशाली छ। यो बाल्यकालका अनुभव, परिवार, समाज, शिक्षा, धार्मिक मान्यता र भावनात्मक घटनाबाट बनेको हुन्छ। “म सक्दिन”, “म योग्य छैन”, “मलाई डर लाग्छ”, “म असफल हुन्छु”—यी सबै वाक्य चेतन मनको सोच जस्तो देखिए पनि जरा अवचेतन मनमै हुन्छ।
धेरै मानिस क्षमता भएर पनि अगाडि बढ्न सक्दैनन्। अवसर देखेर पनि डराउँछन्। बोल्न जान्दछन्, तर मौन बस्छन्। यी सबै सीमित विश्वास (limiting beliefs) का परिणाम हुन्। जब अवचेतन मन डरले भरिएको हुन्छ, तब अवसर पनि खतरा जस्तो देखिन्छ।
त्यसैले वास्तविक परिवर्तन प्रेरणादायी भाषणले होइन, अवचेतन रूपान्तरणले सम्भव हुन्छ।
लक्ष्य होइन, जीवनको उद्देश्य चाहिन्छ
आज हामी goal-oriented society मा बाँचिरहेका छौं। लक्ष्य बनाऊ, लक्ष्य पछ्याऊ, लक्ष्य पूरा गर। तर एउटा गहिरो सत्य के हो भने—लक्ष्य पूरा भएर पनि धेरै मानिस खाली महसुस गर्छन्। किन?
किनकि लक्ष्य साधन हो, उद्देश्य होइन। लक्ष्य बाह्य हुन्छ, उद्देश्य आन्तरिक। उद्देश्य नबुझी तय गरिएको लक्ष्य केवल दौड हो—जहाँ थकान छ, तर अर्थ छैन।
जीवनको उद्देश्य भनेको “म किन बाँचिरहेको छु?” भन्ने प्रश्नको उत्तर हो। उद्देश्य बुझेपछि निर्णय सजिलो हुन्छ, दिशा स्पष्ट हुन्छ, र जीवनमा स्थिरता आउँछ। त्यसैले goal setting भन्दा पनि vision-based living आवश्यक छ।
दृष्टि (vision) बिना लक्ष्य अन्धो हुन्छ। तर दृष्टि भएको मानिसले लक्ष्य नहुँदा पनि बाटो भेट्छ।
कृतज्ञता, क्षमा, प्रेम र आनन्द: चेतनाको विज्ञान
कृतज्ञता, क्षमा, प्रेम र आनन्दलाई हामी प्रायः भावनात्मक वा नैतिक विषय ठान्छौं। तर वास्तवमा यी सबै चेतनाका अवस्था (states of consciousness) हुन्।
कृतज्ञता केवल धन्यवाद दिनु होइन; यो चेतनाको उच्च आवृत्ति हो। कृतज्ञ मानिसको मन तनावमा कम जान्छ। क्षमा कमजोरी होइन; यो आत्ममुक्तिको प्रक्रिया हो। क्षमा नगर्दा हामी अरूलाई होइन, आफूलाई बाँधिरहेका हुन्छौं।
प्रेम भावना मात्र होइन, ऊर्जा हो—जसले सम्बन्ध, स्वास्थ्य र निर्णयलाई प्रभावित गर्छ। आनन्द कुनै उपलब्धिको परिणाम होइन; यो मनको प्राकृतिक अवस्था हो। हामीले गलत विश्वासका कारण आनन्दलाई भविष्यमा सारिदिएका छौं।
यी सबै अभ्यासले मानसिक स्वास्थ्य, सम्बन्ध र जीवनको गुणस्तरमा गहिरो प्रभाव पार्छन्—यो अध्यात्म मात्र होइन, विज्ञानले पनि प्रमाणित गरिसकेको तथ्य हो।
माइन्डफुलनेस: जीवन र व्यवसाय दुवैका लागि
माइन्डफुलनेस ध्यानको सीमित अभ्यास होइन। यो जीवन जिउने तरिका हो। माइन्डफुल व्यक्ति वर्तमानमा बाँच्दछ, प्रतिक्रियाभन्दा अघि चेतनामा रहन्छ।
आज नेतृत्व, उद्यमशीलता र व्यवसायमा माइन्डफुलनेस अत्यन्त आवश्यक छ। असचेत अर्थात् विगतका प्याटर्नबाट प्रभावित निर्णयले तत्कालकाे समस्या हल गरेर अल्पकालिन लाभ त दिन सक्छ, तर दीर्घकालीन क्षति निम्त्याउने पनि हुन सक्छ। सचेत नेतृत्वले मात्र दिगो सफलता, नैतिकता र विश्वास निर्माण गर्न सक्छ।
जीवन होस् वा व्यवसाय—जहाँ चेतना हुन्छ, त्यहाँ स्पष्टता हुन्छ
समाधानको बाटो: रूपान्तरण भित्रबाट सुरु हुन्छ
रूपान्तरण बाहिरबाट होइन, भित्रबाट सुरु हुन्छ। सोच बदलियो भने भावना बदलिन्छ, भावना बदलियो भने व्यवहार बदलिन्छ, व्यवहार बदलियो भने जीवन बदलिन्छ।
Visualization, NLP, ध्यान, कृतज्ञताको अभ्यास—यी सबै साना देखिने तर गहिरो प्रभाव पार्ने उपकरण हुन्। दिनको केही मिनेट मौन बस्ने अभ्यास, सोचमाथि सजगता, र आफ्नो उद्देश्य सम्झने बानीले जीवनको दिशा परिवर्तन गर्न सक्छ।
ठूलो परिवर्तन सधैं सानो चेतनाबाट सुरु हुन्छ।
निष्कर्ष: नयाँ चेतनाको आह्वान
जीवन समस्या समाधानको यात्रा मात्र होइन; यो चेतनाको विस्तार पनि हुनुपर्थ्याे । यसका लागि हामीले संसार बदल्नुअघि आफूभित्र फर्केर हेर्न जरुरी छ। बाहिर खोजिरहेको शान्ति, भित्रै पर्खिरहेको हुन सक्छ।
आजको युगमा सबैभन्दा ठूलो क्रान्ति बाह्य होइन, आन्तरिक चेतनाको क्रान्ति हो।
मन बदल्न सक्नेले जीवन मात्र होइन—समाज, व्यवसाय र भविष्य बदल्न सक्छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij