– कमल पन्थी
मानवीय स्वास्थ्यको लागि सिसा अर्थात् लेड निकै हानिकारक हुने गर्दछ । यसले मूलतः बौद्धिक विकासमा असर पार्ने गर्दछ । नेपालमा यसको उत्पादन हुँदैन, तथापि विभिन्न सामाग्रीहरु आयात गर्ने क्रममा यो नेपालमा समेत प्रवेश गरिरहेको छ । खासगरी पेन्ट अर्थात् घर सजाउनको लागि प्रयोग गरिने रङहरुमा सिसाको मात्रा उच्च रहने गरेको छ । यसले मूलतः बालबालिकाको मष्तिष्कमा ठूलो असर पार्ने गरेको विभिन्न अध्ययनहरुबाट देखिने गरेको छ ।

लेड रङहरुको अलावा बालबालिकाका खेलौना, ब्याट्री, ब्युटी प्रडक्ट, प्याकेजिङ बट्टा, औद्योगिक र मेडिकल रसायनहरुमा समेत लेड भेटिने गरेको छ । यसरी विभिन्न वस्तु एवं अवस्थामा रहेको लेड श्वास लिने क्रममा हाम्रो शरीरमा हावाको कणसँगै नाकमुखबाट भित्र प्रवेश गर्दछ । जब लेड हाम्रो शरीरमा प्रवेश गर्दछ, यो हाम्रो शरीरबाट कहिल्यै नष्ट हुँदैन र हामीलाई असर गरि नै रहन्छ ।
नेपाली बजारमा पेन्ट्स उत्पादन गर्ने केही कम्पनीहरुले ‘नो लेड’ लेखेर समेत आफ्ना उत्पादनहरुको विज्ञापन तथा बजारीकरण गर्दै आएका छन् । तथापि ती उत्पादनहरुमा समेत ९० पिपिएम भन्दा बढी लेड भेटिएको थियो
लेडको मापदण्ड
नेपाल सरकारले तोकेको लेडको सिमा अर्थात् मापदण्ड भनेको ९० पिपिएम हो । सन् २०१० को समयमा लेड सम्बन्धी अध्ययन गर्दा नेपाली रङहरुमा लेडको मात्रा अत्याधिक बढी भेटिएको थियो । ‘सेन्टर फर पब्लिक हेल्थ एण्ड इन्भाइरोन्मेन्ट्स’ले गरेको उक्त अध्ययनमा लेडको उच्चतम स्थिति ७३९६६.४ पिपिएम सम्म भेटिएको थियो । त्यसबेलाको अध्ययनमा नमुनाको रुपमा २४ ओटा रङहरु छनौट गरिएको थियो । त्यस समयको अध्ययनबाट विचार गर्दा लेडको औसत मात्रा ६५७४.७१ पिपिएम रहेको पाइएको थियो । सन् २०२१ मा पाइपुग्दा पुनः गरिएको परीक्षणबाट लेडको प्रयोग रङहरुमा घट्दै गएको देखिएको छ । यस अध्ययनले २१ ओटा आयातित एरोसोल स्प्रे नमुना मध्ये १४ ओटा नमुनामा मापदण्ड पूरा भएको र अन्यमा समेत लेडको मात्रा तुुलनात्मक रुपमा घट्दै गएको पाइएको थियो । यसरी हेर्दा नेपालका रङहरुमा लेडको मात्रा क्रमिक रुपमा घट्दो क्रममा अर्थात् सुधारात्मक रहेको अर्थमा बुझ्न सकिन्छ ।

नेपालमा लेडको अध्ययन कार्यमा संलग्न संस्थाहरु
नेपालमा लेड अर्थात् सिसाको प्रभाव सम्बन्धमा लामो समय देखि अध्ययनमा निरन्तर क्रियाशिल रहँदै आएको एक संस्था हो जनसङ्ख्या तथा वातावरण प्रवद्र्धन केन्द्र नेपाल (सेफेड) । यस संस्थाले घरको सुन्दरताको लागि प्रयोग हुने गरेका पेन्ट्स (रङ)हरुमा लेडको मात्रा सम्बन्धमा अध्ययन गर्दै आएको छ । यस संस्थाले सन् २०२१ मा गरेको एउटा अध्ययनबाट नेपालमा लेडको मात्रा सिमा भन्दा निकै उच्च रहेको पाइएको थियो । नेपाली बजारमा पेन्ट्स उत्पादन गर्ने केही कम्पनीहरुले ‘नो लेड’ लेखेर समेत आफ्ना उत्पादनहरुको विज्ञापन तथा बजारीकरण गर्दै आएका छन् । तथापि ती उत्पादनहरुमा समेत ९० पिपिएम भन्दा बढी लेड भेटिएको थियो । जुन लुम्बिनी प्रदेश अन्तरगत बुटबल, बर्दघाट लगायतका क्षेत्रमा गरेको अध्ययनमा आधारित रहेको सेफेडले जानकारी गराएको थियो ।
वातावरणमा लेड कसरी फैलिन्छ ?
वातावरणमा लेड फैलनुका केही कारणहरु छन्, जुन निम्नानुसार छन्।
–व्यवस्थित तवरले लेडयुक्त फोहोरको विसर्जन हुन नसक्नु ।
–घरको भित्तामा लगाइएको रङ र लेडयुक्त खेलौनासँगको प्रत्यक्ष सम्पर्क ।
सौन्दर्यमा भन्दा बढी सचेत स्वास्थ्यमा रहनु जरुरी
मानिसको लागि सुन्दरता अर्थात् आकर्षण एउटा पक्ष हो । यसले हामीलाई बाह्य रुपमा प्रभावित पार्दछ । जबकि स्वास्थ्य अर्को पक्ष हो, जसले हामीलाई भित्री रुपमा नै असर पार्दछ । स्वास्थ्यको महत्व दीर्घकालिन समेत हुने गर्दछ । यसकारण सौन्दर्यताको नाममा स्वास्थ्य माथि खेलवाड नगरौं । जब हामी स्वस्थ अवस्थामा रहन्छौं, तब हामीले अन्य बाह्य कुराहरुबाट समेत लाभ लिन सक्छौं । यद्यपि हाम्रो स्वास्थ्य नै ठीक रहन सकेन भने बाह्य सौन्दर्यताले मात्रै हाम्रा कुनै पनि आवश्यकताहरु परिपुर्ति हुन सक्दैनन् । हामीले आफ्नो व्यक्तिगत, पारिवारिक एवं राज्यका दायित्वहरु तब मात्र पूरा गर्न सक्छौं, आनन्ददायक एवं सन्तुलित जीवन तब मात्र जिउन सक्छौं, जब हामी स्वस्थ रहन्छौं । यसकारण हामी सबैजनाले आफ्नो स्वास्थ्यलाई समेत विशेष महत्व दिनु जरुरी रहन्छ ।
लेडको प्रयोगलाई कसरी घटाउन सकिन्छ ?
– लेडयुक्त वस्तुहरु नेपालमा आयात गर्ने कम्पनीलाई सचेत गराउन विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गर्ने ।
– सम्बन्धित कम्पनीका उपभोग्य उत्पादनहरु मापदण्ड बमोजिम भए–नभएको बारे निरन्तर बजार अनुगमन गर्ने ।
– नियमित रुपमा सचेतनामूलक कार्यक्रम, तालिम, सेमिनार आयोजना गर्ने ।
– औपचारिक शैक्षिक कार्यक्रममा सिसा (लेड)को असर सम्बन्धमा अध्ययन-अध्यापन गराउने गरी पाठ्यक्रममा त्यस्ता विषयवस्तुहरु समावेश गर्ने ।
– मापदण्ड विपरीत लेड भेटिएको खण्डमा सम्बन्धित उत्पादक कम्पनीलाई प्रारम्भिक चरणमा सचेत गराउने वा साधारण जरिवाना गर्ने । गल्ति दोहोरिएको खण्डमा इजाजत खारेज, जघन्य अपराध र जेल सम्बन्धका कानुनी व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने-गराउने ।
–लेडसँग सम्बन्धित वस्तुहरु आयात गर्ने क्रममा सिमाना र भन्सार बिन्दुमा नै कडा निगरानी गरी आयातमा कडाई गर्ने ।
– लेडयुक्त वस्तुहरुको विसर्जन व्यवस्थित तवरले गर्ने ।
– बालबालिकालाई सुन्दरता भन्दा स्वास्थ्य धेरै महत्वपूर्ण हुन्छ भन्ने बारे सानै उमेर देखि सचेतनामूलक ज्ञान उपलब्ध गराउने ।
– हरेक पक्षले आफ्नो दायित्व बोध गरी सोहीबमोजिम काम गर्ने । उत्तरदायित्व वहन गर्ने ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij