२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

निन्यूखर्क मा.वि., हाडहाडेमा पूर्वविद्यार्थी मञ्च गठन

निन्यूखर्क मा.वि., हाडहाडेमा पूर्वविद्यार्थी मञ्च गठन

अध्यक्षमा कमला वि.क, वरिष्ठ उपाध्यक्षमा कमल पन्थी

  • शनिबार, असोज २६ २०८१

धुर्कोट । विजयादशमी पर्व २०८१ को विशेष अवसर पारेर गुल्मी जिल्ला धुर्कोट–३, हाडहाडेमा अवस्थित रहेको श्री निन्यूखर्क माध्यमिक विद्यालयमा पूर्वविद्यार्थी मञ्च गठन गरिएको छ ।

शुक्रबार विद्यालय भवनमा आयोजना गरिएको पूर्वविद्यार्थीहरुको विशेष भेलाले विजयादशमीको शुभकामना आदानप्रदानसँगै मञ्चको नयाँ समिति गठन गरेको हो ।

वि.सं २०१६ मा स्थापना भएको र हाल कक्षा १२ सम्म अध्ययन अध्यापन हुँदै आएको यस विद्यालयमा पहिलोपटक पूर्वविद्यार्थी मञ्च स्थापना गरिएको हो । नवगठित पूर्वविद्यार्थी मञ्चको अध्यक्षमा कमला विक रहेकी छन् भने वरिष्ठ उपाध्यक्षको भूमिकामा कमल पन्थी रहेका छन् ।

यसैगरी सचिवको भूमिका सरोज खत्रीलाई र कोषाध्यक्षको भूमिका प्रकाश काउछालाई प्रदान गरिएको छ । समितिको सल्लाहकार विभागमा पदम बिष्ट, नारायण पन्थी, निर बहादुर घम लगायतका व्यक्तिहरु रहनुभएको छ ।

पूर्वविद्यार्थी मञ्च गठनको अवसरमा श्री निन्यूखर्क माध्यमिक विद्यालयबाट विभिन्न समयमा अध्ययन गरी विभिन्न पेशा, व्यवसाय, उद्योग, सेवा एवं सामाजिक गतिविधिमा संलग्न रहेर विद्यालयको प्रगतिमा योगदान गर्दै आएका पूर्वविद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।

मञ्चको गठन वेल बहादुर पाण्डेको प्रमुख आतिथ्यता एवं तुल्सीराम काउछाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । उक्त कार्यक्रममा वडाअध्यक्ष पदम बहादुर बिष्ट, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर सुनार, वडा सचिव नारायण पन्थी, समाजसेवी गणेश कुँवर, विद्यालयका प्रधानाध्यापक कृष्ण बिष्ट लगायतका थुप्रै अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका वक्ताहरुले पहिलोपटक यस प्रकृतिको कार्यक्रम विद्यालयको अग्रसरतामा सम्पन्न हुनु निकै खुसीको विषय भएको र यो कार्यक्रमले पूर्वविद्यार्थीहरुलाई गोलबन्द गराई आफ्नो सामाजिक दायित्व सम्बन्धमा विशेष सचेत गराएको प्रति विद्यालय व्यवस्थापन पक्ष प्रति कृतज्ञता प्रकट गरे ।

नवगठित पूर्वविद्यार्थी मञ्चलाई विद्यालयको शैक्षिक गुणस्तर एवं विद्यार्थीहरुको क्षमता अभिवृद्धिको लागि विभिन्न गतिविधिहरु सञ्चालन गर्ने अभिभारा रहनेछ ।

ग्रामीण क्षेत्रको शैक्षिक गुणस्तरको गुणात्मक विकासको लागि विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने, पूर्वविद्यार्थीहरुलाई संगठित गर्दै लैजाने, सबै पूर्वविद्यार्थीहरुको तथ्यांक संकलन गर्ने, विद्यालयको हित एवं कमजोर जेहेन्दार विद्यार्थीहरुको लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्न तथा अध्ययनरत विद्यार्थीहरुलाई प्रतिष्पर्धी बनाउँदै लैजानको लागि प्रोत्साहन एवं पुरष्कार लगायतका कार्यक्रमहरु सञ्चालनार्थ श्रोत व्यवस्थापन एवं अक्षय कोष निर्माण गर्ने लगायतका उद्देश्यहरु पूर्व विद्यार्थी मञ्चका रहनेछन् ।

यसैगरी यस समितिले विभिन्न क्षेत्रमा कार्यरत पूर्वविद्यार्थीहरुको ज्ञान र अनुभव आदानप्रदान गर्नको लागि महत्वपूर्ण प्लेटफर्मको रुपमा काम गर्न सक्नेछ । जसअन्तरगत उद्यमशिलता विकास, वित्तीय साक्षरता, क्षमता अभिवृद्धि, आयआर्जनमूलक तालिमहरु सञ्चालन एवं विचार दृष्टिकोणमा सकारात्मक बदलाव ल्याउन सहयोग पुग्ने विभिन्न प्रकृतिका तालिमहरु समेत समेटिन सक्नेछन् ।

नवगठित मञ्चले विद्यालयको भौतिक पूर्वाधार, पठनपाठन, शैक्षिक गुणस्तर एवं क्षमता अभिवृद्धिको लागि विभिन्न तवरले कामहरु गर्नेछ । यसको लागि विद्यालयबाट अध्ययन गरी विभिन्न क्षेत्र–भूभागमा बसोबास गर्दै आउनुभएका पूर्वविद्यार्थीहरुलाई संगठित गर्नको लागि विभिन्न सम्पर्क समिति एवं उपसमितिहरु निर्माण गरी गतिविधिहरु सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij