काठमाडौँ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल आज (शुक्रबार) अमरिका जाँदै छ । प्रधानमन्त्री ओली ८ असोजमा अमेरिकाको न्युयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।
त्यस्तै, उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले ९ असोजमा दिने रात्रिभोजमा पनि सहभागी हुनेछन् भने १० असोजमा राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको समिट अफ द फ्युचर कार्यक्रममा पनि सम्बोधन गर्नेछन् । ७ कात्तिकमा उनले कोलम्बिया युनिभर्सिटी र ११ असोजमा हार्वर्ड विश्वविद्यालयमा पनि मन्तव्य दिनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्नेछन् ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साललगायत रहनेछन् । प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट १४ असोजमा स्वदेश फर्किनेछन् ।
असोज ५ मा युएनका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यतालिका छ भने न्युयोर्कमै विभिन्न मुलुकका सांसदहरूलाई ‘पेरिस सम्झौतासँग जोडिएर फाइनान्सिङ द फ्युचर’ मा सम्बोधन गर्नेछन् । असोज ६ मा नेपालको तर्फबाट समिट अफ द फ्युचरमा सम्बोधन गर्ने, द्विपक्षीय साइडलाइन भेटवार्ताहरू हुनेछन् ।
असोज ७ मा कोलम्बिया विश्वविद्यालयमा ‘प्रजातन्त्र र आर्थिक समृद्धिमा नेपालको यात्रा’ विषयमा सम्बोधन र द्विपक्षीय भेटवार्ता हुने बताइएको छ । त्यस्तै, असोज १० मा ७९औँ महासभाको उच्चस्तरीय सत्रमा सम्बोधन गर्ने कार्यतालिका छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij