हल जस्तो अँध्यारो कोठा, मधुरो बत्ती – जस्ले उज्यालो भन्दा बढी मादकता पस्किरहेको छ ! जाडोमा पनि हाइ वेष्ट पेन्ट र क्रप टिसर्ट, अँझ भनौ मेकअपले भरिपूर्ण भएका युवतीहरु आफ्ना गौरिशंकरहरु उन्मत्त पारेर रेस्टुरेन्टमा आउने पाहुनाहरुलाई स्वागत गर्न कस्सिरहेका छन् । एउटा अँध्यारो कुनामा म्युजिक सेट छ , जहाँबाट गीत घन्किन्छ र त्यही गीतको तालमा यूवतीहरु नाचिरहेका हुन्छन् । गीतमा आकर्षण छ थप आकषर्ण युवतीहरुको नाँचमा छ । यौवनले उन्मत्त तरुनीहरुको नाँचले त्यहाँ पुग्ने जोसुकैलाई रोमाञ्चित मात्र पारेको छैन, शरीर नै काँपेर आए झै अवस्था उत्पन्न गराइरहेको छ । नेपाली हिन्दी र अंग्रेजी गीतको डान्स नम्बरमा नाँचिरहेका तीनै युवा र यूवतीहरुको नाच हेर्न र मदिरामा मग्न धरै जसो ग्राहकहरु नै डान्स रेस्टुरेन्ट छिर्ने गर्दछन् ।
सामान्यतया डान्स रेस्टुरेन्ट अरु बार, पब, लाउन्जहरुको तुलनामा केहि समय ढिला सम्म खुल्ने गर्दछ जब ग्राहकहरु मादक पदार्थले मदहोस हुन थाल्छन् तब डान्स रेस्टुरेन्ट छिर्नको लागि मन तन्काइ हाल्छन् । मनोरञ्जनका लागि थोरै डान्स रेस्टुरेन्ट छिर्छन् भने धरै जसो भने आफ्नै नेपाली दिदी बहिनीहरु जो हात मुख जोर्नका लागि बाध्य बनेर इमान्दारिताका साथ डान्स रेस्टुरेन्टमा काम गरिरहेका छन् उनै माथि गिद्दे नजर लगाउन आतुर देखिन्छन् ।
डान्स रेस्टुरेन्टमा काम गर्ने यूवतीहरुलाई बदनाम बनाउने तपाईं हामीनै हो, अँझ भनौ यो पेशालाई तल्लो श्रेणीको पेशाको रुपमा दर्ज गराउने तपाईं हामी नेपालीनै हो । यदि हामी असल नागरिक भएर गरिदिने ब्यबहारमा परिबर्तन आयो भने सायद एक दिन यो पेशाको पनि त्यतिकै सम्मान र इज्जत हुन्थ्यो होला होइन हुन्छ नै ।
केहि दिन अघि मात्र हामी गंगबु बसपार्क नजिकै रहेको एउटा डान्स रेष्टुरेन्टम प्रवेश ग¥यौ । पार्टी र गेट टु गेदरको नाममा बहाना चाहिने हामी नेपालीलाई त्यो दिन गज्जबकै बहाना मिल्यो । हामी संगै पढेको साथीको कतारको भिषा लागेको थियो त्यतै नजिकै एरियामा बस्ने भएर पनि हुन सक्छ उसलाई डान्स रेस्टुरेन्ट जाने रस पसेको रहेछ । हामीलाई पनि उसले त्यहि लैजाने निर्णय गर्यो र हामी पनि उस्को पछि पछि त्यतै लाग्यौ ।
गंगबु बसपार्कको त्यहि डान्स रेस्टुरेन्टमा भेटिएकी सिन्धुपाल्चोककी निशा तामाङ्ग (नाम परिबर्तन ) को वेट्रेस काम रहेछ, उनी डान्सर अभाब भएको बेलामा आफुलाई नृत्यांगनाको रुपमा पनि पेश गर्दिरहिछिन । त्यो रात भने उनले वेट्रेसकै जिम्मा पाएकी रहिछिन् । अलि मात्तिएका ग्राहकहरु माथि कुनै पनि रेस्टुरेन्टमा काम गर्ने वेटर होस या वेट्रेसको नजर पर्नु स्वभाबिकनै हो । मादक पदार्थले मस्त ग्राहकहरुलाइ राम्रो सेवा दिने बित्तिकै उनीहरु खुसी भएर टिप्स वा बक्सिस दिन्छन् भन्ने ज्ञान उनीहरुसंग हुन्छ नै ।
हामी बसेको टेबलको छेउमै आएर बसेकी निशाले हामीलाई अंग्रेजीमै भनिन् How may i help you ? You are so drunk… !!! त्यसोत निशा डान्स रेस्टुरेन्टमा काम गर्ने अरु यूवतीहरु भन्दा फरक लागेर मैले उनि संग कुराकानी अघि बढाउने जमर्को गरे तर कुराकानी गर्न त्यति सहज भने थिएन, उनको आफ्नो जीवनका दुःख सुख र आरोह अबरोह सजिलै ओकल्न उनलाई म संग सहज हुने कुरै भएन । मेरो उनीसंग कुरा गर्ने चाहना देखेर उनले भनि हालिन् क्यान आइ ह्याब वाइन ? मैले भने यू क्यान , स्वीकृतिको सूचक चुहिन नपाउंदै उनले अर्डर गरि हालिन् ।
अब भने मैले निशा संग कुरा गर्ने आँट गरे, र भने तिमी पढेलेखेकी जस्तो लाग्यो त्यसैले मलाई तिमीसंग कुरा गर्न मन लाग्यो मैले सोधेको प्रश्नको उत्तर दिन्छौ ? दुइ सटमै वाइन सकेकी निशाले फेरी मलाई भनिन् वान मोर अनि भन्छु…. मैले हुन्छ भने ।
हातमा वाइनको ग्लास बोकेकी निशाले मलाई हेर्दै भनिन् तपाईं पत्रकार हो कि के हो ? किन यस्तो जिज्ञासा ?
मैले भने पत्रकार पनि डान्स रेस्टुरेन्ट आउँछन् त ? हामी त बेकार हो के !
उनले हाँस्दै भनिन….
राम्रै प्राइभेट कलेजमा स्नातक पढ्दै गरेकी छु डान्स रेस्टुरेन्टमा अंग्रेजी फुराउने केटी कमै हुन्छन् श्रीमानले अर्को श्रीमती बोकेर सुइकुच्चा ठोकेपछि यो काम गर्न बाध्य भए, खोइ थाहा छैन साले कता छ ? तर त्यो संग पोहिला जाने केटी मेरै साथी हो … नक्कली रहिछे अहिले प्रुभ गरी ।
पढाइ सक्ने अन्त कतै अफिसमा राम्रो जागिर खाने परिवार बनाउने फ्युचर प्लान गरेको थियो तर सबै चकनाचुर भयो होस, अब कमाको पैसा बुबा आमालाई नै पठाउछु उनीहरुत खुशी हुन्छन् । पढाइ सक्छु अनि बिचार गरौंला एक्लै त बाच्न सकिदैन फेरी त्यस्तै केटा पर्नु भन्दा बरु एक्लै ठीक .. ।
निशालाई सायद वाइन लागेछ कि के हो जस्तो लागेर मैले सोधेको थिए सायद आज वाइन नपिएको भए तिमीले यो सब नभन्ने रहेछौ है !
डान्स रेस्टुरेन्टमा आउने धरै नेपाली केटाहरु भन्दा तपाईं मलाइ एकदम जेनुयुअन लाग्यो खुलेर कुरा गर्नु भयो मलाइ दुइ ग्लास वाइन अफर गर्नु भो र प्रश्न मात्र चलाउनु भयो यहाँ हात चलाउनेहरु, छुने , चिमोट्ने अनि गाला नै मुर्सान खोज्नेहरु धरै आउँछन् तर मलाई मन पर्दैन ।
‘मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरु मनोरञ्जनका साधन हुन् र यिनीहरुलाई प्रयोग गर्नुपर्छ भन्ने मानसिकता बोकेर हिँडेपछि अनि त्यही सोचेर यँहा आउँदा कसरी व्यवस्थित हुन सक्छ यो पेशा भन्नुस त ?
कसैलाई पनि नभन्नुस है त भन्दै उनले मलाई पोल खोलिन् , ग्लास वाइनको हो तर त्यो भित्र कोक थियो, मैले कोक पिएकी हुँ , तपाईंलाइ वाइनको बिल आउँछ कमिसन मलाइ आउँछ यो डान्स बार हो ,बिल वाइनको आउछ तर म कोक पिउँछु नत्र पैसा कसरी कमाउने ? दुइ नम्बरी गरेर खानु छैन पैसा हुनेहरु जाँड खाएर मात्तिने हरु त आउने हो यँहा , मैले कोक खाएर, जुस खाएर उनीहरु रमाउदैनन्न रमाउछन् मैले वाइन पिउँदा म के गरु ।
मात्तिएको आँखाले देख्ने अरुको आँखा पनि मत्तिएकै देख्दा रहेछन् । हाँसो पनि लाग्छ रुन मन पनि लाग्छ यस्तै छ यँहा डान्स बारमा म पैसा यसरी कमाउछु अरुले जे सोचुन् मेरो मनमा पाप छैन तर तपाईंलाई चाहिँ यस्तो कहिले गर्दिन है अर्को पटक आउनु है त !
कोक नै पिउँला कोककै बिल, यहि है त हाम्रो डिल !!
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij