काठमाडौं । म्यानचेस्टर सिटीका ब्राजिलियन फरवार्ड गाब्रिएल जिसस इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार राति बोर्नमाउथसँगको खेलको क्रममा चोटग्रस्त भएका छन् । यही जनवरीमा सिटी आएका जिससले यसअघिका दुई खेलमा तीन गोल गरेका थिए ।
बोर्नमाउथसँगको खेल जिससको सिटीबाट तेस्रो खेल थियो । १९ वर्षका जिसस खेलको १४ औं मिनेटमा चोटग्रस्त भएर मैदान बाहिर गएका हुन् । सिटी आएदेखि नै प्रशिक्षक पेप गार्डिवला तथा समर्थकलाई प्रभावित पार्न सफल भएका जिसस बल नियन्त्रणमा लिने क्रममा चोटग्रस्त भएका हुन् । उनको गोलीगाँठोमा चोट लागेको छ ।
जिससलाई सिटीका समर्थकले नयाँ पेलेका रुपमा लिने गरेका छन् । उनको चोट गम्भीर नरहेको आशा छ । प्रशिक्षक गार्डिवलाले भने ‘आशा गरौं गम्भीर चोट छैन होला । के भएको थप परीक्षणपछि मात्रै थाहा हुनेछ ।’ मंगलबार थप परीक्षण गरेपछि जिससको चोटको अवस्थाका बारेमा जानकारी दिइने सिटीले जनाएको छ ।
जिससले लिगमा यसअघि भएको वेष्ट ह्याम र स्वान्सी सिटीसँगको खेलमा गोल गरेका थिए । जिसस चोटका कारण मैदान बाहिर गएपछि उनको ठाउँमा सर्जियो अग्युरो मैदान छिरेका थिए । यो खेलमा सिटी २–० ले विजयी भयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij