
काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान)का नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
गत साउन ३० गते सम्पन्न टानको ४४औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई निवर्तमान कार्यसमितिले होटल र्याडिशनमा आयोजित एक औपचारिक कार्यक्रम बीच नेतृत्व हस्तान्तरण गरेको हो ।
टानको निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले नवनिर्वाचित अध्यक्ष नीलहरी बास्तोलालाई कार्यालयको चाबी बुझाउँदै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष बास्तोलालाई कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै सुवेदीले टानले आगामी दिनमा गर्ने गतिविधिहरूमा आफ्नो निरन्तर सहभागिता रहने बताएका छन् ।
बास्तोला आफ्नो प्यानलसहित निर्वाचित भएका थिए ।
विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए ।
सोलुखुम्बु घर भएका बास्तोलाले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् । बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।
बास्तोलाको एसियन हेरिटेज गु्रप अन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटेल, कार्गो, हस्तकला निर्यात लगायत उद्योग व्यवसायमा लगानी बिस्तार गरेका छन् । उनले एसियन हेरिटेज फाउन्डेसन नेपाल मार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आएका छन् ।
पदभार ग्रहण गर्दै अध्यक्ष बास्तोलाले टानलाई नयाँ उचाइमा पु¥याउन आफू लागिपर्ने बताएका छन् । उनले टानभित्र रहेका समस्याहरूको समाधान गर्दै यसलाई पर्यटन व्यावसायीमैत्री बनाउने र पर्वतीय पर्यटनको विकासका लागि सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नवनिर्वाचित टान कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सह–कोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका थिए ।
कार्यसमिति सदस्यहरूमा महिला सदस्यमा सजना त्रिपाठी, खुल्ला सदस्यमा रामप्रसाद बञ्जारा, राजु अर्याल, गणेश बहादुर अधिकारी, कुमार लामा, नविनाथ देवकोटा, सुवास भण्डारी, लाक्पा दोर्जे शेर्पा र कृष्णबहादुर परियार निर्वाचित भएका थिए ।
पदभारकै क्रममा आयोजना गरिएको कार्यक्रममा सञ्चार क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।
सम्मानित हुने सञ्चारकर्मीहरुमा राष्ट्रिय आर्थिक मासिकका प्रकाशक पुस्कर बस्नेत, बिबिसि न्यूज सेन्टरका सम्पादक छिरिङ लामा, योहो टेलिभिजनका म्यानेजर शारदा थापा, नेपाल नेटवर्क टेलिभिजनका बिजनेश न्यूज को–अर्डिनेटर हरिशरण न्यौपाने, बिजपार्टी डट कमका सम्माददाता निरज कुमार थापा, पर्यटन बजारका कार्यकारी सम्पादक बिनय शिवाकोटीलगायत रहेका छन् ।
सम्मानित व्यक्तित्वलाई प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव र टानका अध्यक्ष खुमबहादुर सुवेदीले खादा र प्रमाणपत्र वितरण गरेका थिए ।
टानलाई माया गर्ने विभिन्न संघसंस्थाको प्रतिनिधिहरु र टानका पूर्व अध्यक्षहरुलाई समेत मायाको चिनो प्रदान गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij