धादिङ । ग्रामीण नेपालीहरुको आर्थिक अवस्था माथि उठाउने उद्देश्यले स्थापित स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय धादिङबेँसीले वित्तीय वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय साक्षरता कार्यक्रमको अवसर पारेर लघुवित्तले आफ्ना विभिन्न ग्राहक सदस्यहरुलाई करिब ९ लाख रकम सहयोग एवं राहत स्वरुप वितरण गरेको बताएको छ ।
संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग उपलब्ध गराएको हो ।
यस संस्थाले हरेक बर्ष विभिन्न रचनात्मक क्रियाकलापहरु आयोजना गर्दै आएको समेत बताएको छ ।
संस्थाले भाद्र ५ गते संस्थामा आबद्ध ज्येष्ठ सदस्य दिलकुमारी गुरुङको अध्यक्षतामा संस्थाका ईलाका प्रबन्धक फन नारायण सुवेदीको प्रमुख आतिथ्यता र शाखा कार्यालय आरुघाट (गोरखा)का शाखा प्रबन्धक परम्परा कट्टेलको विशेष आतिथ्यतामा अन्य कार्यक्रमहरु समेत सम्पन्न गरेको छ ।
कार्यक्रमको अवसर पारेर संस्थाका शाखा प्रबन्धक रमेश प्रसाद पोख्रेलले प्रोजेक्टरको माध्यमबाट वित्तीय सचेतना सम्बन्धी स्लाईडहरु प्रस्तुत गर्दै कर्जा सदुपयोगिता, बचतको महत्व र आवश्यकता, नोटको जतन, सामुहिक भावना र समूह जमानीको अवधारणाका साथै कर्जा अपचलन भए त्यसबाट पर्न सक्ने नकारात्मक प्रभाव र सावधानी एवं बजेट निर्माण तथा वित्तीय योजना लगायतका विभिन्न विषयवस्तुहरुमा समेत जानकारी गराउनुभएको थियो ।
सोही कार्यक्रममा पतिको मृत्यु भई आम्दानीको प्रमुख आधार गुमाएकी ग्राहक सदस्य शान्ता अर्याललाई कर्जा विमा बापत रु. ४ लाख २० हजार, कमला मगरलाई रु २ लाख ७० हजार, गगनमाया घलेलाई रु ५० हजार, चेत कुमारी मगरलाई रु. ५० हजारको चेक समेत हस्तान्तरण गरिएको थियो ।
सोही अवसरमा संस्थाले लामो समय देखि कारोबार गर्दै आएका पूर्णमाया मगरलाई ५ हजार, तिलकुमारी रानालाई ५ हजार, सुकुुमाया गुरुङलाई ५ हजार, सिताकुमारी अधिकारीलाई ५ हजार, सरस्वतीसिंह ठकुरीलाई ५ हजार नगद रकम सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।

त्यसैगरी दीर्घरोगी र गम्भीर स्वास्थ्य समस्या प्यारालाइसिसबाट पीडित मनमाया गुरुङलाई उपचारार्थ ५ हजार र श्रीमानका दुवै मृगौला फेल भएको कारण सुकुमाया पुलामीलाई श्रीमानको उपचारार्थ १० हजार रुपियाँ प्रदान गरिएको छ ।
बाढीपहिरोको कारण स्वबासी घरमा क्षति हुन पुगेका ग्राहक सदस्यहरु पुतली नेपाली, कमला नेपाली, सुनमाया सार्की, दिल कुमारी गुरुङ, सुदिना मल्ल, भगवती गिरी, ललिता सुनार वि.क.लाई घर मर्मतको लागि प्रति सदस्य रु ५ हजारका दरले राहत प्रदान गरिएको थियो ।
गत शैक्षिक सत्रको एसइइमा सहभागि हुने ग्राहक सदस्यका छोराछोरीबाट मध्ये उत्कृष्ट अंक ल्याउने बेनिघाट रोराङ–३ मलेखुका ग्राहक सदस्य विमला कँडेलका छोरा अनुज कँडेललाई उच्च शैक्षिक सफलताको कामना गर्दै नगद रु. १० हजार र प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
गत आर्थिक बर्षमा गुणस्तरीय वित्तीय कारोबार गर्ने उत्कृष्ट केन्द्रहरुलाई पनि सम्मान गरिएको थियो । जसमध्ये प्रथम हुने केन्द्रलाई रु. ३ हजार नगद र प्रमाणपत्र, द्वीतिय हुनेलाई रु. २ हजार रकम र प्रमाणपत्र तथा तृतीय हुनेलाई १ हजार रकम एवं प्रमाणपत्र प्रदान गरिएको थियो ।
सहयोग रकम हस्तान्तरण गर्ने क्रममा संस्थाका ईलाका प्रबन्धक फननारायण सुवेदीले कार्यक्रमलाई गुणस्तरीय बनाउन संस्था र ग्राहक बीच सुमधुर सम्बन्ध हुनुपर्ने कुरामा जोड दिँदै आगामी दिनमा पनि अझ रचनात्मक नयाँ कार्यक्रम आयोजना गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संस्थाले विगत लामो समय देखि द्वन्द्वकाल, भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका विषम परिस्थिति र महामारीमा समेत विशेष कार्यक्रम आयोजना गरी गरीब, विपन्न, दलित, एकल महिला, दीर्घरोगी लगायतलाई सहयोग र सम्मान उपलब्ध गराउँदै आएको छ । यसबाट आर्थिक व्यवस्थापनमा सहयोग पुग्नुको अलावा आत्मगौरवमा पनि सहयोग पुग्ने संस्थाको बुझाई छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij