२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

युवा शक्तिलाई गाऊँमै रोक्न शिक्षा र सडकको सहज पहुँच आवश्यकः नेता पराजुली

युवा शक्तिलाई गाऊँमै रोक्न शिक्षा र सडकको सहज पहुँच आवश्यकः नेता पराजुली

राजेन्द्र पराजुली, नेता, नेपाल समाजवादी पार्टी – गाेरखा

काठमाडौं । नेपाल समाजवादी पार्टीका गोरखा जिल्ला नेता राजेन्द्र पराजुली ग्रामीण क्षेत्रको विकास एवं आर्थिक अवस्थाको स्तरोन्नती कसरी हुन सक्छ भन्ने सम्बन्धमा राम्रो जानकारी भएका व्यक्ति हुन् ।

अहिले सम्म पनि नेपालका सबै ग्रामीण भू–भागमा सडकको राम्रो सञ्जाल विस्तार हुन नसकेको, स्तरीय शिक्षाको पहुँच नपुगेको र आधारभूत स्वास्थ्य सेवा समेत प्राप्त गर्न सकिने अवस्था नरहेको लगायतका विभिन्न कारणले गर्दा ग्रामीण जनताहरु आफ्नो जन्मस्थलबाट बाहिरिन बाध्य भएको बताउँछन् ।

पराजुली पछिल्ला बर्षहरुमा नेपालका ग्रामीण भेगबाट सुगम र शहरी क्षेत्रमा बसाईं सर्ने क्रम उच्च रुपमा बढेको, गाऊँका अधिकांश खेतबारी बाँझो हुँदै गएको, युवा जनशक्तिको अभाव खड्किएको, गाउँमा वृद्धवृद्धाहरु मात्र रहनुपर्ने अवस्था सृजना भएको अवस्था प्रति चिन्तित छन् ।

यो अवस्था सृजना हुनुमा ग्रामीण क्षेत्रमा शहरी क्षेत्रमा जसरी सहज रुपमा सेवा प्राप्ति हुने स्थिति सृजना नहुनु नै मुख्य कारण रहेको उनको बुझाई छ ।

अहिले अधिकांश युवा जनशक्तिको रोजाई वैदेशिक रोजगारी नै हुने गरेको र बाँकी युवा काठमाडौं लगायत शहर केन्द्रित भइरहेको बारे सेतोघर डट कमसँगको कुराकानीको क्रममा बताउँदै आगामी दिनमा ग्रामीण युवालाई ग्रामीण भू–भागमा नै रोक्नको लागि विभिन्न आकर्षक कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता औंल्याउँछन् पराजुली ।

‘अधिकांश युवाहरु गाऊँबाट बाहिरिनुमा आर्थिक उपार्जन एवं शिक्षा स्वास्थ्य लगायतका आधारभूत सेवा प्राप्ति नै मुख्य कारक तत्व भएको मैले बुझेको छु । यदि हरेक गाउँमा स्तरीय सडक सञ्जाल पुग्यो, माध्यमिक तह (कक्षा १२) सम्म स्तरीय शिक्षाको सुनिश्चितता भयो र स्वास्थ्यको समेत सरल पहुँच बन्यो भने ठूलो सङ्ख्यामा ग्रामीण मानिसहरु गाऊँमै रोकिन सक्छन् भन्ने मलाई लाग्छ’ पराजुलीको तर्क छ ।

अहिले पनि नेपाल कृषिप्रधान मुलुक नै रहेको तर पनि किसानको उत्पादन लागत अत्याधिक माथि पुगेको, सहज रुपमा उत्पादित सामानको बजार पहुँच स्थापना हुन नसकेको, समयमा बिऊ, मल, विषादी प्राप्त हुन नसकेको, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण हुन नसकेको लगायत विविध समस्याका कारण आफ्नो पुख्र्यौंली बस्ती छोड्नुपर्ने बाध्यता नेपाली युवाहरुमा सृजना भएको समेत पराजुलीले बताए ।

अहिले सबैजसो भू–भागका थुप्रै युवाहरु वैदेशिक रोजगारीको अनुभव गरिसकेका र विदेशमा रहँदा पालना गर्नुपर्ने कडा अनुशासन, आफ्नो परिवारबाट अलग्गिनुपर्ने अवस्था लगायतका कारण आर्थिक उपार्जनका आधारहरु गाउँमा बन्न सकेको खण्डमा आफ्नै गाउँवस्तीमा काम गर्न मानसिक रुपमा तयार भइसकेका छन् ।

त्यस्ता युवाहरुले बाह्य वातावरण समेत बुझिसकेका छन् । साथै आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि योगदान हुने गरी काम गर्न तयार समेत छन् । यस्तो स्थितिलाई विचार गर्दै स्थानीय निकायहरुले ऊर्जावान् युवाहरुलाई आवश्यक सहजीकरण एवं प्रोत्साहित गर्न सकेको खण्डमा गाउँमा नै रही नमुना तवरले खेतीपाती गर्नेछन् । जसबाट कम लागतमा उच्च उत्पादन लिन सकिनेछ ।

अहिलेको अवस्था
अहिले श्रीमान खाडी मुलुकमा, श्रीमती र छोराछोरी शहरी परिवेशमा एवं वृद्ध बुबाआमा ग्रामीण बस्तीमा रहँदा आफ्नो कमाईको ठूलो हिस्सा खर्च व्यवस्थापनमा नै छुट्याउनुपर्ने अवस्था छ । यस्तो स्थितिमा बाह्य सुरक्षा एवं पारस्पारिक आत्मीय दूरी समेत टाढिँदै जाने जटिलताहरु समेत समाजमा देखिने गरेका छन् ।

यस्तो स्थितिलाई न्यूनीकरण गर्नको लागि शारीरिक र बौद्धिक रुपमा सक्षम जागरुक युवाहरुलाई गाउँमा नै रोक्न पहल गर्नुको विकल्प नै छैन ।

गाउँमै छ राम्रो अवसर

व्यवस्थित तवरले कृषि अन्तरगत फलफूल उत्पादन, नगदेबाली, तरकारीखेती, पशुपालनको अलावा उत्पादित वस्तुको भण्डारन र प्रशोधनको समेत व्यवस्था गर्नसके कृषि अन्तरगत जुन व्यवसाय गरेपनि गाउँमै रहेर मासिक ६०–७० हजार रकम सजिलै कमाउन सकिन्छ । साथै कमाईको ठूलो हिस्सा भविष्यको सुरक्षाको लागि बचाउन सकिन्छ । यसकारण नेपाली युवाहरुलाई आफ्नै ठाऊँमा आफ्नै जग्गामा काम गर्नको लागि आकर्षित गर्नु अहिलेको तत्कालिन आवश्यकता बनेको पराजुलीको तर्क छ ।

लामो समय देखि आफैं उद्यमशिल विभिन्न गतिविधिमा संलग्न रही नेपाली युवाहरुका भावना र आवश्यकतालाई नजिकबाट महसुस गरेका पराजुली सामाजिक गतिविधिहरुमा पनि निरन्तर सक्रिय रहँदै आएका छन् ।

आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा गोरखा जिल्लाबाट आफूले पनि उम्मेदवारी दिने मनस्थिति बनाएका पराजुली आफ्नो उम्मेद्वारी सही अर्थमा ग्रामीण विकास, युवा सशक्तिकरण, चेतना जागरण, स्थानीय स्तरमा नयाँ सम्भावनाको खोजी, बजेटको सही उपयोग, युवा शक्तिको उचित परिचालन एवं अनुसन्धानलाई प्रोत्साहनको लागि रहेको समेत बताउँछन् ।

लामो समय देखि स्थानीय जनताहरु बीच परिचित, सकारात्मक सोचबाट परिचालित एवं स्थानीयहरुको सुखदुखका साथीका रुपमा स्थापित पराजुली गोरखाका जुनसुकै क्षेत्रबाट उम्मेदवारी दिएपनि आफूलाई स्थानीयहरुले जनमत मार्फत विजयी गराउने दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij