२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

चेतना जागरण र सामाजिक रुपान्तरणमा पुस्तकालयको भूमिका

चेतना जागरण र सामाजिक रुपान्तरणमा पुस्तकालयको भूमिका

पुस्तकालयलाई व्यवस्थित बनाउन पुस्तकालयकर्मी सक्रिय बन्नुपर्छ

 

यज्ञराज भट्ट, कार्यकारी निर्देशक, लाइब्रेरी डेभलपमेन्ट फोरम

मानिस सचेत प्राणीको रुपमा चिनिन्छ । त्यो चेतना विभिन्न माध्यमबाट प्राप्त गर्न हुने गर्छ । चेतना जागरणको लागि सबैभन्दा महत्वपूर्ण पक्ष भनेको शिक्षा नै हो । जुन औपचारिक र अनौपचारिक एवं अनुभवजन्य जुनसुकै हुन सक्छ । औपचारिक शिक्षाले सबै पक्षलाई समेट्न सक्दैन । यसकारण व्यक्तिको थप ज्ञान विकासको लागि पुस्तकालयको सहयोग लिन सकिनछ । जबसम्म सही तवरले पुस्तकालयको विकास, व्यवस्थापन र उपयोग हुँदैन, तबसम्म मानिसको चेतनास्तरमा पनि व्यापक वृद्धि हुन सक्दैन ।

अहिले हाम्रो समाजमा स्थापना गरिएका पुस्तकालयमा केही राम्रा पुस्तकहरु राखिएको खण्डमा हामीले खुसी प्रकट गर्छौं । यद्यपि पुस्तकालयमा राम्रो पुस्तक उपलब्ध हुनु र उपलब्ध पुस्तकको सही प्रयोग हुनु पृथक कुरा हुन् । आफ्नो पुस्तकालयमा राम्रा किताबहरु उपलब्ध भएर पनि ती पुस्तक कसैको रोजाईमा पर्दैनन् भने त्यस्ता पुस्तकले हाम्रो ज्ञान अभिवृद्धिमा कुनै भूमिका खेल्न सक्दैनन् । यस्ता पुस्तकालय अधुरा बन्ने गर्छन् । यसकारण पुस्तकालय स्थापनासँगै यसको व्यवस्थापनको लागि राम्रोसँग काम गर्न सक्ने, जागरुक र अनुभवी व्यक्तिलाई नै पुस्तकालय व्यवस्थापनको लागि खटाउनु जरुरी रहन्छ । यद्यपि अहिले सम्म हामीले नेपालमा लाइब्रेरियनले पनि व्यक्तिगत रुपमा पुस्तकालय व्यवस्थापन सम्बन्धी ज्ञान हासिल गरेको हुनुपर्छ भन्ने मान्यता विकास गर्न सकेका छैनौं ।

पुस्तकालयमा अन्तरक्रियाको वातावरण समेत आवश्यक

पुस्तकालयमा कुनै विशेष ज्ञान लिनको लागि यदि जो कोही व्यक्ति प्रवेश गरेको खण्डमा सम्बन्धित विषयवस्तुको ज्ञान भएका व्यक्तिसँग भेटघाट एवं अन्तरक्रिया गर्न सक्ने अवसर समेत सृजना गर्नु जरुरी रहन्छ । यस्तो स्थितिले हाम्रो ज्ञानको दायरा विस्तारमा समेत ठूलो सहयोग पुर्याउँछ । पुस्तक आफैंमा सजीव होइन । यसलाई हामीले राम्रोसँग अध्ययन गर्न, बुझ्न र सार तत्व लिन सक्यौं भने मात्र हामीले सजीव बनाउन सक्छौं । साथै दिनभरी लगाएर पूरा पुस्तक अध्ययन गर्नुभन्दा सम्बन्धित क्षेत्रको ज्ञान भएका व्यक्तिसँग आधा एक घण्टा भलाकुसारी गर्ने वातावरण तयार गर्न सक्यौं भने थोरै समयमा महत्वपूर्ण ज्ञान हासिल गर्न सकिन्छ । यस किसिमको वातावरण पुस्तकालयमा बनाउनु जरुरी रहन्छ । साथै पुस्तकालयको रेखदेख र व्यवस्थापनमा खटिने व्यक्तिलाई पनि जागिरे मानसिकताबाट नभई स्वतस्फूर्त सेवामा तयार रहने प्रकृतिमा विकास गराउनु जरुरी रहन्छ ।

बदलिँदो समाज, बिर्संदै संस्कार
विश्वव्यापीकरणको प्रभावसँगै अहिले हाम्रो समाजले पनि नयाँ दिशा लिँदैछ । यसका भौतिक उपलब्धिको क्षेत्रमा राम्रा गुणहरु हुँदाहुँदै पनि माया सद्भाव र संस्कारको क्षेत्रमा भने हामी कमजोर बन्दै गएका छौं । विगतको संयूक्त परिवार अहिले हामीमाझ छैन । जसरी संयुक्त परिवारमा रहँदा साना बालबच्चाहरुले संस्कारयुक्त ज्ञान, माया र सभ्यता आफ्नै परिवारका वृद्ध हजुरबुबा हजुरआमाबाट प्राप्त गर्न सक्ने स्थिति रहन्थ्यो । त्यो शिक्षाको दायरा औपचारिक शिक्षा भन्दा कम थिएन, अझ बढी महत्वपूर्ण थियो । जसले गर्दा समाज सुसंस्कृत थियो । मानिसहरु व्यावहारिक समेत थिए । अहिले हामी यस्तो संस्कार र शिक्षाबाट वञ्चित हुनुपरेको छ । आर्थिक र भौतिक प्रगतिको अलावा मानसिक, संवेगात्मक र आध्यात्मिक चेतनाको विकासबाट हामी पछाडि परेका छौं । समाजमा पछिल्ला बर्षहरुमा जुन घटनाहरु घटिरहेका छन्, आपसमा अविश्वासको वातावरण बन्दै गएको छ । सामाजिक विकृतिहरु देखिएका छन्, यी हाम्रो अहिलेको औपचारिक शिक्षा र भौतिक प्रगति प्रतिको उच्च महत्वाकाङ्काका परिणामको रुपमा हामीले स्वीकार्दै हाम्रो शिक्षामा नैतिकता र संस्कारलाई पनि सँगै जोडेर लैजानु जरुरी रहन्छ ।

समाजलाई सही दिशा दिनको लागि पठन संस्कृतिको विकास महत्वपूर्ण हुनेछ । यसको लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्न सक्छ र सक्नुपर्छ । यसको लागि पुस्तकालयमा उपलब्ध पुस्तकहरुको सही व्यवस्थापन त्यत्ति नै महत्वपूर्ण हुनेछ । पुस्तकालयमा राखिने पुस्तकलाई चलायमान बनाउन सकियो र राम्रोसँग उपयोगमा ल्याउन सक्यौं भने मात्र पुस्तकालयको सही तवरले प्रयोगमा आएको मान्नुपर्छ ।

हाम्रो नेपाली समाजले पनि पछिल्ला बर्षहरुमा ट्रयाक बिराएको महसुस गर्न सकिन्छ । ‘मातृ देवो भवः । पितृ देवो भवः । अतिथि देवो भवः । आचार्य देवो भवः ।’ भनेर माता, पिता, अतिथि र गुरुवर्ग एवं समस्त मानव प्रति सद्भाव राख्ने समाजले अहिले आफ्नै बाबुआमालाई वृद्धाश्रममा भर्ना गराएर आफूले कथित सुखभोग गरिरहेको स्थिति छ । बर्ष दिनमा एक दिन वृद्धाश्रममा पुग्ने कष्ट गर्दैमा हामीले हाम्रा पितामाता, गुरु, इष्ट र समाजप्रतिको दायित्व पूरा गर्न सक्दैनौं भन्ने चेतना विकास गर्नको लागि विद्यालय तह देखि नै संस्कार सहितको शिक्षालाई जोड दिनुपर्छ ।

पठन संस्कृति विकासमा पुस्तकालयको भूमिका
समाजलाई सही दिशा दिनको लागि पठन संस्कृतिको विकास महत्वपूर्ण हुनेछ । यसको लागि पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्न सक्छ र सक्नुपर्छ । यसको लागि पुस्तकालयमा उपलब्ध पुस्तकहरुको सही व्यवस्थापन त्यत्ति नै महत्वपूर्ण हुनेछ । पुस्तकालयमा राखिने पुस्तकलाई चलायमान बनाउन सकियो र राम्रोसँग उपयोगमा ल्याउन सक्यौं भने मात्र पुस्तकालयको सही तवरले प्रयोगमा आएको मान्नुपर्छ ।

अहिलेको सूचना प्रविधियुक्त बदलिँदो विश्व परिवेशमा हामीले चाहेको हरेक सूचना सहजै प्राप्त गर्न सक्छौं । परिस्थितिसँगै पुस्तकालयको परिभाषा र व्यापकता समेत बदलिँदै गएको छ । विगतमा भौतिक पुस्तकमात्र अध्ययन गर्नुपर्ने स्थिति रहेकोमा अहिले विभिन्न डिजिटल प्लेटफर्ममा नाम दर्ता गराएर पनि पुस्तक पढ्न र अडियोबुक सुन्न सकिने स्थिति विकास भएको छ । यस्तो अभ्यास नेपालमा पनि शुरुवात भइसकेको छ । यस्तो स्थितिमा हामीले नयाँ पुस्तालाई जुनसुकै माध्यमबाट भएपनि पठन संस्कृति विकास गराउनुपर्ने जरुरी छ । विद्यालय तह देखि नै पुस्तकालय सेवा लिन बालबालिकालाई प्रेरित गर्यौं भने अवश्य पनि हामीले चाहेबमोजिम व्यक्तिको सर्वाङ्गिण विकास सम्भव हुन सक्छ ।

व्यक्तिको व्यक्तित्व विकासमा व्यक्तिको अध्ययन, पृथक तवरले सोच्न सक्ने क्षमता, चेतनास्तर लगायतका पक्षहरु समेत संलग्न रहने हुनाले नयाँ परिवेशले यस्ता सबै पक्षलाई सम्बोधन गर्न सक्नुपर्छ । शिक्षाले हाम्रो रहनसहन, बानीव्यवहार, काम गर्ने शैली, वैचारिक क्षमता लगायतका विभिन्न पक्षमा पनि सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नुपर्छ ।

अबको आवश्यकता
पुस्तकालय सबैको पहुँचमा हुनुपर्छ । साथै पुस्तकालयलाई समाजमा विशेष योगदान पुर्याएका वयोवृद्ध, सामाजिक अभियन्ता, लेखक, अनुसन्धाता, समाज सुधारक लगायत सबै किसिमका व्यक्तिहरु भेटघाट हुने चौतारीको रुपमा पनि विकास गर्न सक्नुपर्छ । यसबाट कुनै विषयवस्तुको खोजी गर्नको लागि पुस्तकालय पुगेको व्यक्तिले आफुले सोचे भन्दा बढी ज्ञान पुस्तकबाट भन्दा पनि त्यसै क्षेत्रमा लामो अनुभव बटुलेका व्यक्तिबाट प्राप्त गर्न सक्ने स्थिति सृजना हुन सकोस् । यस किसिमको सोच सहित हाम्रा पुस्तकालय अघी बढ्नुपर्छ ।

नेपालमा पुस्तकालय खोल्न निकै सजिलो छ । यद्यपि यसको सञ्चालन र निरन्तरता कार्य भने त्यति सहज छैन । अहिले सम्म शिक्षा मन्त्रालयलाई समेत यकिन यति सङ्ख्यामा नेपालमा यो प्रकृतिका पुस्तकालय यति सङ्ख्यामा छन् भन्ने तथ्याङ्क सङ्कलन गर्न सकेको छैन ।

व्यक्तिको व्यक्तित्व विकासमा व्यक्तिको अध्ययन, पृथक तवरले सोच्न सक्ने क्षमता, चेतनास्तर लगायतका पक्षहरु समेत संलग्न रहने हुनाले नयाँ परिवेशले यस्ता सबै पक्षलाई सम्बोधन गर्न सक्नुपर्छ । शिक्षाले हाम्रो रहनसहन, बानीव्यवहार, काम गर्ने शैली, वैचारिक क्षमता लगायतका विभिन्न पक्षमा पनि सकारात्मक परिवर्तन ल्याउन प्रेरित गर्नुपर्छ ।

लाइब्रेरी डेभलपमेन्ट फोरमको अवधारणा
नेपालमा पुस्तकालयको पहुँच व्यापक रुपमा विस्तार गर्नुपर्छ भन्ने मान्यताले देशभरका विभिन्न ठाऊँमा रही पुस्तकालयको क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई समेटेर यस लाइब्रेरी डेभलपमेन्ट फोरमको स्थापना भएको हो । यस संस्थाले अहिले देशका विभिन्न ठाऊँहरुमा विद्यालयस्तरीय एवं सामुदायिक पुस्तकालय निर्माण गर्ने, पुस्तकालय सञ्चालन र व्यवस्थापन सम्बन्धी तालिम प्रदान गर्ने लगायतका कामहरु गर्दै आएको छ । साथै पुस्तकालयमा पढ्न किन आवश्यक रहन्छ भन्ने सम्बन्धमा पनि मानिसहरुलाई जागरुक गराउन यस संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

पुस्तकालय निर्माण सजिलो सञ्चालन र निरन्तरता गाह्रो
नेपालमा पुस्तकालय खोल्न निकै सजिलो छ । यद्यपि यसको सञ्चालन र निरन्तरता कार्य भने त्यति सहज छैन । अहिले सम्म शिक्षा मन्त्रालयलाई समेत यकिन यति सङ्ख्यामा नेपालमा यो प्रकृतिका पुस्तकालय यति सङ्ख्यामा छन् भन्ने तथ्याङ्क सङ्कलन गर्न सकेको छैन । यद्यपि शिक्षा मन्त्रालयमा हाल यादब चन्द्र निरौलाको नेतृत्वमा पुस्तकालय बारे तथ्याङ्क संकलन कार्य अघी बढेको छ । केही दिन पहिले मात्रै नेपालका ६ सय भन्दा बढी पुस्तकालय बन्द भइसकेको भन्ने कुरा बाहिर आएको थियो । यस तथ्यलाई हेर्दा नेपालमा पुस्तकालय यति धेरै सङ्ख्यामा किन बन्द भए भनेर सोच्न बाध्य हुनुपर्ने स्थिति छ ।

अन्त्यमा,
नेपालमा अहिले विभिन्न किसिमका पुस्तकालयहरु सञ्चालनमा छन् । जसलाई शैक्षिक पुस्तकालय, सामुदायिक पुस्तकालय, डिजिटल र मोबाइल पुस्तकालय लगायतका विभिन्न प्रकारमा छुट्याएर हेर्न सकिन्छ । साथै हरेक पुस्तकालयकर्मीले आफ्नो पुस्तकालयमा भएका सबै पुस्तकको सही प्रयोग गर्न सक्ने क्षमता विकास गरेको खण्डमा सेवाग्राही बढी लाभान्वित हुने र यसले व्यक्तिको चेतना जागरणमा महत्वपूर्ण प्रभाव पार्ने स्थिति सृजना हुन सक्छ ।

(यो सामाग्री लाइब्रेरी डेभलपमेन्ट फोरमका अध्यक्ष यज्ञराज भट्ट र कमल पन्थीको संयुक्त प्रयाशमा तयार पारिएको हो ।

(bhattasir@gmail.com)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij