२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

सहकारी अभियन्ता बास्कोटाको कृति ‘निष्ठाको यात्रा’ सार्वजनिक

सहकारी अभियन्ता बास्कोटाको कृति ‘निष्ठाको यात्रा’ सार्वजनिक

कमल पन्थी, काठमाडाैं । पूर्व गृह राज्यमन्त्री, सहकारी अभियन्ता, उद्यमी एवं वैदिक ज्ञानको प्रचारप्रसारमा संलग्न व्यक्ति डा.दीपकप्रकाश बास्कोटाको जीवनकथामा आधारित कृति ‘निष्ठाको यात्रा’ लोकार्पण गरिएको छ ।

कुल प्रसाद कोइरालाको सभापतित्व एवं कुल बहादुर गुरुङको प्रमुख आतिथ्यतामा विहीबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको एक विशेष समारोह बीच उक्त कृति विमोचन गरिएको हो ।

कृतिकार बास्कोटाकी छोरी समिक्षा बास्कोटाले उद्घोषण गरेको उक्त कार्यक्रममा भावातीत ध्यान प्रशिक्षक भरतराज पौडेलले स्वागत मञ्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रममा छोरीहरु शान्ता, तारा, चन्द्रकला लगायतले समेत सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

महर्षि वैदिक फाउण्डेसनका पण्डितहरुले स्वस्ति वाचन एवं मङ्गलगान गरेर अघी बढाएको उक्त कार्यक्रममा राजनीतिक उच्च पदस्थ व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

निष्ठाको यात्रा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति समर्पित छ । बहुआयामिक प्रतिभाशाली व्यक्तित्व दीपकप्रकाश बास्कोटा नेपाली काङ्ग्रेसका दूरदर्शी नेता एवं पूर्वप्रधानमन्त्री कोइरालाकै प्रेरणाले उद्योग क्षेत्रमा प्रवेश गर्नुभएको हो । कोइरालाले आफू युरोप भ्रमणमा रहँदा जर्मनीका चान्सलर विली ब्रान्टले राजनीतिकर्मी ग्रामीण विकास, उत्पादन र समाजसँग जोडिनुपर्ने कुराको प्रसङ्ग सुनाएपछि आफू तत्काल उद्यमी बन्नको लागि प्रेरित भएको र आफू गाऊँ फर्किएर चियाबगान, विद्यालय, डेरी उद्योग, वाटर टर्वाइन एवं हाते कागज गरी ५ ओटा उद्योग आफूले एकसाथ सञ्चालनमा ल्याएको बास्कोटा बताउनुहुन्छ । आफ्नो सहकारी यात्रा पनि गिरिजा बाबुकै प्रेरणाबाट अघी बढेको बास्कोटा बताउनुहुन्छ ।

हाल नेपाल अर्गानिक एसोसिएसनका अध्यक्ष, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष लगायत विभिन्न संघसंस्थामा आवद्ध बास्कोटाले गृह राज्यमन्त्री सम्मको भूमिका निर्वाह गर्नुभएको छ । मूलतः सहकारी अभियन्ताको रुपमा चिनिनुहुने बास्कोटा राष्ट्रिय सहकारी विकास बोर्ड र राष्ट्रिय सहकारी संघका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।

कृतिकार बास्कोटा महर्षि महेश योगीको सम्पर्कमा आएपश्चात् आध्यात्मिक क्षेत्रमा समेत सक्रिय रहँदै आउनुभएको छ । हाल नेपालमा ऊहाँ भावातित ध्यान र वैदिक संस्कारको प्रवर्द्धनमा समर्पित ऊहाँ प्राङ्गारिक अभियन्ता समेत हुनुहुन्छ ।

बास्कोटाले कञ्चनजंगा टि स्टेट सन् १९९७ बाट सञ्चालनमा ल्याउनुभएको हो । उक्त उद्योग नै श्रमिकहरुलाई शेयरहोल्डर बनाउने सम्भवतः पहिलो नेपाली उद्योग हुनुपर्छ । नेपालमा उत्पादित अर्गानिक चियालाई बास्कोटा ग्रुपले विश्वबजारमा प्रवर्द्धन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij