चित्र बहादुर बस्नेत, सचिव , नेपाल कस्मेटिक व्यवसायी संघकस्मेटिक सामानहरु अहिले हरेक व्यक्तिको लागि जीवनका अभिन्न अङ्ग जस्तै बनिसकेका छन् । यी सामानहरुको कारोबार समेत निकै ठूलो परिमाणमा हुँदै आएको छ । यद्यपि नेपालमा प्रयोग हुने कस्मेटिक सामानहरुमा स्वदेशमा उत्पादित भन्दा पनि आयातित सामानहरुको हिस्सा ठूलो छ । स्वदेशमा उद्योग स्थापनाको लागि पहल हुन नसक्दा र नेपाली उपभोक्तामा समेत स्वदेशी उत्पादन भन्दा बाहिरबाटै भित्रिने सामान उच्च गुणस्तरीय हुने विश्वासले जरा गाडेको कारण स्वदेशी उत्पादन राम्रोसँग फस्टाउन सकेको छैन । यद्यपि पछिल्ला बर्षहरुमा सानै परिमाणमा भएपनि कस्मेटिकजन्य सामान उत्पादन गर्ने उद्योगहरु नेपालमा समेत सञ्चालनमा आइरहेका छन् ।
व्यवसायलाई मर्यादित बनाउने योजनामा संघ
नेपालमा कस्मेटिक सामानको व्यवसायमा संलग्न व्यवसायीहरुको सञ्जाल पनि निकै फराकिलो भइसकेको छ । यत्ति नै सङ्ख्यामा कस्मेटिक व्यवसायीहरु छौं भन्ने सम्बन्धमा भने आधिकारिक तथ्याङ्क सङ्कलन हुन सकेको छैन । साथै अझै पनि कस्मेटिक व्यवसायमा संलग्न सबै व्यवसायीहरु करको दायरामा समेत आउन सक्नुभएको छैन । यही यथार्थतालाई मध्यनजर गर्दै कस्मेटिक व्यवसायीहरु संगठित हुनुपर्ने आवश्यकता महसुस गरेर नेपाल कस्मेटिक व्यवसायी संघको स्थापना भएको हो । व्यवसायीहरु संगठित हुन सकेको खण्डमा यस व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउँदै लैजान सकिन्छ भन्ने मान्यता सहित हामी हाम्रा गतिविधिहरु निरन्तर अघी बढाइरहेका छौं । पछिल्लो समय हाम्रो संघले पनि स्वदेशी गुणस्तरीय उत्पादनलाई नै प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ । मुलुकको अर्थतन्त्रको विकासको लागि स्वदेशी उत्पादनलाई नै प्राथमिकतामा राख्नुपर्छ भन्नेमा संघले आवश्यक पहल समेत गरिरहेको छ । नेपाल कस्मेटिक व्यवसायी संघ सबै कस्मेटिक व्यवसायीहरुको साझा संगठन भएकोले सबै व्यवसायीहरुलाई यस संघमा आवद्ध हुन हामीले आग्रह गर्दै आइरहेका छौं ।
सबै कस्मेटिक सामान विलासितामा पर्दैनन्
विगतमा कस्मेटिकजन्य सामानहरुलाई वैकल्पिक आवश्यकताका अर्थात विलासिताका वस्तुहरु मानिन्थ्यो । प्रविधिमा आएको नवीनतम विकास एवं आधुनिकतासँगै अहिले कस्मेटिक सामानहरु पनि सबैको लागि लगभग अनिवार्य जस्तै बनिसकेका छन् । यद्यपि सबै कस्मेटिक सामानहरुलाई राज्यको नीतिअनुसार एकमुष्ट रुपमा विलासिताका सामाग्रीमा राखिएको छ । राज्यले कुन कस्मेटिक सामान के प्रयोजनको लागि प्रयोग हुन्छ भन्ने आवश्यक अध्ययन नै नगरी एकमुष्ट विलासितामा राख्दा समस्या सृजना भएको छ ।
अहिले नेपाली बजारमा यहाँ उत्पादन हुने सामानहरुको भन्दा पनि बाह्य बजारबाट नेपालमा भित्रिने सामानहरुको हिस्सा ठूलो छ । नेपालमा बाहिरबाट कस्मेटिक सामानहरु आयात गर्नको लागि हाम्रो ठूलो रकम बाहिरिएको स्थिति छ । यस्तो अवस्थामा यहाँ उपलब्ध कच्चा पदार्थमा आधारित गुणस्तरीय कस्मेटिक सामानहरु नेपालमा नै उत्पादन गर्नको लागि राज्यले यहाँका व्यवसायीहरुलाई आकर्षित गर्नुपर्ने आवश्यकता समेत छ ।
करको दायरामा व्यवसायीलाई ल्याउन संघको पहल
अहिले विश्वका अधिकांश देशहरुको लागि राज्य व्यवस्था सञ्चालनको मुख्य आधार नै कर प्रणाली बन्न पुगेको छ । नेपाल सरकारले पनि यही नीति अबलम्बन गरेको छ । राज्यले ठूलो परिमाणमा कर सङ्कलन गर्ने व्यवसायी र उद्योगीहरुबाट नै हो । राज्य प्रणाली सञ्चालनको लागि कर महत्वपूर्ण रहने भएको कारण सञ्चालनमा रहेका व्यवसायहरु अनिवार्य रुपमा करको दायरामा आउनुपर्ने हुन्छ । कर तिर्न पाउँदा व्यवसायीहरुले गर्वको अनुभुति गर्न सक्नुपर्छ । विश्वमा अहिले समृद्ध मानिने मुलुकहरुमा कर प्रणाली निकै नै व्यवस्थित छ । नेपालमा पनि कर प्रणालीको दायरा विस्तार गरी कर प्रणालीलाई थप व्यवस्थित गर्दै लैजानुपर्ने आवश्यकता छ । सोहीबमोजिम हामी निजी व्यवसायीहरु पनि संघ मातहत सम्भव रहेसम्म सबै कस्मेटिक व्यवसायीहरुलाई अनिवार्य दर्ता र करको दायरामा ल्याउनको लागि क्रियाशिल रहँदै आएका छौं । बिना दर्ता व्यवसाय सञ्चालन गर्नु अवैध मानिन्छ । अवैध तवरले व्यवसाय गर्दा कुनै समस्या सृजना भएको खण्डमा त्यसमा व्यवसायी संघ र राज्य लगायत कुनै पक्षबाट व्यवसायीले संरक्षण पाउन सकिँदैन भन्ने कुरा सबै व्यवसायीले बुझ्नु जरुरी छ ।

स्वदेशी उत्पादनमा हाम्रो जोड
नेपाल कस्मेटिक व्यवसायी संघले स्थापना काल देखि नै ‘औद्योगिकरणको विकास गर्दै गुणस्तरीय कस्मेटिक वस्तुको प्रयोग गरौं’ भन्ने नारा तय गरेका छौं । नेपाली बजारमा अहिले पनि गुणस्तरीय भन्दा पनि देख्दा आकर्षक तर गुणस्तरहीन वस्तुहरु बजारमा प्रशस्त मात्रामा रहेको कुरा हामी व्यवसायीहरुले राम्रोसँग अनुभव गरेका छौं । यस्ता गुणस्तरहीन सामानहरुको प्रयोग गर्दा मानिसको स्वास्थ्यमा समेत ठूलो नोक्सानी पुर्याउने स्थिति सृजना हुन्छ । यसकारण त्यस किसिमका गुणस्तरहीन सामानको व्यापारलाई न्यूनीकरण गर्न सबै व्यवसायीहरु जागरुक र एकताबद्ध हुनुपर्ने आवश्यकता रहन्छ ।
यसको अलावा अहिले नेपालमा उत्पादन हुने जडिबुटी एवं औषधीजन्य वस्तुहरु बिना प्रशोधन बाह्य बजारमा निर्यात भई प्रशोधन पश्चान् पुनः नेपालमा नै आउने गरेको हामीले अध्ययनको क्रममा जानकारी पाएका छौं । यसकारण यहाँका कच्चा पदार्थहरुलाई सम्भव भएसम्म नेपालमा नै प्लान्ट राखेर अन्तिम वस्तु उत्पादन गर्नुपर्नेमा हामीले जोड दिँदै आइरहेका छौं । यसो हुन सकेको खण्डमा त्यो हाम्रो लागि ठूलो उपलब्धि हुनसक्नेछ ।
स्वदेशमा कस्मेटिक सामान उत्पादनको अवस्था
अहिले नेपालमा सोनाटा र नेपाल लिभर लगायतका केही ठूला कस्मेटिक उद्योगहरु नेपालमा सञ्चालनमा रहेका छन् । यी उद्योगबाट उत्पादित सामानलाई नेपाली उपभोक्ताले पनि मन पराउनुभएको छ । यद्यपि उत्पादनको परिमाण भने सानो छ । यसैगरी अहिले नेपालमा अन्य साना कस्मेटिक उद्योगहरु पनि सञ्चालनमा छन् । नेपाली कच्चा पदार्थ नै विदेश पठाएर पुनः त्यही तयारी वस्तु नेपालमा ल्याउँदा यसबाट हाम्रो लागत उच्च पर्ने कुरालाई विचार गरी सम्भव रहेसम्म नेपालमा नै उत्पादनको पहल हुनुपर्छ भन्ने हाम्रो धारणा हो ।
नियमित आवश्यकता सामान विलासिताका हुन सक्दैनन्
अहिले हामीले प्रयोग गर्ने कस्मेटिकजन्य सामानहरु मध्ये करिब ८० प्रतिशत कस्मेटिक सामानहरु त दैनिक उपभोग्य जस्ता नै भइसकेका छन् । सबैको लागि अनिवार्य आवश्यकताका बनिसकेका वस्तुहरुलाई अब विलासिताको सूचीबाट हटाउनुपर्ने आवश्यकता छ । साबुन, कपालमा लगाउने तेल, तुथपेष्ट एवं सौभाग्यका सिन्दूर, चूरा, पोते, टिका लगायतका वस्तुहरु सबैको लागि अनिवार्य नै हुन् । कतिपय धार्मिक प्रयोजनको लागि पनि यस्ता सामानहरु प्रयोग हुँदै आएका छन् । समग्रमा यी सबै सामानहरु नै कस्मेटिक सामानमा पर्ने भएको हुनाले सरकारको निर्णयले हामी व्यवसायी एवं उपभोक्तालाई यसबाट ठूलो अन्याय भएको छ । हामीले सरकारलाई यस सम्बन्धमा एकपटक पुनःर्विचार गर्न आग्रह समेत गरेका छौं ।
सरकारको थप अध्ययन आवश्यक रहन्थ्यो
नेपालमा बाहिरबाट आयात हुने कस्मेटिक सामानहरु आयातमा प्रतिबन्ध लगाउनुपूर्व नेपालमा नै कस्मेटिक सामानहरु उत्पादन तथा व्यवस्थापन सम्बन्धमा पनि राज्यले उपयुक्त विकल्प दिनु आवश्यक रहन्थ्यो । राज्यबाट त्यो कार्य हुन सकेन । राज्य पक्षको नेपालमा विदेशी सामान आयातमा कडाई गर्ने नीतिलाई हामी पनि समर्थन गर्छौं । यद्यपि त्यस किसिमको व्यवस्था गर्नुपूर्व राज्यले यहाँका उद्योगहरुको लागि के–कस्तो नीतिगत सहजीकरण गर्नुपर्ने हो भन्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल र सहकार्य गर्नु जरुरी रहन्थ्यो । यदि नेपाल सरकारको उद्देश्य पनि नेपालमा नै यस्ता सामानहरु उत्पादन गर्ने नै रहने हो भने त्यो हाम्रो पनि चाहनाको विषय हुनेछ । यसको लागि स्वदेशमा उद्योग खोल्नको लागि उचित सहजीकरण गर्नुपर्ने हुन्छ । उद्योग स्थापनाको वातावरण, कर छुट एवं सहुलियत लगायतको समेत आवश्यक पर्छ । नेपालमा सम्भव रहेका कच्चा पदार्थहरुलाई यहीँ संकलन र उत्पादन गरेर प्रशोधन गर्न सक्ने किसिमको नीतिगत व्यवस्था गर्नको लागि समेत राज्य पक्ष तयार हुनु जरुरी रहन्छ ।
जुझारु छ नयाँ कार्यसमिति
म भर्खरै सम्पन्न चौथो अधिवेशनबाट नेपाल कस्मेटिक व्यवसायी संघको कार्यसमितिमा सचिव पदमा निर्वाचित भएको हुँ । अहिले हामीले यस संघ मातहत ५ जिल्लामा समितिहरु गठन गरेका छौं । संघका गतिविधिहरु चलायमान बनाउँदै कम्तीमा यसै कार्यकालमा नै संघको दायरालाई १० देखि १५ जिल्लामा विस्तार गर्ने उद्धेश्य सहित हामी अघी बढिरहेका छौं । यसपटकको हाम्रो कार्यसमिति निकै जागरुक छ । यसैकारण हामीले तुलनात्मक रुपमा निकै सशक्त भूमिका निर्वाह गर्न सक्छौं भन्नेमा हामी आशावादी छौं । अब हामीले संघमा काठमाडौं, भक्तपुर र ललितपुरका अधिकांश कस्मेटिक व्यवसायीहरुलाई समेट्ने गरी हाम्रा गतिविधिहरु अघी बढाइसकेका छौं । यसको अलावा हामीले नेपाल चेम्बर अफ कमर्ससँग पनि सहकार्य गर्दै अघी बढ्नेछौं । जसले गर्दा हामीलाई अघी बढ्ने क्रममा आउन सक्ने समस्याहरुलाई न्यूनीकरण गर्नमा समेत सहजता पुर्याउनेछ ।
व्यावसायिक सचेतना नै पहिलो आवश्यकता
संघको मातहतमा हामीले गर्ने पहिलो काम भनेकै व्यवसायीहरुमा चेतना जागरण नै हुनेछ । अझै पनि थुप्रै व्यवसायी साथीहरुले कर शिक्षाको बारेमा बुझ्नुभएको छैन । हिसाबकिताबलाई व्यवस्थित गर्नुपर्ने कुराको जानकारी नभएका व्यवसायी पनि थुप्रै हुनुहुन्छ । व्यवसाय दर्ता गर्दा सरकारले दुःख दिन्छ भन्ने बुझाई भएका व्यक्तिहरु पनि हुनुहुन्छ । यो स्थिति राम्रोसँग कर शिक्षाको ज्ञान नभएको कारणले सृजना भएको हो । साथै व्यवसायी निर्दोष रहँदारहँदै व्यवसायीलाई कुनै समस्या उत्पन्न भएको खण्डमा व्यवसायीलाई संरक्षण र सहजीकरण गर्ने काम संघले गर्छ भन्ने सम्बन्धमा पनि धेरैलाई जानकारी छैन । यी कुराहरुमा व्यवसायीलाई सचेत गराई व्यवसायीलाई दर्ता हुन र संघमा जोडिने वातावरण सृजना गर्नु नै संघको पहिलो दायित्व हुनेछ । सोही आवश्यकतालाई महसुस गरेर नेपाल चेम्बर अफ कमर्स, वाणिज्य विभाग एवं आन्तरिक कार्यालय लगायतका संस्थासँगको सहकार्यमा यस्ता अन्तरक्रियामूलक एवं सचेतनामूलक कार्यक्रमहरु हामीले सञ्चालन गरिरहेका छौं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij