२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

निर्माण क्षेत्रको सुधारका लागि निरन्तर पहल गर्दै आएको छुः श्रेष्ठ

निर्माण क्षेत्रको सुधारका लागि निरन्तर पहल गर्दै आएको छुः श्रेष्ठ

मुलुक समृद्धिको अभिन्न अङ्ग हो निर्माण व्यवसाय

विष्णुभाई श्रेष्ठ, पूर्वअध्यक्ष, नेपाल निर्माण व्यवसायी महासंघ

विष्णुभाई श्रेष्ठ लामो समय देखि निर्माण व्यवसायमा संलग्न रहँदै आएका एक प्रतिष्ठित व्यक्ति हुन् । नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ लामो समय देखि विभिन्न सामाजिक गतिविधिहरुमा पनि क्रियाशिल रहँदै आएका छन् । श्रेष्ठ वि.संं. २०१३ साल साउन २३ गते स्वर्गीय बुबा कृष्णमान श्रेष्ठ र आमा कान्छीमाया श्रेष्ठको गर्भबाट (तत्कालिन गोकर्णेश्वर–८, किसिगाल)मा जन्मिएका हुन् । पाँच दाजुभाई र तीन दिदीबहिनीमध्ये उनी कान्छा छोरा हुन् । वि.सं. २०२९ मा चामुण्डा हाइस्कूल जोरपाटीबाट एसएलसी उत्तीर्ण गरेका श्रेष्ठले २०३०–०३२ मा त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी पूरा गरे । त्यसपछि उनले वि.सं. २०३५ सालमा बि.एस्सी पूरा गरे । उनी विगत २६ वर्ष देखि निरन्तर रुपमा लायन्स क्लब इन्टरनेशनलको सदस्य हुँदैे विभिन्न तहमा रहेर सामाजिक क्रियाकलापमा सहभागि हुँदै आएका छन् । हाल उनी लायन्स क्लब इन्टरनेशनल मल्टिपल डिष्ट्रिक्ट ३२५–डि मा डिष्ट्रिक्ट गभर्नरको भूमिकामा छन् । निर्माण व्यवसायमा खारिएका बिष्णुभाई आफ्नो लागि निर्माण क्षेत्र पूर्ख्याै‌ली पेशा जस्तै रहेको बताउँछन् । आफ्ना बुबा वि.सं २०२२ सालदेखि नै यो पेशामा संलग्न रहनुभएको र त्यतिबेलादेखि नै उहाँले सानातिना सबकन्ट्रयाक्टरहरुसँग काम लिएर व्यवसाय अगाडि बढाउने क्रममा आफूले पनि निर्माण कार्य सिक्ने अवसर पाएको श्रेष्ठ बताउँछन् । आफ्नो परिवारबाट माइला र साहिँला दाजुहरु पनि यसै निर्माण क्षेत्रमा संलग्न भएको श्रेष्ठ बताउँछन् ।

 

निर्माण व्यवसायमा आफ्नाे प्रत्यक्ष संलग्तता
वि.सं २०३८ सालबाट विष्णुभाई निर्माण क्षेत्रमा प्रत्यक्ष रुपमा संलग्न भएका हुन् । आफू २०४६ सालदेखि पूर्ण रुपमा निर्माण व्यवसायी नै बनेको श्रेष्ठ बताउँछन् । निर्माण व्यवसायीहरुको नेतृत्व गर्ने क्रममा वि.सं २०७५ सालमा उनलाई नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष हुने अवसर प्राप्त भयो ।

निर्माण क्षेत्रको सुधारका लागि निरन्तर पहल
आफू निर्माण क्षेत्रमा संलग्न भएसँगै यस क्षेत्र भित्रका राम्रा पक्षलाई अनुसरण गर्दै नराम्रा पक्षलाई सुधारको लागि निरन्तर पहल गर्दै आइरहेको श्रेष्ठ बताउँछन् । विगतमा निर्माण क्षेत्रमा विभिन्न विकृति एवं विसङ्गतिहरु रहँदै आएकोमा ती विकृतिहरुलाई हटाई निर्माण क्षेत्रलाई स्वच्छ, मर्यादित र पारदर्शी बनाउने योजना बमोजिम आफूले निरन्तर काम गरेको श्रेष्ठको धारणा छ ।

वैज्ञानिक र समय सापेक्ष नीतिको आवश्यकता
‘जबसम्म देशमा वैज्ञानिक, समयसापेक्ष र व्यवसायमैत्री निर्माण नीति लागु हुँदैन तबसम्म निर्माण व्यवसायीहरु पनि मजबुत बन्न सक्दैनन् । साथै, गुणात्मक काम पनि हुन सक्दैन । जसले गर्दा देशले भौतिक पुनर्संरचना एवं पूर्वाधार निर्माणको काम हुन सक्दैन । निर्माण सम्बन्धी उचित नीति बन्न नसकेको कुरा वि.सं २०६३ मा आएको निर्माण व्यवसाय नियमावली समय–समयमा संसोधन भइरहनुले पनि पुष्टि गर्छ । अहिले सम्म आइपुग्दा उक्त नियमावलीको ११औं १२औं संसोधनसम्म भइसकेको स्थिति छ । यसरी पटक–पटक निर्माण नीतिहरु परिवर्तन भइरहँदा पनि समयसापेक्ष, प्रभावकारी, वैज्ञानिक र निर्माणमैत्री हुन नसकेको स्थिति छ । त्यसकारण यसभित्र सुधार गर्नुपर्ने धेरै कामहरु छन्’ श्रेष्ठको धारणा छ ।

निर्माणः राष्ट्रिय समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्र
निर्माण क्षेत्र राष्ट्रिय समृद्धिसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो । यो क्षेत्रलाई राम्रोसँग अगाडि अघी बढाउन सकियो भने मात्र देश समृद्ध बन्ने हो । यो पेशा मर्यादित र सम्मानित भयो भने मात्रै देशका भौतिक संरचनाहरु गुणस्तरीय बन्न सक्छन् । अहिलेको स्थिति भने निर्माण कामलाई राम्रोसँच चलायमान बनाउन सकिने किसिमको छैन । अहिले निर्माण क्षेत्रमा धेरै कामहरु अड्किरहेका छन् ।यी वाधाव्यवधानहरुलाई सुधार गर्नको लागि उपयुक्त नीतिनियमको आवश्यकता छ ।

कता जाँदैछ हाम्रो अवस्था ?
वि.सं २०३५ सालतिर हामी पोखरा हामी चार घण्टामा पुग्थ्यौं । त्यतिबेला ४ घण्टामा पार हुने दुरी पार गर्न अहिले हामीलाई १० घण्टा लागिरहेको छ ।’ त्यसलाई विचार गर्दा अहिले हाम्रो ६ घण्टाको अतिरिक्त समय खेर गइरहेको छ । त्यसमा मेरो मान्यता भनेको हामीलाई पोखरा पुग्नको लागि दुई घण्टाभन्दा बढी नलागोस् भन्ने रहन्छ । त्यसैगरी विराटनगर तीन घण्टामा पुग्न सकिने गरी हाम्रा भौतिक संरचनाहरु निर्माण हुनुपर्छ । यस्तो स्थिति सृजना भएपछि मात्रै देशले आर्थिक विकासमा फड्को मार्न सक्छ । अनि मात्र देश आर्थिक समृद्धिको यात्रा तय गर्न सक्छ । परिणामस्वरुप हामी एउटा सुविधासम्पन्न समृद्ध देशका नागरिक बन्न सक्छौं । म यस्तो स्थिति सृजना हुनुपर्छ भन्ने दीर्घकालीन सोचका साथ अगाडि बढेको छु ।

निर्माण क्षेत्रका समस्याहरु
निर्माण व्यवसाय जति बाहिरबाट हेर्दा सजिलो जस्तो देखिउपछि गहिराईबाट अनुभव गर्दा यो अत्यन्तै जटिल व्यवसाय हो । यसका आफ्नै व्यावसायिक कानुन, नियम र सीमाहरु छन् । हामी सबैले त्यसको परिधिभित्र रहेर बढो संयमतासाथ सोच, विचार गरेर काम गर्नुपर्छ । जब हामीले एउटा कामको ठेक्का पाउँछौं त्यसको हामीले दातासँग सम्झौता गरेका हुन्छौं । त्यो पाउने पक्ष र दिने पक्षबीच सम्झौता गरेका हुन्छौं । अहिले ठेक्कापट्टा एग्रिमेन्ट गर्दा एकपक्षीय रुपमा भइरहेको छ । जसले गर्दा निर्माण पक्ष एकदमै कमजोर हुँदै गएको छ । तर, विश्वको परिप्रेक्ष्यमा हेर्दा ‘फिडिक निर्माण नीति’ भन्ने हुन्छ । त्यो फिडिक निर्माण नीतिले के भन्छ भने, ‘काम गर्ने र गराउने दुवै बराबर हुन्’ भनेर निर्माणसम्बन्धी कानुन बनाइदिएको हुन्छ । त्यसअनुसार काम दिने र काम गर्नेले त्यसको अधिनमा रहेर काम गरेका हुन्छन् । तर हाम्रो देशको परिप्रेक्ष्यमा त्यो नियम लागु गरिएको छैन । जसले गर्दा निर्माण व्यवसायीहरु दिनप्रतिदिन कामजोर बन्दै गएका छन् । अहिले नियामक निकायले पनि सधैं निर्माण व्यवसायीहरुलाई एकदमै हेपाहा दृष्टिले व्यवहार गर्दै आइरहेको छ । सरकारी पक्षले नै यसरी निर्माण व्यवसायीलाई एकदमै पेलेर जाने स्थिति भएपछि हाम्रा भौतिक संरचनाहरु गुणस्तरीय र दीर्घकालीन हुन सकेका छैनन् । भौतिक संरचनाहरु राम्रो र भरपर्दो हुनेगरी सरकारले नीतिगत व्यवस्था नगर्ने अनि कमजोर भौतिक संरचना निर्माणको सम्पूर्ण दोष एकलौटी रुपमा व्यवसायीहरुलाई मात्रै लगाउने र आफू पन्छिने बानीको विकास भएको छ । त्यसले निर्माण पक्ष रोगी हुँदै गएको छ । यसरी रोगले ग्रस्त भएको निर्माण व्यवसायबाट राम्रो कामको अपेक्षा सरकार र जनताले गर्न पाउँदैनन् । यसकारण सबै पक्ष जिम्मेवार भई निर्माण काम अगाडि बढाउने हो भने मात्रै हामीले कल्पना गरेजस्तै २-३ घण्टामा पोखरा पुगिने र ४-५ घण्टामा विराटनगर पुगिने अवधारणा परिपूर्ति हुन्छ । त्यो गुणस्तरको भौतिक पूर्वाधार निर्माण भयो भने मात्रै देशले नयाँ दिशानिर्देश गर्दछ र मुलुक समृद्धितिर अगाडि बढ्छ ।

निर्माण क्षेत्रमा राज्यको भूमिका
मुलुकमा जति आर्थिक समृद्धिका कुराहरु आउँछन्, त्यसमा निर्माण क्षेत्र प्रत्यक्ष रुपमा जोडिने गर्छ । जस्तो जुम्लामा उत्पादन भएको स्याउ विश्वमा उत्कृष्ट ठहरिएको छ । यदि त्यो स्याऊ उत्कृष्ट हो भने त्यसलाई विश्वबजारमा पुर्याउन त बाटो नै चाहिन्छ । त्यो बाटो बनाउने काम निर्माण व्यवसायीको हो । बाटो बनाउन योजना तर्जुमा गर्ने, बजेट जुटाउने काम नेपाल सरकारको हो । त्यसको लागि नेपाल सरकारले यो बनाऊ, यसरी बनाउ भनेर राम्रो नीति बनाइदिनुपर्छ । निर्माणकर्मीहरुले पनि सरकारको नीति, नियम र परिधिमा रहेर समयमा गुणात्मक काम गरिदिनुपर्छ । जसको माध्यमबाट जुम्लाको स्याउ काठमाडौंमा आउँछ । त्यसपछि विश्वबजारमा निर्यात हुन सक्छ । त्यति भयो भने मात्रै देशमा समृद्धि आउँछ । त्यसैकारण निर्माण नीति स्वच्छ, पारदर्शी, निर्माणमैत्री र वैज्ञानिक हुनुपर्छ भनेर मैले भन्दै आएको हुँ । काम बिग्रिएपछि एकलौटी ढंगले निर्माण कम्पनीलाई गाली गर्नुभन्दा सरकारी पक्ष, निर्माण पक्ष र उपभोक्ता सबैले सहयोगात्मक भावना सहित अगाडि बढ्नुपर्छ । यसरी निर्माण क्षेत्रलाई सबैले सहयोग गरेर अगाडि बढ्ने हो भने बीस वर्षमा आउने समृद्धि पाँचै वर्षमा आउँछ । अन्यथा धेरै गाह्रो छ ।

भौगोलिक दृष्टिले हाम्रो देश अग्ला डाँडा, खोल्सा, पहाड, भीर, पाखाले भरिएको छ । यस्तो ठाउँमा सडक निर्माण गर्न धेरै खर्चालु पनि हुन्छ, ढिला पनि हुन्छ । रुख, बोटविरुवा पनि धेरै मास्नुपर्ने हुन्छ । यसरी भीर, पाखा, डाँडामा घुमाउरो बाटो बनाएर सबै चिजको खर्च बढाउनुभन्दा डाँडाकाँडा छेँडेर सुरुङ बनाइयो भने समय, तेल, वनजंगल, पानीका मुहान सबैको बचत हुन सक्छ । अहिले सम्म नेपालमा खासै सुरुङको प्रविधि अगाडि बढेको छैन । त्यसलाई विदेशबाट सिकेर नेपालमा भित्र्याउनुपर्छ ।

अबको आवश्यकता बनेको सुरुङमार्ग
भौगोलिक दृष्टिले हाम्रो देश अग्ला डाँडा, खोल्सा, पहाड, भीर, पाखाले भरिएको छ । यस्तो ठाउँमा सडक निर्माण गर्न धेरै खर्चालु पनि हुन्छ, ढिला पनि हुन्छ । रुख, बोटविरुवा पनि धेरै मास्नुपर्ने हुन्छ । यसरी भीर, पाखा, डाँडामा घुमाउरो बाटो बनाएर सबै चिजको खर्च बढाउनुभन्दा डाँडाकाँडा छेँडेर सुरुङ बनाइयो भने समय, तेल, वनजंगल, पानीका मुहान सबैको बचत हुन सक्छ । अहिले सम्म नेपालमा खासै सुरुङको प्रविधि अगाडि बढेको छैन । त्यसलाई विदेशबाट सिकेर नेपालमा भित्र्याउनुपर्छ । अब सडक फराकिलो बनाएर छिटो पुगिँदैन । त्यसको लागि छिटोभन्दा छिटो सुरुङ मार्गको अवधारणा ल्याउनुपर्छ । अनि मात्रै द्रुत गतिका फास्ट ट्र्याक बनाउन सकिन्छ । सुरुङमार्गलाई अगाडि बढाएपछि मात्रै नेपालमा उत्पादित कृषिजन्य वस्तु, अन्य उत्पादनमुलक वस्तुहरु छिटोछरितो ढंगले बजारमा पुर्याउन सकिन्छ । यसले किसानदेखि उद्योगी, व्यवसायहरु पनि समृद्ध बन्छन् । मुलुकमा राजश्वको दायरा पनि बढ्छ ।

निर्माणका क्रममा आरोहअवरोह
मैले २०३८ सालबाट यो पेशामा हात हालेको हुँ । यहाँसम्म आइपुग्दा मैले यस पटक आरोहअवरोहहरु पार गरिसकेको छु । मैले गरेका काम मध्ये २०५० सालमा सर्लाही जिल्लामा ‘सुधामा’ ब्यारेजको निर्माण एउटा हो । जुन त्यतिबेला ७ करोडको लागतमा उक्त ब्यारेज बनाइएको थियो । उक्त काम गर्दा सरकारले गरेका स्टिमेटहरु सबै फेल भए । त्यहाँको भूगोलको अध्ययन गर्दा सात मिटर जीमन मुनिबाट खन्नुपर्ने रहेछ । स्टिमेट डिजाइनमा जानेहरुले जमीनको सतहभन्दा सात मिटर तलबाट डिजाइन गर्नुपर्नेमा नदीको लेभलबाटै डिजाइनको स्टिमेट गर्नुभएछ । काम गर्ने क्रममा हामीले खन्दै काम गर्दै गयौं । यसरी दुई वर्षसम्म लगातार मेहनतका साथ काम गर्दा पनि स्टिमेट गलत भएका कारण हामी फेल भयौं । त्यसपछि हामीहरुले नेपाल सरकारलाई तपाईंहरुले गरेको गलत स्टिमेटका कारण हामी फेल भयौं भने गुहार माग्यौं । त्यसको लागि छानविन गर्न आयोग नै गठन भयो । त्यसबाट डिजाइन गलत भएको पुष्टि भयो । त्यसपछि उहाँहरुले तपाईंहरु यो काम जसरी पनि पूरा गर्नुहोस् । त्यसको लागि हामी डिजाइन परिवर्तन गरिदिन्छौं भनेर डिजाइन परिवर्तन गर्न तयार हुनुभयो ।

त्यसपछि हामीले भारतको कलकत्तामा गएर आवश्यक टेक्नोलोजी ल्याएर काम पूरा गर्यौं । जुन टेक्नोलोजी नेपालमा त्यस समयमा ल्याएको पहिलो टेक्नोलोजी थियो । जब नयाँ डिजाइन बनाइएपछि मन्त्रालयले त्यो डिजाइन अनुसार काम पूरा गर्नुहोस् । त्यो अनुसारको भुक्तानी काम पुरा हुनासाथ दिन्छौं भनिएको थियो । पछि काम पूरा भइसकेपछि पनि हामीलाई सरकारद्वारा भुक्तानी नै दिइएन । त्यो डिजाइन पास हुँदा सूर्यनारायण उपाध्याय सचिव हुनुहुन्थ्यो । हाम्रो काम पुरा नहुँदै उहाँको कार्यकाल सकियो । त्यसपछि डा.द्वारिकानाथ ढुंगेल सचिव बनेर आउनुभयो । उहाँले हाम्रो काम देखेपछि ‘तपाईंहरुले कसैले गर्न नसक्ने काम गर्नुभएकोमा धेरै–धेरै धन्यवाद । यो काम हेर्दा तपाईंहरुलाई थप भुक्तानी दिनुपर्ने भयो । त्यो दिँदा मलाई धेरै अप्ठ्याराहरु आइपर्दछ’ भनेर हामीलाई एक वर्षसम्म झुलाउनुभयो । त्यसपछि हामीले आफ्ना सामानहरुसमेत बेचबिखन गरेर मजदुरदेखि विभिन्न सामानको भुक्तानी गर्यौं । पछि फेरि माग्न जाँदा उहाँहरुले यो भुक्तानीको लागि तपाईंहरु मुद्दामा जानुहोस् भन्नुभयो । त्यसपछि चार वर्षसम्म मुद्दा लडेर हामीले जित्यौं । वि.सं २०५१ सालदेखि २०५४ सालसम्म मुद्दा लडेर १ करोड ३ लाख रुपैयाँ भुक्तानी पाएका थियौं । त्यसले हामीलाई परेको घाटामा केही राहत मिलेको थियो । जुन मेरो जिन्दगीको सबैभन्दा अविष्मरणीय क्षण बनेको छ ।

काम गर्दाका अनुभवहरु
जोखिमपूर्ण काम गरेपछि धेरै दुःखकष्टहरु आइपर्दा रहेछन् । तर, कामको सिलसिलामा आइपरेका दुःखबाट आत्तिइहाल्नु चाहीं हुँदैन । त्यो मलाई राम्रोसँग थाहा थियो । त्यसलाई यही मान्यतालाई अनुसरण गरेर अगाडि बढ्दै आएँ । र, आज जिन्दगीको यो मोडसम्म आइपुग्न पनि तिनै चुनौतिपूर्ण कामले परिपक्व बनाएको हो जस्तो लाग्छ । काम गर्ने क्रममा आइपरेका सुखदुःखको प्रवाह नगरी निरन्तर रुपमा अगाडि बढेकै कारण आज मैले आफूले पनि केही आर्जन गरेको छु र देशलाई पनि केही दिएको छु जस्तो लाग्छ । मेरो बलबुताले भ्याएसम्म गुणात्मक नै काम गरेको छु जस्तो लाग्छ । २०७२ सालको भूकम्पले क्षतविक्षत बनाएको सिन्धुपलाञ्चोक जिल्लामा करिब २५-३० वटा विद्यालयहरु हामीले पुनःनिर्माण गरेका छौं । ती विद्यालयहरु सबै राम्रा छन् । स्टिमेट गरेकोभन्दा धेरै राम्रो बनाएको छु । यो संसारमा पैसा मात्रै केही होइन । तर, आफूले गरेको कामबाट सन्तुष्ट हुन सकियो भने त्यसले जिन्दगीमा सकारात्मक उर्जा ल्याउँदोरहेछ । त्यो सन्तुष्टि मैले प्राप्त गरेको छु । सिन्धुपाल्चोकमा मैले जति भवनहरु बनाएको छु, ती सबै गुणात्मक छन् । त्यो नै मेरो जिन्दगीको ठूलो उपलब्धि हो ।

निर्माण व्यवसायीले गुणात्मक काम गर्नुपर्छ । धेरै संख्यामा काम गरेर मात्रै हामी सफल हुन सक्दैनौं । हामीले बनाएको सडक कम्तीमा १० वर्ष टिक्नुपर्यो । अनि मात्र देश अगाडि बढ्न सक्छ । १०-२० वर्ष पनि नटिक्ने सडक किन बनाउने ? राम्रो काम गर्न सक्दैन भने त्यसको पछि किन लाग्ने ? यहाँ त आज सडक बनाउँछन्, । भोलि फेरि गएर एउटा निहुँमा खनिराखेका हुन्छन् । यस्तो पाराले त देशको बजेट बिनाकाम धेरै नोक्सानी मात्रै हुन्छ ।

आत्मनिर्भर हुनको लागि निर्माण क्षेत्रलाई बलियो बनाउँ
दक्ष निर्माणकर्मी भनेको देशको गतिलो सम्पत्ति हो । मेरो बुझाईमा देश समृद्ध बन्न पहिलो महत्वपूर्ण क्षेत्र निर्माण हो, त्यसपछि कृषि आउँछ । यदि कृषिजन्य उत्पादनहरु एक ठाउँबाट अर्को ठाउँमा पुर्याउन यातायातको सुविधा भएन भने त्यो उपज त्यसै नष्ट हुन्छ । त्यसरी निर्माण, कृषिलगायत सबै धेरै बलियो भएर अगाडि बढे भने मात्र देश आत्मनिर्भर, सुखी, सम्पन्न र समृद्ध हुन सक्छ । यसरी निर्माण क्षेत्र बलियो भयो भने सबै राम्रोसँग अगाडि बढ्ने हो । तर, अहिले कसैले कसैलाई टेर्दैनन् । लथालिङ्गतन्त्र हामीमा विकास भएको छ । सबै क्षेत्रमा अराजकता बढेको छ । यस्तो प्रवृत्तिले देश विकास कहिल्यै हुँदैन, समृद्धि कहिल्यै आउँदैन । त्यसको लागि आ–आफ्नो क्षेत्रबाट गम्भीर रुपमा सोच्न जरुरी छ ।

गुणस्तरीयतामा जोड दिउँ
निर्माण व्यवसायीले गुणात्मक काम गर्नुपर्छ । धेरै संख्यामा काम गरेर मात्रै हामी सफल हुन सक्दैनौं । हामीले बनाएको सडक कम्तीमा १० वर्ष टिक्नुपर्यो । अनि मात्र देश अगाडि बढ्न सक्छ । १०-२० वर्ष पनि नटिक्ने सडक किन बनाउने ? राम्रो काम गर्न सक्दैन भने त्यसको पछि किन लाग्ने ? यहाँ त आज सडक बनाउँछन्, । भोलि फेरि गएर एउटा निहुँमा खनिराखेका हुन्छन् । यस्तो पाराले त देशको बजेट बिनाकाम धेरै नोक्सानी हुन्छ । काम गर्दा बरु १०-२० प्रतिशत महँगो नै परोस् तर काम चाहीं टिकाउ हुनुपर्छ ।

‘क’ श्रेणीका निर्माण कम्पनी
नेपालमा अहिले १५ हजारभन्दा बढी निर्माण व्यवसायीहरु छन् । त्यसमा ३ सय जना जति ‘क’ श्रेणीका छन् । २ सय ५० भन्दा बढी ‘ख’ श्रेणीका छन् । ३ हजारभन्दा माथि ‘ग’ श्रेणीका छन् । अरु सबै ‘घ’ श्रेणीका छन् ।

निर्माण क्षेत्रको लगानी
निर्माण क्षेत्रमा अहिले अर्बौं रकमको लगानी भएको छ । यति नै लगानी भएको छ भनेर तथ्याङ्क निकाल्न गाह्रो छ । निर्माण क्षेत्रको लगानी र समुन्द्रको गहिराइ नापिसाध्ये हुँदैन । एउटा राम्रो निर्माण व्यवसायीसँग २-३ अर्बको त निर्माण सामाग्री नै हुन्छ । त्यो हिसाबले निर्माण सामाग्रीको कुरा गर्नुपर्दा त खर्बौंको लगानी भएको देखिन्छ । निर्माण व्यवसायीले वार्षिक ८ अर्ब त कर नै तिरेका हुन्छन् । त्यसलाई हेर्दा देशको राजश्वमा निर्माण व्यवसायीले ठूलो टुवा पुर्या एका छन् । यस्तो महत्वपूर्ण खम्बालाई राज्यले किन नजिकबाट चासो राख्न सकेको छैन, जुन हामीले बुझ्न सकेका छैनौं ।

सरोकारवाला पक्षलाई सुझाव
म सम्बन्धित सरोकारवाला पक्षलाई आफ्नो जिम्मेवारी राम्रो ढंगले निर्वाह गर्न आग्रह गर्दछु । आफूले गर्नुपर्ने कर्तव्यबाट हामी कदापि नचुकौं । आफ्नो दायित्वलाई सबैले इमानदारीपूर्वक निर्वाह गरौं । नेपाल सरकारले पनि आफ्नो भूमिका निर्वाह गरोस् । खासगरी निर्माण क्षेत्र लगायत सबै व्यक्ति जो जहाँ छौं, त्यहीँबाट आफूले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरेको खण्डमा हामीले हाम्रा सोच र योजनाहरुलाई सफल पार्न सक्छौं । सबैभन्दा ठूलो कुरा आफ्नो कामबाट आफूले सन्तुष्टि लिन सक्नुपर्छ ।

नेपालमा लगानी वातावरण
यतिबेला हरेक क्षेत्रमा नैराश्यता छाएको छ । नेपालमा लगानीयोग्य वातावरण छैन । यो क्षेत्र राम्रो छ भन्ने कुनै पाइँदैन । राज्यपक्षबाट पनि सन्तोषजनक छैन । र, प्राइभेट क्षेत्रबाट पनि सन्तोषजनक छैन । यो अवस्थालाई राज्यले बेलैमा बुझेर सुधारतर्फ नलाग्ने हो भने हरेक क्षेत्र तहसनहस भएर जान्छ । यो नैरास्यताबाट लगानीकर्तालाई विश्वास दिलाउनका लागि सबैभन्दा पहिला भ्रष्टाचार निर्मूल गर्नुपर्छ । भ्रष्टाचार शून्य हुन्छ भन्ने त कहिँपनि हुँदैन । यसलाई घटाएर २–३ प्रतिशतमा झार्न भने सकिन्छ । अहिलेको भ्रष्टाचारको उपज नै चरम महँगी बनेको छ । यतिबेला बजार कसैको नियन्त्रणमा छैन । सबै विचौलिया र भ्रष्टाचारीको हातमा पुगेको छ । व्यापारीहरु कसैको नियन्त्रणमा छैनन् । आफूसँग भएका सामानको जति पायो उति लिने, जस्तो पायो उस्तै लिने व्यवहारले मुलुक चुर्लुम्म डुबिसकेको छ । सर्वसाधारणले बिहानबेलुका हातमुख जोर्ने समस्याले जकडिएका छन् । दैनिक कमाएर छाक टार्नेहरुलाई त अहिले यो देशमा टिक्नै गाह्रो भइसकेको छ । सबैभन्दा पहिला शिक्षा र स्वास्थ्यमा एक रुपता भएन । धनी र गरीबले उपचार गराउने अस्पताल र पढ्ने विद्यालयमै भेदभाव भएको छ । शिक्षा, स्वास्थ्य र खाद्यान्न यी आधारभूत आवश्यकता हुन् नागरिकहरुका लागि । तर, यसमा कसैले ध्यान दिएका छैनन् । जसको परिणास्वरुप आज गरीबहरु बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छन् । बिरामीहरुले उपचार र औषधी नपाएर अस्पतालमा छटपटाइरहेका छन् । यो अवस्थामा देशलाई पुर्याउने तत्व भनेका भ्रष्टाचारीहरु नै हुन् । स्वास्थ्य र शिक्षा सबैलाई अनिवार्य आवश्यकता हो, यसलाई सबैको पहुँचमा पुर्याउनुपर्छ भनेर कसैले सोचेन । जसको परिणामस्वरुप आज यो स्थिति सृजना भएको हो भन्ने मेरो बुझाई छ ।

(प्रस्तुतीः– कालीका महत)

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij