२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

कीर्तिपुरमा कपडा झोला उत्पादन तालिमकाे भव्य शुरुवात, प्लाष्टिक झोला विस्थापनको उद्देश्य

कीर्तिपुरमा कपडा झोला उत्पादन तालिमकाे भव्य शुरुवात, प्लाष्टिक झोला विस्थापनको उद्देश्य

कीर्तिपुर । कीर्तिपुरमा जागरुक महिला समूहले १४ दिने कपडाका झोला उत्पादन सम्बन्धी तालिम आजबाट शुरु गरेको छ । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको प्रमुख आतिथ्यतामा खासीबजार स्थित घरेलु भवनमा आयोजना गरिएको एक कार्यक्रम बीच उक्त तालिमको उद्घाटन गरिएको हो ।

जागरुक महिला समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिका वडा नम्बर ३ अध्यक्ष सुविन्द्र महर्जन सहित वडा सदस्यहरु एवं राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजकुमार नकर्मीले २० माइक्रोन भन्दा मुनिको प्लाष्टिक झोला हटाउने कीर्तिपुर नगरपालिकाको योजना रहेको बताउँदै त्यसको विकल्पको रुपमा नगरपालिका आफैंले हरेक परिवारलाई निःशुल्क रुपमा कपडा झोला वितरण गर्ने बताउनुभयो ।

नगरप्रमुख नकर्मीले सहभागि महिलाहरुलाई सम्बोधन गर्दै समाज र राष्ट्रको आर्थिक विकासको लागि महिलाहरु उद्यमशिल हुनैपर्ने बताउनुभयो । समाजमा रहेर आर्थिक उपार्जनको लागि काम गर्दा कसैको लाभ मान्न नहुने बताउँदै यसपटक सञ्चालन गरिएको तालिम उत्पादनमूलक हुनुपर्नेमा समेत ऊहाँले जोड दिनुभएको छ । विगतमा पनि यस किसिमका तालिमहरु थुप्रै पटक आयोजना भएको तर त्यस बमोजिम महिलाहरु उत्पादनमा नभएको स्मरण गर्दै उत्पादनको क्रममा केही समस्याहरु भए नगरपालिका आवश्यक सहजीकरण गर्न तयार रहेको समेत बताउनुभयो ।

नगरपालिका प्लाष्टिक बन्देज अभियानमा सहभागि हुनुपूर्व महिला उद्यमीहरुले तयार पारेका झोला नगरपालिका आफैंले किनेर बिक्री गर्ने योजनामा समेत रहेको बताउँदै अहिलेको लागि बजारको कुनै चिन्ता नलिई राम्रोसँग सीप हासिल गरेर वस्तु उत्पादनमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

सोही कार्यक्रममा नकर्मीले नेपाली महिलाहरुलाई लाज नमानी जुनसुकै किसिमका आफ्नो सामथ्र्यले भ्याउने उत्पादनमूलक एवं सेवा क्षेत्रमा क्रियाशिल हुन आग्रह गर्नुभयो । नेपालबाट बार्षिक रुपमा पुरुषहरुको कपाल काटेरै ५ अर्ब रकम बाहिरिएको तथ्याङ्क प्रस्तुत गर्दै महिलाहरुलाई निर्धक्क भई ठूलो समूहमा संगठित भएर एकैपटकमा नगरपालिका भित्र ठूलो सङ्ख्यामा एउटै नामबाट हेयर सैलुन सञ्चालन गर्नको लागि समेत आग्रह गर्नुभयो । त्यस किसिमको प्रस्ताव सहित कसैले नगरपालिकामा आग्रह गरेको खण्डमा आफूहरु तत्काल आवश्यक सहजीकरण गर्न तयार रहने समेत ऊहाँले बताउनुभयो ।

कार्यक्रममा धारणा राख्ने क्रममा वडा नम्बर ३ का अध्यक्ष सुविन्द्र महर्जनले महिलाहरुलाई तालिम र प्रमाणपत्र लिएर मात्र लक्षित उपलब्धि हासिल नहुने बताउनुभयो । आफूले सिकेको सीपलाई व्यवहारमा बदल्नको लागि सीमित दायरबाट माथि उठ्न दृढ सङ्कल्प आवश्यक रहने समेत बताउनुभयो । आफूहरुले तालिम पश्चात् व्यावहारिक उपलब्धि विचार गरेर यो कार्यक्रम साँच्ची उपलब्धिमूलक हुन सकेको खण्डमा आगामी दिनमा समेत यस किसिमका अन्य कार्यक्रमहरु समेत सञ्चालनको लागि वडा र नगरपालिका निरन्तर तयार रहने समेत बताउनुभयो । आगामी दिनमा महिला उद्यमीहरुले आवश्यकता महसुस गरेर माग गरेका कार्यक्रमहरु मात्र आफूहरुले उपलब्ध गराउने समेत ऊहाँले बताउनुभयो ।

जागरुक महिला समूहकी अध्यक्ष लक्ष्मी श्रेष्ठले आफूहरुलाई नगरपालिकाबाट सहयोग प्राप्त भएको खण्डमा निरन्तर उत्पादनमूलक क्रियाकलापमा सहभागि हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यसपटकको प्रशिक्षणमा २५ महिलाहरु सहभागि हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij