
– कपिल अधिकारी
शब्दहरु सकिएर
कलम रोकिएको थिएन
कलम भाँचिएको थियो
हो उ भाँचिएको थियो
भौतिक रुपमा होइन
देख्दा सग्लै थियो
कलमको पनि मन हुन्छ
थाहा छ तिमीलाई
हो उसकाे पनि मन हुन्छ
तिमीले उसकाे मन भाँचेको छौ
त्यसैले तिमीसँग शब्दहरु हुँदाहुँदै पनि
कलम आज लेख्न तयार छैन
कलम निर्जीव भएर पनि थाकिसक्यो
गलत लेख्दा लेख्दा
सत्यको तिर्खाले हतास भएर
उसले लेख्न सकेन
तिम्रो शब्दहरुमा जुन दिन सुधार आउँछ
त्यसै दिन देखि लेख्छु भन्दैछ कलम
चाप्लुसीबाज शब्दहरु लेख्दा लेख्दा
थाकी सकेँ म भन्दैछ कलम
हात लेखकको हुन्छ
अरु कसैको ईशारामा लेख्नुपर्छ
लेखकले इमान बेच्यो होला
मैले बेच्न नसकेर
लेख्न छोडेको हुँँ भन्दैछ कलम
इतिहासलाइ मोडाएनन् कि
सत्यलाई झुट बनाएनन् कि
झुटलाई सत्य बनाएनन् कि
शक्ति मेरो प्रयोग गरे तिनिहरुले
अकल थोरै पनि प्रयोग गरेनन्
अदूरदर्शी भएर लेखे
मलाई झुक्काएर लेखे
भन्दैछ कलम
टाेखा, काठमाडाैं ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij