२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

जनप्रतिनिधिहिरुको संयुक्त जवाफः धुर्कोटको गुणात्मक विकास नै हाम्रो मुख्य एजेण्डा

जनप्रतिनिधिहिरुको संयुक्त जवाफः धुर्कोटको गुणात्मक विकास नै हाम्रो मुख्य एजेण्डा

काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकाका नवनिर्वाचित पालिका अध्यक्ष एवं उपाध्यक्षलाई बधाईं तथा शुभकामना कार्यक्रम विहीबार काठमाडौंमा सम्पन्न भएको छ ।

नेकपा (एमाले) र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट निर्वाचित धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेल तथा उपाध्यक्ष सिता गिरीको संयुक्त आतिथ्यतामा मतदाताहरुका सुझाव र प्रतिक्रिया सहित परिचयात्मक अन्तरक्रिया एवं बधाईं तथा शुभकामना कार्यक्रम विहीबार सम्पन्न गरिएको हो ।

धुर्कोट गाउँपालिका निर्वाचन परिचालन सहयोग कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भूपाल पोखरेलले निर्वाचन पश्चात् अब आफूहरु कुनै दलगत विचारबाट प्रभावित नभई साझा प्रतिनिधि बनिसकेकोले कसैलाई अप्ठ्यारो नपर्ने गरी समग्र गाउँपालिकाको विकासमा नै केन्द्रित हुने बताउनुभयो ।

साथै आफूहरुको मुख्य रहर समृद्ध गाउँपालिका निर्माण नै रहेको तर त्यो लक्ष्य तत्कालै प्राप्त हुन नसक्ने बताउँदै त्यसको लागि २५ बर्षे रणनीति सहित आफूहरु अघी बढिरहेको समेत स्पष्ट पार्नुभयो । भौतिक पूर्वाधार विकासको अलावा सामाजिक, आर्थिक, औद्योगिक विकासलाई पनि सँगसँगै अघी बढाउने र योजना छनौट गर्दा आवश्यकता, औचित्यता र सामाजिक कल्याण लगायत पक्षलाई मुख्य केन्द्रबिन्दुमा राख्ने समेत अध्यक्ष पोखरेलले बताउनुभएको छ ।

अबको आवश्यकता भनेको युवाहरुलाई गाउँमै रही काम गर्ने वातावरण निर्माण गर्नुपर्ने स्थिति औंल्याउँदै उक्त विषय आफूहरुको लागि ठूलो चुनौतीको विषय बनेको समेत प्रष्ट पार्नुभयो ।

गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सिता गिरीले आफूहरु अनुभवीको अनुभव, विज्ञहरुको विज्ञता एवं युवाको जोशजाँगरलाई यथोचित सम्बोधन हुने गरी स्थानीय जनताहरुका आवश्यकता सम्बोधन गर्न सक्ने विकासे गतिविधिहरुमा संलग्न रहने बताउनुभयो । भौतिक पूर्वाधारको अलावा महिला सशक्तिकरण, युवा जनशक्तिको क्षमता विकास, शिक्षा स्वास्थ्य लगायतका सामाजिक पूर्वाधार एवं चेतना जागरण जस्ता विकासका गुणात्मक पक्षमा केन्द्रित हुने बताउनुभयो । साथै समतामूलक समाज निर्माणको यात्रालाई सार्थक बनाउन निरन्तर रुपमा आफूहरुलाई शुभेच्छुकहरुको सहयोग एवं प्रतिक्रिया आवश्यक रहने समेत उपाध्यक्ष गिरीले बताउनुभएको छ ।

निर्वाचित अध्यक्ष एवं उपाध्यक्षले आफूहरु जनताको शासक नभई सेवकको रुपमा निरन्तर काममा खटिने संयुक्त प्रतिबद्धता समेत सोही कार्यक्रम मार्फत व्यक्त गर्नुभएको छ । सुशासन सहितको समृद्धि नै आफूहरुको अन्तिम चाहना भएको र त्यो सपना साकार पार्न धुर्कोट जन्मथलो भएका सबैको साथसहयोग आवश्यक रहने जनप्रतिनिधिहरुको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij