
काठमाडौं । नेकपा (एमाले) कीर्तिपुर नगर कार्यसमितिले कीर्तिपुर नगरपालिकाबाट एमालेको तर्फबाट वडा सदस्य पदमा निर्वाचित २ सदस्यहरुलाई बधाई ज्ञापन तथा सफल कार्यकालको लागि शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार कार्यालयमा एक संक्षिप्त कार्यक्रम आयोजना गरी वडा सदस्य पदमा निर्वाचितं सरस्वती परियार र सुष्मा विकलाई बधाईं, सम्मान तथा शुभकामना दिइएको हो ।
बधाई तथा सम्मान कार्यक्रम पश्चात् आफ्नो संक्षिप्त धारणा राख्ने क्रममा कीर्तिपुर नगरपालिकाबाट विजयी सदस्यहरुले आफूहरु विशाल नगरसभामा एक्लै हुनुपर्दा अभिभावकविहीन टुहुरो महसुस भएको बताएका थिए ।
सोही कार्यक्रममा धारणा राख्ने क्रममा पार्टीका नगर नेतृत्व तहका जिम्मेवार व्यक्तिहरुले आफूहरु सदैव साथमा रहने र निडरतापूर्वक निराश नभई निरन्तर रुपमा आफ्नो जिम्मेवारीमा खटिनको लागि आग्रह गरेका छन् ।
यसपटक कीर्तिपुर नगरपालिकाबाट नेकपा (एमाले) पराजित हुनुमा गठबन्धन र अन्य बाह्य कारणहरु भन्दा पनि नेकपा (एमाले) भित्रकै आन्तरिक अन्तरघात नै मुख्य जिम्मेवार कारण रहेको नगर कार्यसमितिको निचोड छ ।
कीर्तिपुरबाट यसपटक नगरप्रमुख पदमा नेकपा (एमाले)का केशरत्न बज्राचार्य र उपप्रमुखमा बिन्दु महर्जनले उम्मेदवारी दिनुभएको थियो ।
नगरप्रमुखका उम्मेदवार केशरत्न बज्राचार्यले निर्वाचनमा पराजित हुनुपर्ने स्थिति सृजना हुनुका कारणहरु बारे समिक्षा हुनुपर्ने बताउनुभयो । उपप्रमुखकी उम्मेदवार बिन्दु महर्जनले कीर्तिपुरमा अब नेकपा (एमाले)ले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो । निर्वाचनमा व्यक्ति पराजित भएपनि एमालेको जनमत भने नघटेको चुनावी परिणामबाट देखिएको समेत महर्जनले बताउनुभएको छ ।
बधाई ज्ञापनको लागि आयोजित कार्यक्रममा नेकपा (एमाले) जिल्ला कमिटी सदस्य लक्ष्मीमान महर्जन, कीर्तिपुर नगर कमिटी अध्यक्ष राधाकृष्ण बस्नेत, बाग्मती प्रदेश सदस्य शरब कुमार महर्जन लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा धारणा राख्ने क्रममा नगर कमिटी अध्यक्ष राधाकृष्ण बस्नेतले अन्तरघात गर्नेहरुको राजनीतिक करियर अब अघी बढ्न नसक्ने र त्यस्ता अन्तरघातीलाई पार्टीले कारबाही गरेपश्चात् मात्र आन्तरिक शुद्धिकरण कायम हुन सक्ने बताउनुभएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij