२०८३ मंसिर ६ शनिबार

Nov 21 2026 Saturday

  • २०८३ मंसिर ६ शनिबार

२०८३ मंसिर ६ शनिबार

प्रयाप्त जग्गाको अभावले गर्दा उद्योगको क्षमता विस्तार गर्न सकिएको छैनः उद्यमी श्रेष्ठ

प्रयाप्त जग्गाको अभावले गर्दा उद्योगको क्षमता विस्तार गर्न सकिएको छैनः उद्यमी श्रेष्ठ

केशव श्रेष्ठ, अध्यक्ष, महालक्ष्मी चेम्बर अफ कमर्स

केशव श्रेष्ठ टेक्सटाइल व्यवसायमा लामो अनुभव समेट्नुभएका पात्र हुनुहुन्छ । आफ्नो पुख्र्यौंली व्यवसायको रुपमा रहेको ह्याण्डमेड उलनलाई परिमार्जित गर्दै श्रेष्ठले व्यवसायलाई नयाँ तवरले अघी बढाउनुपर्छ भन्ने मान्यता सहित निरन्तर व्यावसायिक यात्रामा अघी बढ्नुभयो । उहाँले वि.संं २०४१ देखि व्यावसायिक जिम्मेवारी सम्हाल्नुभएको हो । हाल केशवले २८ ओटा प्लान्टहरु राखेर कपडा उत्पादन सम्बन्धी काम गर्दै आउनुभएको छ । केआर टेक्स्टाइल नामक व्यावसायिक फर्मका सञ्चालक समेत रहनुभएका श्रेष्ठ आफ्नो उद्योगबाट मूलतः ढाकाजन्य कपडाहरु उत्पादन गर्दै आउनुभएको छ । जसअन्तरगत ढाकाजन्य खादा, टोपी, कोट, झोला, जुत्ता लगायतका वस्तुहरु उत्पादन हुने गर्छन् ।

महालक्ष्मी क्षेत्रको व्यावसायिक वातावरण
महालक्ष्मी चेम्बर अफ कमर्स ललितपुर चेम्बर अफ कमर्सको नगर स्तरीय वाणिज्य संघ हो । यस चेम्बरमा लुभु क्षेत्रमा रहेका व्यवसायीहरु समेटिएका छन् । हाल लुभुमा सबैभन्दा ठूलो क्षेत्र टेक्सटाइल व्यवसायले ओगटेको छ । लुभुमा करिब १ सय व्यवसायी टेक्सटाइल व्यवसायमा नै संलग्न छन् । ती व्यवसायमार्फत करिब १२ सय व्यक्तिहरुले टेक्सटाइल मार्फत रोजगारी पाएका छन् । लुभु क्षेत्रमा विगतमा ह्याण्डमेड वुलन सबैभन्दा बढी प्रचलनमा थियो । सन् १९९८ पछि विस्तारै हालको महालक्ष्मी नगरपालिकाको लुभुमा विगतको व्यावसायिक परिपाटीमा केही परिमार्जन भई र आधुनिक मेसिनहरु भित्र्याइयो । जसबाट कम जनशक्तिबाट पनि तुलनात्मक रुपमा बढी उत्पादकत्व (लाभ) लिन सकिने स्थिति सृजना भयो । बजारको आवश्यकता बढ्दै जाँदा र जनशक्तिको अभाव हुँदै जाँदा हाते उत्पादनले बजार माग धान्न नसक्ने स्थिति देखिएको कारण आधुनिक प्लान्टहरु भित्र्याइएको हो । अहिले लुभुमा सञ्चालित टेक्सटाइल उद्योगले प्रतिउद्योग बढी ३० ओटा सम्म प्लान्ट राखेर व्यवसाय गर्दै आएका छौं ।

व्यवसायी आफैंले जग्गा किनेर औद्योगिक क्षेत्र स्थापना गर्ने कार्य अहिलेको अवस्थामा सम्भव छैन । अहिले एउटा उद्योग खोल्नको लागि नै करिब ५ रोपनी जग्गा आवश्यक पर्छ । प्रति आना न्यूनतम २५–३० लाख भन्दा मूल्य पुगेको जग्गा ४–६ आना किनेर हामीलाई पुग्दैन ।

टेक्सटाइल व्यवसायका समस्या
म आफैं पनि टेक्सटाइल व्यवसायमा विगत लामो समय देखि संलग्न रहने क्रममा विभिन्न समस्याहरुको सामना गर्दै आएको छु । सबै व्यवसायीहरुमा समस्या लगभग एकै किसिमका छन् । हामीले यस व्यवसायमा नयाँ पुस्ताका व्यक्तिहरुलाई जुन रुपमा संलग्न हुने वातावरण सृजना गर्नुपर्ने थियो, त्यो गर्न सकेका छैनौं । अहिले पनि यस व्यवसायमा आवश्यकता बमोजिम काम गर्ने मानिसहरुको अभाव छ । साथै हामीले यस व्यवसायलाई जुन रुपमा आधुनिक प्रविधिहरु राख्ने चाहना राखेका छौं, त्यो गर्न सकेका छैनौं । हामीले प्रयाप्त जग्गा अभावको कारण चाहेर पनि हाम्रा उद्योगको क्षमता विकास गर्न सम्भव छैन । विश्वबजारमा राम्रो माग रहेको र उत्पादन सम्भावना पनि रहेको टेक्सटाइलको उत्पादन वृद्धि गर्ने चाहना व्यवसायीहरुको भएर पनि हामीले हाम्रो उत्पादनलाई बढाउन नसक्नु दुखद विषय बनेको छ । अहिले हामी टेक्सटाइल व्यवसायीले व्यवसाय आफ्नै घरमा सञ्चालन गर्नुपरेको छ । आफ्नै घरमा उद्योग सञ्चालन गर्दा त्यसले वरपरका छिमेकीलाई आवाजले असर गरेको भनेर गुनासो समेत आउने गर्छ । यद्यपि हामीले चाहेर पनि त्यस किसिमको समस्यालाई न्यूनीकरण गर्न सक्ने अवस्था छैन ।

कच्चा पदार्थ र उत्पादन
टेक्सटाइल उद्योगले काँचो कपडा उत्पादन गर्छन् । ती कपडाको माग अन्तराष्ट्रिय बजारमा राम्रो माग छ । साथै टेक्सटाइल उद्योगले उत्पादन गर्ने कपडा नेपालकै गार्मेन्ट उद्योगहरुको लागि पनि कच्चा पदार्थको रुपमा प्रयोग हुने गर्छ । टेक्सटाइल उद्योगको लागि मुख्य कच्चा पदार्थ कटन र पोलिस्टर हुन् । जुन नेपालको स्वदेशी बजार र भारतीय बजारबाट जुटाउने गरिन्छ ।

प्रयाप्त जग्गाको अभाव
टेक्सटाइल उद्योगको लागि अहिले प्रयाप्त जग्गा नै सबैभन्दा ठूलो समस्या बनेको छ । राज्यले जग्गा उपलब्ध गराउने कार्यमा सहजीकरण गरिदिनुपर्छ । नेपालमा उत्पादन सम्भव रहेको र विदेश निर्यात गरेर समेत राम्रो आर्थिक लाभ लिन सकिने वस्तुको उत्पादन वृद्धि गराई विदेश निर्यात गरेर राम्रो आर्थिक लाभ हासिल गर्न सकिन्छ ।

औद्योगिक ग्रामको माग
हामी व्यवसायीहरुले राज्य पक्षसँग टेक्सटाइल लगायतका उद्योगहरु समेटिने गरी औद्योगिक ग्राम स्थापनाको माग गर्दै आएका छौं । सोही योजना सहित ९ जना जननिर्वाचित प्रतिनिधिहरुलाई उपस्थित गराएर हामीले कार्यक्रम आयोजना गरी औद्योगिक ग्राम स्थापनाबारे ध्यानाकर्षण पनि गरायौं । प्रपोजल पनि तयार गर्यौं । मन्त्रालयमा पनि पेश गर्यौं । मन्त्रालयका प्रतिनिधिहरुसँग छलफल गरी जग्गाको तयारी सम्ममा हामी पुग्यौं । अहिलेको महालक्ष्मी गुठीमा रहेको ८० रोपनी जग्गालाई नै औद्योगिक ग्रामको रुपमा विकास गर्न सकिने हाम्रो निष्कर्ष छ । यसो गर्न नसकिएको खण्डमा लामाटार क्षेत्रको जङ्गलमध्ये करिब ५० रोपनी जग्गा हामीलाई उपलब्ध गराएपनि हुन्छ । यी दुई विकल्प सहित हामीले प्रस्ताव राख्यौं । दोस्रो विकल्पको लागि वनजङ्गल प्राप्ति ऐन अनुसार कार्यविधि निर्माण गर्नुपर्ने अवस्था बारे सचिवज्यूले हामीलाई बताउनुभयो । पछि उक्त प्रस्ताव यत्तिकै रोकिएको छ । कुनै प्रगति हुन सकेको छैन । लामो समय पछि सचिवज्यूलाई यस विषयमा सम्झाउँदा ऊहाँले व्यवसायीहरुलाई नै ४०–५० रोपनी जग्गा किनेर काम अगाडि बढाउन भन्नुभयो ।

व्यवसायी आफैंले जग्गा किनेर औद्योगिक क्षेत्र स्थापना गर्ने कार्य अहिलेको अवस्थामा सम्भव छैन । अहिले एउटा उद्योग खोल्नको लागि नै करिब ५ रोपनी जग्गा आवश्यक पर्छ । प्रति आना न्यूनतम २५–३० लाख भन्दा मूल्य पुगेको जग्गा ४–६ आना किनेर हामीलाई पुग्दैन । ५ रोपनी जग्गा किन्नको लागि नै १५–२० करोड रकम जग्गाको लागि नै लगानी गरेर हामी उद्योग खोल्न सक्ने अवस्थामा छैनौं । यस्तो अवस्थामा राज्यले नै सहजीकरण नगर्ने हो भने हामी निजी क्षेत्रको मात्र पहलले कुनै सार्थकता प्राप्त गर्न सक्दैन । हामीले यही विषयलाई लिएर मन्त्री पम्फा भुसाललाई समेत भेटेका थियौँ ।

टेक्सटाइल उद्योगको लागि अहिले प्रयाप्त जग्गा नै सबैभन्दा ठूलो समस्या बनेको छ । राज्यले जग्गा उपलब्ध गराउने कार्यमा सहजीकरण गरिदिनुपर्छ । नेपालमा उत्पादन सम्भव रहेको र विदेश निर्यात गरेर समेत राम्रो आर्थिक लाभ लिन सकिने वस्तुको उत्पादन वृद्धि गराई विदेश निर्यात गरेर राम्रो आर्थिक लाभ हासिल गर्न सकिन्छ ।

टेक्सटाइल उद्योगको क्षमता
अहिले लुभु क्षेत्रमा रहेको एउटा उद्योगबाट दैनिक सरदर ४० हजार मिटर कपडा तयार हुने गर्छ । जुन १० घण्टा उद्योग सञ्चालनको क्रममा उत्पादन हुने परिमाण हो । अहिले चाहेर पनि उद्योग २४ घण्टा चलाउन सक्ने स्थिति छैन ।

युवालाई लक्षित गरी तालिम सञ्चालनको आवश्यकता
अहिले टेक्सटाइल उद्योगको लागि जनशक्ति पनि ठूलो समस्या बनेको छ । यस्तो अवस्थामा नगरपालिकाले नै जनशक्तिको क्षमता विकासको लागि आवश्यकता बमोजिम विभिन्न किसिमका तालिमहरु सञ्चालन गर्नु जरुरी छ ।

व्यवसायका अन्य समस्याहरु

यसको अलावा हामी टेक्सटाइल उद्योगीको लागि डाइङ, प्रिन्टिङ र साइजिङ हाम्रो व्यवसायलाई पूर्ण बनाउनको लागि ठूला समस्या हुन् । यी सबै पूर्वाधारहरु एउटै उद्योग भित्र रहने व्यवस्था गर्न सकेको खण्डमा हामीले राम्रो लाभ लिन सक्छौं । अहिले विश्वबजारमा अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रतिघण्टा १ सय मिटर सम्म कपडा उत्पादन गर्न सकिने प्रविधि विकास भएको छ । नेपालमा भने अझै पनि उत्पादन परिमाण तुलनात्मक रुपमा निकै कम छ । उद्योगले अत्याधुनिक विकास सहित काम सञ्चालनको लागि औद्योगिक ग्राम प्रमुख सर्त बनेको छ ।

अन्त्यमा
नेपालमा टेक्सटाइलमा एकातिर नयाँ प्रविधि भित्र्याउनु जरुरी छ । अर्कोतिर उक्त प्रविधिमा काम गर्न सक्ने सक्षम जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता पनि छ । नेपालीहरुलााई नयाँ प्रविधिको ज्ञान नभएको अवस्थामा क्षमतावान् जनशक्ति भारत वा चीनबाट नेपालमा ल्याएर पनि काम सिकाउनुपर्ने आवश्यकता रहन्छ । यसको लागि राज्यको सहयोग बिना उद्योगी आफैंले मात्र केही गर्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij