
विषयप्रवेशः
स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते सम्पन्न भएको छ । यो स्थानीय निर्वाचन केवल निर्वाचनका लागि मात्र थिएन, नेपालको संविधान २०७२ को सफल कार्यान्वयन पनि थियो । अनि स्थानीय सरकारको दोस्रो कार्यकालको वैधानिक अनुमोदन पनि थियो । यो निर्वाचन उत्साहजनक रूपमा सम्पन्न भएसँगै यसले धेरै सन्देश पनि दिएको छ । स्थानीय निर्वाचन २०७९ ले काठमाडौं, धरान, धनगढी लगायतका महत्वपूर्ण स्थानहरूमा स्वतन्त्र उम्मेदवारहरूको जितले अहिले नेपाली राजनीतिमा तरङ्ग नै ल्याइदिएको छ ।
बालेन आगमनको पृष्ठभूमि
नेपालमा २००७ साल पछि पटक–पटक विभिन्न नामका व्यवस्था परिवर्तन भए । विशेषतः प्रजातन्त्रको पुनःस्थापना २०४६ पछाडिको २८ वर्षमा २५ पटक सरकार परिवर्तन भए । चरम राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितता भयो । प्रजातन्त्र बाँदरका हातमा नरिवल जस्तो भयो । नागरिकले देशका ठूला राजनीतिक दललाई पालैपालो सत्ताको बागडोरमा पठाउने काम गरेतापनि ‘जुन जोगी आएपनि कानै चिरेका’ भनेझैं देशलाई बदल्न सक्ने राजनीतिक पार्टी र काबिल व्यक्ति कोही पनि हुन सकेन । तसर्थ राज्य व्यवस्था त बदलियो तथापि नागरिकको अवस्था बदलिन सकेन । देशका समस्या ज्यूँकात्यूँ रहे । यसै कारण यी राजनीतिक दलबाट जनता आजित भएर विकल्पको खोजीमा लागेका थिए, तर सो विकल्प दिन सक्ने नयाँ दल वा व्यक्ति दह्रो रूपमा आउन सकेका थिएनन् ।
अहिलेको बालेनको जित यही विकल्पको सन्देश हो । यद्दपि बालेन एकजना व्यक्ति सम्पूर्ण रूपमा विकल्प हुन नसक्लान् तर त्यो नेपाली जनताको परिवर्तनको चाहना देशव्यापी रहेको यो निर्वाचनले उजागर गरेको छ ।
युवाहरूको परिवर्तनको चाहाना
युवाहरूको चाहाना स्थानीय तहमा नयाँ जोश र सोच भएका योग्य उम्मेद्वारले जितून् भन्ने थियो । विकास र प्रविधिमार्फत गाउँनगरलाई अघि बढाउने अनि रोजगारी श्रृजना गर्ने नेतृत्वप्रति उनीहरूको बढी आशा देखियो । युवा पुस्ताका महिलाहरुले समानता र समावेशी अधिकारलाई मुख्य ठानेका छन् । सामाजिक सुरक्षा र विभेदको अन्त्य गर्ने युवा उम्मेदवार उनीहरूको रोजाइ हो । युवा पलायन रोक्ने अनि राजनीतिक स्थिरतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने नेतृत्वले देश परिवर्तन हुने युवा पुस्ताको बुझाइभएकोले बालेन जस्ता युवाको आगमनभयो ।
पुस्तान्तरणको चाहना
यसपटकको स्थानीय तह निर्वाचनको लागि १ करोड ७७ लाख ७ सय २३ मतदाताको नाम निर्वाचन आयोगले योग्य ठह¥याएको थियो । तीमध्ये झण्डै आधाभन्दा बढी त युवा हुन् । पुस्तान्तरणको लहर समसामयिक महाधिवेशनको सन्दर्भमा दल विशेष मात्र होइन, सम्पूर्ण राजनीतिक प्रणाली र व्यवस्थामाथि नै प्रश्न उठिरहेका बेला राजनीतिमा युवा पुस्तान्तरणको बहसले चर्चा पाएको थियो । देशको परिस्थितिमात्रको कुरा होइन, पार्टीभित्र पनि नयाँ शक्ति र नयाँ जोसका युवा खोजेको छ । कांग्रेसको १४औं महाधिवेशनमा गगन थापा र विश्वप्रकाश शर्मा बाहेक नेतृत्वको पुस्तान्तरण हुन सकेन । राप्रपाको महाधिवेशनबाट नेतृत्व पुस्तान्तरणसहित युवाको सहभागिता थपिएको छ ।
एमालेको १०औं महाधिवेशनबाट पनि नेतृत्व पुस्तान्तरण हुन सकेन । केन्द्रीय कमिटीमा करिब ४० प्रतिशत युवा थपिए । सबैतिरको आकर्षणले माओवादी केन्द्र लगायत दलमा पनि पुस्तान्तरण र युवाको सहभागितामा व्यापक बहस सिर्जना भएको छ । ४५–५० वर्षका ‘अंकल’ उमेर समूहका व्यक्तिहरूलाई अहिले हुर्कंदै गरेको युवा पुस्ताले आफ्नो नेता मान्न सकिरहेको छैन, त्यसैले पनि यिनीहरू समय–समयमा व्यवस्थाका विरुद्ध सडकमा उत्रिन बाध्य छन् । पछिल्लो १० वर्ष नेपालमा हामीहरूको कुरा बुझ्ने, हामीलाई कुरा बुझाउने र मूलधारको नेतृत्वएवं युवा पुस्ताबीचको सेतुको काम गर्ने युवा नेतृत्वको खडेरी देखिँदै आएको छ । नेपाली राजनीतिमा सक्रिय युवा पुस्ता राजनीतिक संस्कारभन्दा धेरै गुटउपगुटद्वारा दीक्षित छ, आफू नजिकका ‘कमरेड’ अनि ‘दाइ’हरूकै स्तुतिगान र त्यसबाट प्राप्त हुने क्षणिक लाभमै रमाइरहेको छ । अहिले युवाहरू यस्तो सोच्दै छन्, हामीहरूका मुद्दा यी–यी हुन् ? हामीले यस्तो भविष्यको परिकल्पना गरेका छौँ भनेर युवाहरूले मूलधारको नेतृत्वलाई सुनाउने अवसर बिरल्लै पाउँछन् । यसकारण बालेन पुस्तान्तरणको बाहक बनेर साङ्केतिक रूपमा उदाएको कुरा निर्विवाद छ ।
जनताको बिचमा घुलमिल हुने नेतृत्वको चाहना
केही समयअघि अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले ‘एचबीसीयु’ अन्तर्गतका कलेजबाट ग्य्राजुएट विद्यार्थीहरूलाई गरेको सम्बोधनमा भनेका थिएः
‘संसारलाई न्यायको योद्धा बन्न तपाईं जत्ति बलियो ठाउँमा अरू कुनै पुस्ता थिएन । यो लडाइँ लड्दा मूलतः दुई कुरा महत्त्वपूर्ण हुन्छ ।
पहिलो– तपाईं वास्तविक रूपमै समुदायको तल्लो तह सम्म जानुस् । समुदायका वास्तविक मानिसहरूलाई भेट्नुस् । एकदमै आधारभूत तहबाटै काम गर्नुस् ।
दोस्रो– यो सबै तपाईंले एक्लै गर्न सक्नुहुन्न । अर्थपूर्ण परिवर्तनका लागि साझा उद्देश्य भएकाहरूसँगको सहकार्य आवश्यक हुन्छ । सीमान्तकृत र विभेदमा पारिएका आप्रवासी, शरणार्थी, गाउँका गरिबहरू, तेस्रो लिङ्गी तथा समलिङ्गी समुदाय, हरेक पृष्ठभूमिका न्यून आय भएका मजदुरहरू, समान कामका लागि समान ज्याला नपाउने वा आफ्नै कामको बोझ र विभेदले थिचिएका महिलाहरू । यी सबैको न्यायका लागि उभिनुस् ।’ ओबामाले भनेजस्तै धरानका हर्क साङ्पाङ यसका सशक्त उदाहरण बनेका छन् ।
राजनीतिक दलहरू जनताका मुद्दासँग नजोडिनु
राजनीति जब भुइँसँग जोडिँदैन, उसको राजनीतिमा वैधानिकता कमजोर हुँदै जान्छ । अहिले सडकमा राजनीतिक मुद्दा छरपस्ट छन् । गाउँ, बस्ती, मधेस, तराईमा जताततै युवाहरू र आमजनताका मुद्दा छन् तर राजनीतिसँग जोडिएको अहिलेको पुस्ता भुइँसँग जोडिएको छैन या जोडिन चाहन्न । यसको सट्टा प्रशासनिक तिकडम र अनेक हत्कन्डाबाट नेता बन्न चाहन्छ । यो खाले मानसिकताले समेत युवाहरूलाई राजनीतिमा स्थापित हुन गाह्रो भइरहेको छ ।
यथास्थिति मानसिकताको अन्त्य तथा प्रविधिमैत्री समाजको चाहना
नेपाली र अंग्रेजी नयाँ वर्षमा रमाउन युवा पिँढीलाई कसैले सिकाइरहनुपरेको छैन । अनलाइन खाना मगाएर खाने प्रवृति अब नयाँ संस्कृति र सभ्यता बन्दै गएको छ । हाम्र ाआफ्ना चाडबाड मनाउने चालचलनमा पनि समयको कालखण्डमा आमूल परिवर्तन भएर गएका छन् । मानिस एक चेतनशील, गतिशील र परिवर्तनशील प्राणी हो । मानिस आदिम कालमा भिन्न–भिन्न भएर बसेपनि आधुनिक युगमा समुदायमा बस्न र समाजमा रम्न मन पराउँछ । भिन्न–भिन्न जातजाति, भाषा, वर्ण, रंग, संस्कृति भेषभूषा, मूल्यमान्यता, आस्था, सिद्धान्तमा आवद्ध मानिसहरूको समूह नै समाज हो । परिवर्तन एउटा गतिशील क्रिया हो । परिवर्तन आफंै बाहेक अन्य सबै परिवर्तनशील छन् । समाज यथास्थितिमा रहन सक्दैन । समाजको परिवर्तन र समाजको विकास प्राकृतिक एवं निरन्तर चलिरहने प्रक्रिया हो । यसैको सन्देश हो बालेनको आगमन ।
चुनौति र प्रतिक्रिया (च्यालेन्ज रेस्पोन्स)
सिद्धान्त चार्ल्स डार्विनको क्रमागत उन्नति (इभोल्युसन) सिद्धान्तले वर्तमान समाज विगत परिवर्तनको परिणाम भन्दै समाज परिवर्तन अपरिहार्य हो जुन निरन्तर एवं क्रमागत रूपमा चरण वा बिनाचरण सरलबाट जटिलतर्फ उन्मुख हँुदै जान्छ भन्ने धारणा राख्दछ । चुनौति र प्रतिक्रिया (च्यालेन्ज रेस्पोन्स) सिद्धान्तले समाजको चरणबद्ध रूपमा परिवर्तन हुने विश्वास गर्दछ । जसको मुख्य प्रेरक समाजका समस्याहरू र तीनको समाधान खोज्ने प्रयासलाई मानेको छ । यिनै चरणगत परिवर्तनका पर्याय चुनौति र प्रतिक्रिया (च्यालेन्ज रेस्पोन्स) बनेका छन् काठमाडौंका मेयर बालेन ।
दलहरूको दम्भर परम्परागत ढर्राको अन्त्य
आवश्यकताहरूको शृंखलामा एउटा पूर्ति हुनासाथ मानिसमा अर्को आवश्यकता पूरा गर्ने ऊर्जा पैदा हुन्छ । यसरी मानिस आफनो आवश्यकता पूरा गर्न क्रियाशिल हुन्छ र नवीन खोज, आविष्कार र सिर्जनामा तल्लीन हुन्छ । जसले समाजमा नवीन परिवर्तन र विकास ल्याउँछ । थोमस सेलिङको क्रिटिकल मास (सक्रिय समूह) सिद्धान्तले समाजलाई अप्रयाप्तता, अभाव र विकृतिविरुद्ध सङ्घर्ष गर्न अभिप्ररित गर्दछ भन्ने दृष्टिकोण राख्दछ । तर हाम्रो समाज विगत ७० वर्षदेखि राजनैतिक दलहरूको दम्भ, परम्परागत ढर्रा, अनैतिक र अमर्यादित गालीगलौज र निरस दन्त बजानले आजित जनताको आशा बनेका हुन् बालेन ।
नेपालीहरूका सामान्य तथा आधारभूत आवश्यकता पूरा हुन नसक्नु
समाजको परिवर्तन र विकास नगरिकन सुखी समाज र कल्याणकारी राज्यको स्थापना गर्न तथा समृद्धि हासिल गर्न पनि सकिँदैन । नेपालीका ठुल्ठूला सपना छैनन् । ‘रोजगारीमा गएका श्रीमान् सकुशल स्वदेश फर्कून्, परिवार सँगै बस्न पाइयोस्’, ‘पानी लिन दुई घन्टा हिँड्न नपरोस्’, ‘नजिकैको स्कुलमा गुणस्तरीय शिक्षा पाइयोस्’, ‘घुस नखुवाई सरकारी अड्डामा काम होस्’, ‘पढाइ सकिएपछि रोजगारी पाइयोस्’, ‘स्वच्छ हावामा सास फेर्न पाइयोस्’–यस्तै हुन्, आमनागरिकका सपना । यिनै सपना बुझ्ने अनि पूरा गर्ने पार्टी चाहिएको हो । तर बिडम्बना नेपालीहरूका यी आधारभूत आवश्यकता पनि पूरा हुन सकेनन् । दलका चाहिने नचाहिने गफले दिक्क भइसकेका जनताले परिवर्तन चाहेका थिए, त्यही परिवर्तनका बाहकका रूपमा बालेनको उदय भएको प्रष्ट बुझ्न सकिन्छ ।
ठूलो शान्तिपूर्ण क्रान्तिको सङ्केत
समाजमा एउटा शक्तिशाली वर्ग हुन्छ जो यथास्थितिलाई बनाई राख्न चाहन्छ । कार्ल माक्सको द्वन्द्व सिद्धान्तले समाजका शक्तिशाली र कमजोर वर्गबीच वर्ग संर्घष हुन्छ र सामाजिक मूल्य मान्यता तथा शासन प्रणालीमा परिवर्तन हुन्छ भन्ने विश्वास गर्दछ । प्रविधि परिवर्तन सिद्धान्तले प्रविधिमा भएको विकासले समाजलाई परिवर्तन गर्दै नयाँ दिशातर्फ लैजान्छ भन्ने विश्वास गर्दछ भने सूचना सञ्चार प्रविधिको विकासले सार्वजनिक सेवाहरूलाई डिजिटलाइज्ड र मानिसलाई नेटवर्कमा आवद्ध गराई मानिसका काम कारवाही, चालचलन र व्यवहारमा आमूल परिवर्तन गर्दै लगेको दृश्य हाम्रो अगाडि प्रस्ट छ ।
बालेनको जित यही क्रान्तिको संवाहक बनेको छ र भोलिका दिनमा शान्तिपूर्ण तरिकाले यस खालका समाज परिवर्तनका क्रान्ति बनेर थुप्रै बालेनहरू, हर्कहरू, गोपालहरू जन्मिने प्रष्ट सङ्केत यो निर्वाचनले गरेको छ ।
धुर्कोट गाउँपालिका –४, गुल्मीका स्थायी बासिन्दा राजन प्रसाद पाेखरेल हाल काठमाडौं मोडेल माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij